वैदेशिक रोजगारीको मृत्यु ग्राफ: एक वर्षमै १३ सय बढीले गुमाए ज्यान

5 Aug, 2024

गएको चैतमा कुवेतको महाबुल्ला क्षेत्रको ‘सी साइड’ सडक दुर्घटनामा परी एउटै कम्पनीमा कार्यरत तीन जना नेपाली युवाले ज्यान गुमाए।

सानो भर्‍याङ काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको बाटो काट्ने क्रममा मृत्यु भएको थियो।

त्यहाँका स्थानीयले चलाएको गाडीले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।

त्यस्तै, एक महिनाअघि दोलखाका ४३ वर्षीय तहलबहादुर थामी सुतेकै अवस्थामा मृत फेला परे। मृतक थामीसँगै बस्ने साथीहरू दिनभरी कामको पेलान र खानपिन राम्रो नभएकै कारण उनको मृत्यु भएको बताउँछन्।

रामेछापका राजु मुंगरातीका अनुसार तहलबहादुर धेरै मेहनत गर्थे। काम चर्को गर्मीमा भारी काम थियो। सुरूमा त तलब नै पाएका थिएनन्। पछि तलब भनेको जति नहुँदा निकै चिन्तित देखिन्थे।

‘परिवारको धेरै चिन्ता लागेको छ। ऋण छ भन्थे। सबैभन्दा छिटो उठ्ने उनी एक बिहान अबेरसम्म पनि उठेनन्। कोल्टे फेरेर सुतेका थिए। काममा जाने बेला भयो भनेर धेरै बोलायौं। के बोल्थे। उठेनन्,’ राजुले भने।

यी प्रतिनिधि घटना मात्रै हुन्।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका ठूलो संख्यामा युवाहरूले बर्सेनि ज्यान गुमाउने गरेका छन्। वैदेशिक रोजगार बोर्डको आँकडा अनुसार आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका एक हजार ३७८ जना (यो समाचार तयार पार्दासम्म) ले ज्यान गुमाएका छन्।

बोर्डका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालका अनुसार गत वर्षको यस्तो संख्या अझै बढ्ने देखिन्छ।

‘गएको आर्थिक वर्षभित्र आर्थिक सहायताका लागि आवेदन आएको तर भुक्तानी प्रक्रियामा रहेको संख्या बाँकी नै भएकाले उक्त वर्ष मृतकको संख्या अझै बढ्ने देखिन्छ,’ उनले भने।

बोर्डको आँकडामा देखिने संख्या श्रम स्वीकृति लिएर गई ज्यान गुमाएका मृतकका परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिएका आधारमा तयार पारिएको हो।

श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउनेको संख्या समेत जोड्दा अझ भयावह अवस्था छ। तर, यसको यकिन तथ्यांक सरकारसँग छैन।

बोर्डका अनुसार नेपालीहरूले मलेसिया, कतार, साउदी, संयुक्त अरब इमिरेट्स युएई, कुवेत, बहराइन, रोमानिया, दक्षिण कोरिया लगायत मुलुकमा विभिन्न कारणले ज्यान गुमाएका छन्।

युवाहरूलाई पर्याप्त सीप तथा तालिम नहुनु त्यस्तै, गन्तव्य मुलुकमा सुरक्षाको ग्यारेन्टी बिना काममा लगाइनु लगायत कारण ठूलो संख्यामा नेपालीहरूले ज्यान गुमाउने गरेका छन्।

बोर्डको आँकडाअनुसार सबैभन्दा धेरै ३२१ रोग र कोभिडलाई मात्रै यो रोगले मृत्यु भएको भनेर छुट्याएर आउँछ। यीबाहेक अरू के रोगका कारण वा कस्तो बिरामी भएर मृत्यु भएको भनेर खुलाइएको हुँदैन,’ उनले भने।

गन्तव्य देशमा बेलुका सकुशल सुतेको तर बिहान उठ्दा मृतक भेटिने घटना बढ्दै गएका छन्। यस्तो घटनामा मृत्युको कारण प्राकृतिक ‘नेचुरल डेथ’ देखाउने गरिएको छ।

अझ कतिपय अवस्थामा त विभिन्न दुर्घटना तथा रोगका कारण मृत्यु भएका श्रमिकलाई पनि मृत्युको कारण प्राकृतिक देखाएर पठाउने गरेको पाइएको छ। उनीहरूले दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिनु नपरोस् भनेर छल्न रोजगारदाताले मेडिकल रिपोर्ट नै फरक पारेर पठाउने गरेको पाइएको बोर्डका एक अधिकारी बताउँछन्।

केही समयअघि पत्रकार होम कार्कीले कान्तिपुर दैनिकमा साउदीमा करेन्ट लागेर मृत्यु भएका पर्साका लोकबहादुर सुनुवारको मेडिकल रिपोर्टमा ‘नेचुरल डेथ’ भनेर रिपोर्ट बनाइएको बारे लेखेका थिए।

यस्तो संवेदनशील विषयमाथि गन्तव्य मुलुकका रोजगारदाताहरूले लापरबाही गरिरहेका छन्।

गत आर्थिक वर्षमा पनि गन्तव्य मुलुकमा ज्यान गुमाएका १९१ श्रमिकको मृत्युको कारण नेचुरल डेथ देखाइएको छ।

उनीहरूको मृत्युको खास कारण के हो? किन प्राकृतिक कारण देखाइन्छ यसमा सरकारले पनि कुनै सोधखोज गरेको देखिँदैन।

१६ वर्षमा वैदेशिक रोजगारीमा पुगेका १३ हजारभन्दा धेरैको मृत्यु

नेपाली श्रमिकहरू विदेशी भूमिमा काम गरेर पठाएको रेमिटेन्सले नेपालको अर्थतन्त्र चलायमान र मजबुत बनाउन योगदान पुर्‍याउँदै आएको छ। यो वैदेशिक रोजगारीको उज्यालो पाटो भयो। अर्कोतिर कमाउन परदेश पुगेका श्रमिकहरू विभिन्न कारणले ज्यान गुमाउनु परेको अँध्यारो पाटो पनि छ।

सरकारले भाषणमा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने भनेर पटक-पटकको भाषणमा भन्न नछुटाए पनि व्यवहारमा लागू हुन सकेको छैन। जसकारण ऊर्जाशील उमेरमा ज्यान गुमाउनेहरूको संख्या बढ्दो छ।

बोर्डको तथ्यांकले आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८१ सम्म १३ हजार २७० जनाको मृत्यु भएको देखिएको छ।

बाेर्डले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई सात लाख रूपैयाँ आर्थिक सहायता दिँदै आएको छ।

यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गरिन्छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रूपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024