वैदेशिक रोजगारीबाट प्राप्त रकम देश विकासमा लगाउनुपर्छ : नेता गौतम

8 Feb, 2024

सांसद वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताएका छन्।

राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा उनले प्राप्त रकमलाई सरकारले कम्तीमा १० प्रतिशत ब्याज दिने गरी विकास निर्माणमा खर्च गर्न सकिने धारणा राखे।

सांसद तथा नेता गौतमले भने, ‘वैदेशिक रोजगारीबाट प्राप्त रकम जनताको रगत र पसिना हो, त्यो नेपाल सरकारको सम्पत्ति पनि हो। अघिल्लो वर्ष करिब रु. २२ खर्ब र यो वर्ष त्योभन्दा पनि बढी हुन सक्छ। त्यसलाई सरकारले नेपाल राष्ट्र बैंक वा कुनै बैंकमा राखेर कम्तीमा १० प्रतिशत ब्याज दिएर राख्नुपर्छ र उनीहरू स्वदेश आएपछि दिनुपर्छ। उक्त रकम सरकारले देश विकास निर्माणमा खर्च गर्न सके मुलुक आत्मनिर्भरको बाटोमा अघि बढ्नेछ।’

नेता गौतमले अहिले कमजोर रूपमा रहेको अर्थतन्त्रलाई सुधारेर मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन जरुरी भएको बताए।

‘अहिले नेपालको अर्थतन्त्र कमजोर अवस्थामा छ, तर यसलाई सुधार गर्न सकिन्छ,’ उनले भने, ‘सरकारमा भएकाले मात्रै जिम्मेवारी बहन गर्नुपर्छ भन्ने होइन, सरकारबाहिरका दलको पनि उत्तिकै भूमिका हुन्छ। मुलुकलाई कसरी समृद्ध बनाउने भन्ने सबैको चिन्तन जरुरी छ। यो सरकार मात्रै होइन, नयाँ संविधान जारी भएपछि बनेका कुनै पनि सरकारले यसलाई सुधार गर्ने प्रयास गरेनन्।’

नेता गौतमले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट कस्तो किसिमको समाज निर्माण गर्ने भन्ने विषय संविधानमा व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार र राजनीतिक दलले ध्यान दिन नसकेको टिप्पणी गरे।

उनले बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्न सकिन्छ भनेर आजसम्मका प्रधानमन्त्रीले ढाँचासमेत प्रस्तुत गर्न नसकेको जिकिर गरे।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024