वैदेशिक रोजगारीमा जाने पन्ध्र प्रतिशतले बढे

20 Feb, 2025

काठमाडौँ, फागुन ८ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १५ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आव २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १४.७५ प्रतिशतले बढेको हो ।

गत आवको सो अवधिमा तीन लाख ९६ हजार ८११ जनाले श्रम स्वीकृति लिएकामा चालु आवको यस अवधिमा चार लाख ६५ हजार ५०७ जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवमा ६८ हजार ६९६ जनाले बढी हो ।

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले चालु आवमा सबैभन्दा धेरै मङ्सिर र माघमा श्रम स्वीकृति जारी भएको जानकारी दिनुभयो । प्रवक्ता सुवेदीले मलेसिया जाने नेपाली श्रमिकको सङ्ख्या घटे पनि गत आर्थिक वर्षदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जाने बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको जानकारी दिनुभयो ।

चालु आव २०८१/८२ को मङ्सिरमा सबैभन्दा बढी (८४ हजारभन्दा बढी) ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । मङ्सिरमा ८४ हजार २२७ जनाले श्रम स्वीकृति लिएकामा सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

विभागका अनुसार माघमा ७२ हजार ४४१, कात्तिकमा ७० हजार ९९०, पुसमा ६७ हजार १५३, भदौमा ५७ हजार ४९३ जना र साउनमा ५९ हजार ५७५ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

गत माघमा श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा धेरै वैदेशिक रोजगार कम्पनीबाट संस्थागत श्रम स्वीकृति लिने ३३ हजार ४५८, व्यक्तिगत नयाँ श्रम स्वीकृति नौ हजार ७१५, पुनः श्रम स्वीकृति लिने २८ हजार २५८ र जिटुजीबाट जाने एक हजार छ गरी ७२ हजार ४४१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

पछिल्लो पटक प्रत्येक महिना काम खोज्दै दैनिक औसतमा दुई हजार २०३ जना वैदेशिक रोजगारीमा गएको देखिएको छ । चालु आवको सात महिनामा दैनिक औसत दुई हजार २०३ र प्रतिमहिना औसतमा ६६ हजार ९२ जना विदेश गएका हुन् ।

विभागका अनुसार चालु आवको साउनदेखि माघसम्मको सात महिनामा चार लाख ६५ हजार ५०७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024