अर्घाखाँचीबाट वैदेशिक रोजगारीमा गएकामध्ये विगत तीन वर्षमा ४७ जनाले ज्यान गुमाएका छन्।
रोजगारीका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अर्घाखाँचीका ४७ जनाले ज्यान गुमाएका छन्, जसमध्ये ९ जनाको यसै वर्ष मृत्यु भएको छ। गएको तीन वर्षमा ठूलो संख्यामा ज्यान गुमाइरहँदा ७४ जना गम्भीर बिरामी परेका तथा अंगभंग भएका सुरक्षित आप्रवासन (सामी) को तथ्यांकमा उल्लेख छ। यसै वर्ष जेठ मसान्तसम्म मात्र १८ जना गम्भीर बिरामी परेका तथा अंगभंग भएका छन्।
हालसम्म अर्घाखाँचीबाट ५५ हजार २ सय १३ जना वैदेशिक रोजगारीमा गएकामा ४७ जनाले ज्यान गुमाएको र ७४ जना अंगभंग तथा गम्भीर बिरामी परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साझेदारीमा काम गरिरहेको सामीका लुम्बिनी प्रदेश संयोजक जिया उल हकले बताए।
यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूको मात्र हो। गैरकानुनी ढंगले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेहरूको तथ्यांक भने फरक पर्न सक्ने उनले बताएका छन्।
अर्घाखाँचीबाट आर्थिक वर्ष ०७९/०८० मा ९ हजार ५ सय २६ जना रोजगारीका लागि विदेश गएका थिए। चालु आवको जेठ मसान्तसम्म ८ हजार १ सय ७५ जनाले वैदेशिक रोजगारीका लागि देश छाडेको सामीका अर्घाखाँची शाखाका सहजकर्ता अम्बिका बेल्वासेले बताइन्। उनका अनुसार ८ हजार १ सय ७५ मध्ये ६३३ जना महिला रोजगारीका लागि बिदेसिएका हुन्, जुन कुल संख्याको ८ प्रतिशत हुन आउँछ।
यस्तै अर्घाखाँचीमा अहिलेसम्म वैदेशिक रोजगारी ठगीका १० वटा उजुरी परेका छन्, जसमध्ये चारवटा उजुरी छिनोफानो भएका छन् भने ६ वटा प्रक्रियामा रहेका छन्। ठगी गर्नेबाट १० लाख ४६ हजार रूपैयाँ पीडितलाई फिर्ता गराइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।
९३ प्रतिशत खाडीमा
देशभरबाट विदेश जानेको संख्या ठुलो छ। वि.सं २०६३/०६४ सालयता गएको वैशाख मसान्तसम्म ७७ लाख २० हजार ७ सय ८ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३ सय २७ जना रोजगारीका लागी विदेश गएका थिए। यो संख्या गएको १७ वर्षयताको उच्च संख्या हो। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६ लाख ९ हजार ६ सय ९९ जना वैदेशिक रोजगारीमा गएका छन्।
अहिलेसम्म विदेश जानेहरूको कुल ९३ प्रतिशत जनसंख्या मलेसिया तथा खाडी मुलुकमा गएका छन्। बाँकी ७ प्रतिशत नागरिक जापान, बहराइन, कोरिया, क्रोएसियालगायतका देशमा छन्। राष्ट्रको खर्च धान्न वैदेशिक रोजगारमा गएका नेपाली नागरिकको अहम् भूमिका रहेको देखिन्छ। यस्तै वैदेशिक मुद्रा सञ्चितीमा समेत रेमिट्यान्स प्रमुख स्रोत हो।
कहाँ जाँदै छ रेमिट्यान्स?
विदेशमा आर्जन गरेको पैसा कहाँ खर्च भएको छ भन्ने पक्ष अझ रोचक छ। विदेशबाट पठाएको अधिकांश रकम दैनिक उपभोग्य सामान खरिद गर्नमै गएको तथ्यांकले देखाएको छ।
विदेशबाट भित्रिएको पैसाको ७२.४० प्रतिशत रकम दैनिक घर खर्चमै गएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। यस्तै ऋण तिर्न १५.८ प्रतिशत रकम खर्चिएका छन्। अध्ययनका लागि ४.६ प्रतिशत, घरजग्गामा १.९ प्रतिशत रकम खर्च भएको छ।
भविष्यका लागि बचत प्रतिशत जम्मा १.९ रहेको छ। देशका ५६ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्छन् भने लुम्बिनी प्रदेशका ८९.६ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्छन्, तर नेपालमा आएको पैसाको अधिकांश रकम घर खर्चमै गएको देखिन्छ।