बागलुङ — जैमिनी नगरपालिका–७ का ३१ वर्षीय राजकुमार परियार साउदी अरबमा रहेको अलफायद जनरल कम्पनीमा काम गर्दागर्दै गत माघ २७ मा दुर्घटनामा परे । गम्भीर घाइते भएका उनको उपचारका क्रममा तत्कालै मृत्यु भयो । त्यसपछि राजकुमार विदेश जाँदाको ऋण तिर्ने र मजदुरी गरेर छोराछोरी हुर्काउने जिम्मा पत्नी सुशीलाको काँधमा आइपरेको छ ।
१० वर्षकी छोरी र काखे छोरा च्यापेर सुशीला मजदुरी गर्छिन् । बागलुङ–९ का ३० वर्षीय सुधन बसेल घर बनाएको ऋण तिर्न भनेर गत वर्ष साउदी अरब गएका थिए । काम गर्दागर्दै गत वर्ष भदौमा बिरामी परे । साथीहरूले उनलाई अस्पताल त पुर्याए तर ज्यान बचेन ।
सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोतकेन्द्रका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मात्रै वैदेशिक रोजगारीमा रहेका बागलुङका १७ युवाले ज्यान गुमाएका छन् । तीमध्ये अधिकांश साउदी अरबमा कार्यरत थिए । वैदेशिक रोजगारीमा रहेका चार जना भने परिवारको सम्पर्कमै नरहेको केन्द्रकी परामर्शकर्ता गंगा शर्मा रिजालले जानकारी दिइन् । यस अवधिमा विभिन्न घटनामा परेका १४ जनामध्ये ११ जनालाई उद्धार गरिएको छ ।
वैदेशिक रोजगारीमा कसैको मृत्यु भए शव ल्याउन, दुर्घटना बिमा र वैदेशिक रोजगार बोर्डबाट राहत लिन परिवारले सास्ती बेहोर्ने गरेका छन् । श्रम स्वीकृत नलिई गएकाको परिवारलाई भने सामान्य राहत पाउनै कठिन छ । साउदीमा ज्यान गुमाएका राजकुमारकी पत्नी सुशीलाले बिमा र राहतस्वरूप अहिलेसम्म २१ लाख रुपैयाँ पाएकी छन् । तर त्यसका लागि पटकपटक धाउनुपर्यो, सहयोगका लागि आप्रवासी स्रोतकेन्द्रलाई मद्दत माग्नुपर्यो । घरबाट सदरमुकाम पुग्न एकतर्फी जिपको भाडा मात्रै ७ सय रुपैयाँभन्दा बढी लाग्छ । राजकुमार श्रम स्वीकृति लिएर साउदी अरब गएका थिए ।
वैदेशिक रोजगारीमा मृत्यु हुने, घाइते र अप्ठ्यारोमा पर्ने घटना बढेपछि स्रोत केन्द्रले हरेक नागरिकलाई राहदानी बनाउने बेलैमा श्रम स्वीकृति लिएर मात्र जान, आवश्यक कागजातको एक प्रति घरमा छाड्न र घरका सदस्यको स्पष्ट फोन नम्बर उपलब्ध गराउन आग्रह गर्न थालेको छ । ‘जिल्ला प्रशासन कार्यालयमै परामर्श दिने कक्ष छुट्याइएको छ,’ सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका संयोजक मीनप्रसाद उपाध्यायले
भने, ‘समयमा खोजी नगरे अप्ठ्यारोमा परेर ज्यान जोखिममा पर्ने डर हुन्छ ।’ त्यसका लागि परामर्शकर्ताले राति पनि विदेशमा सम्पर्क गर्छन् । केन्द्रले वैदेशिक रोजगारीमा रहेका कसैको मृत्यु भए शव झिकाउन पनि पहल गरिदिन्छ । ‘अघिल्लो आर्थिक वर्षमा ७ युवाको शव झिकाइएको थियो, गत वर्ष हाम्रै पहलमा १७ युवाको शव ल्यायौं,’ सामीका संयोजक उपाध्यायले भने ।
बागलुङमा गत वर्ष नागरिकता लिएका भन्दा राहदानी लिएका करिब ५ हजारले बढी छन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ८ हजार ४ सय ११ जनाले नागरिकता बनाए । सोही अवधिमा राहदानी बनाउनेको संख्या १३ हजार ५९ छ । यस अवधिमा १ हजार २ सस ३७ जनाले नाबालक परिचयपत्र पनि बनाएका छन् । प्रायः युरोपलगायतका देश जान नाबालक परिचयपत्र बनाउने गरिन्छ ।