वैदेशिक रोजगारीको मनोविज्ञान

21 Oct, 2024

सविता खड्का

वर्तमान नेपालको एउटा यथार्थ हो– वैदेशिक रोजगारी। वैदेशिक रोजगारी संस्कृतिजस्तै बन्न पुगेको छ। प्रत्येक घरका सन्तान कुनै न कुनै रूपमा विदेशमा रोजगारी खोज्न जाने भएपछि त्यसले समाजलाई प्रभाव पारिरहेको छ। कमाइ गर्न विदेश जानुपर्छ भन्ने मान्यता तिनीहरूमा छ।

जस्तोसुकै जोश–जाँगर भए पनि कामका निम्ति अवसर चाहिन्छ। रोजगारीका निम्ति देशमै कि कारखाना हुनुपर्छ, कि कुनै कार्यालय। देशभित्र छैन भने विदेश जानुको विकल्प छैन। त्यही भएर जीवन भोगाइकै क्रममा विदेश जानुपर्ने बाध्यताले सबै घेरिएका हुन्छन्।

देशमा भएका दक्ष कामदार मात्रै वैदेशिक रोजगारीको खोजीमा बिदेसिएका छैनन्, छन् त अर्धदक्ष र अदक्ष जनशक्ति पनि विश्व बजारमा रोजगारीका लागि छरिएका छन्।

विश्व बजारमा छरिएर रहेका श्रमिकले वैदेशिक मुद्रा आर्जन गरेका छन्। आर्थिक संकटले घेर्न थालेपछि नेपाली कामदारहरू रोजगारीको खोजीमा बिदेसिने क्रम दिनप्रतिदिन बढ्दै गएको छ।

नेपाली कामदारको प्रमुख गन्तव्य खाडी मुलुक र मलेसिया हुन्। त्यति मात्रै नभई छिमेकी मुलुक भारत, चीन, जापान लगायत र दक्षिण कोरियामा कृषि, खानी, चिया बगान, विभिन्न उद्योग आदि काममा श्रमिक गइरहेका छन्।

अहिलेको अवस्थामा विकसित मुलुकहरूमा वैदेशिक रोजगारीका लागि देशका युवा आकर्षित भएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०४२ साल यता नेपालबाट करिब ५० लाखभन्दा बढी युवा वैदेशिक रोजगारका लागि विभिन्न देशमा छरिएर रहेका छन्। उनीहरूले विदेशमा गर्ने काम अत्यन्तै कठिन, संघर्षमय र जोखिमयुक्त छन्।

नेपालबाट वैदेशिक रोजगारीमा जाने चलन धेरै पहिलेदेखि हो। त्यस समयमा मानिसहरू भारतको विभिन्न स्थान सिलगुडी, आसाम, दार्जिलिङ आदि क्षेत्रमा कामको खोजीमा जाने गरेको पाइन्छ। पछिल्लो समय विकासोन्मुख राष्ट्रबाट वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या अपत्यारिलो तवरले बढेको छ।

विकसित राष्ट्रका नागरिकहरू दक्ष रोजगार, उच्च शिक्षा, श्रम व्यापारका लागि अर्को देशमा गइरहेका छन्। तर, अविकसित राष्ट्रका बेरोजगार युवा बर्सेनि रोजगारीका लागि एक सय ११ राष्ट्रमा जाने अनुमति श्रम तथा वैदेशिक रोजगार विभागले संस्थागत व्यवस्था गरेको छ।

खाडी मुलुकबाहेक मलेसिया, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स आदि राष्ट्रमा हजारौं युवायुवती कामको खोजीमा बिदेसिने क्रम रोकिएको छैन। विदेशमा श्रमिकले गरेको कठिन कामको परिणामस्वरूप रेमिटान्स भित्रिने गरेको हो।

नेपालको जनसंख्या धेरै नबढे पनि कुनै न कुनै रूपमा यसले काम नपाउँदा चाप परेकै छ। कृषिमा आधुनिकीकरण हुन नसक्नु, भएका पुराना उद्योगधन्दा तथा कलकारखाना बन्द हुनु र नयाँ नखुल्नु, देशमा रोजगारीको अवसर नहुनु र रोजगारी पाए पनि उचित पारिश्रमिक नहुनुले दैनिक करिब तीन हजार नेपाली वैदेशिक रोजगारीमा जान बाध्य छन्। यसले पनि देशमा केही हुँदैन भन्ने धारणा बनाइरहेको छ।

देशभित्र रोजगारी सिर्जना गर्ने वातावरण नभएकाले बर्सेनि कामको खोजीमा लाखौंलाख युवा बिदेसिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कामको खोजीमा सात लाख ४१ हजार दुई सय ९७ जना श्रम स्वीकृति लिएर विश्व श्रमबजारमा पुगेका छन्।

गत आर्थिक वर्षभन्दा धेरै आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार तीन सय २७ जना श्रमिक श्रम स्वीकृति लिएर बिदेसिएको विभागको तथ्यांकले देखाएको छ। यो सरकारी तथ्यांक मात्रै हो। अवैध तवरले बिदेसिनेको संख्या पनि कम्ती भने छैन। त्यसरी बिदेसिनेको संख्या न राज्यसँग छ न कुनै संघसंस्थासँग।

विदेशमा रहँदा नेपाली श्रमिकले ज्यादै कठिन कार्य गरे तापनि स्वदेश फर्केका बेला भने इष्टमित्र, साथीभाइ र परिवारसँग बसेर घुम्ने र खानेबस्ने जस्ता मनोरञ्जन गर्ने गरेका पनि छन्।

कमाएर फर्केको मानिसको इज्जत बेग्लै हुन्छ। कमाएर ल्याएको रकमको सदुपयोग भएन भने तिनको इज्जतको कुनै अर्थ हुँदैन। तैपनि एकपटक विदेश बसेर आएको व्यक्तिसँग केही न केही अनुभव हुन्छ। वैदेशिक रोजगारीबाट फर्केका धेरैले नेपालमा कामको संस्कृति विकास गरिरहेका छन्। तिनले काम नगरी खान पाइँदैन भन्ने सन्देश समाजलाई दिइरहेका छन्।

कुनै समय महिलाले कठिन काम गर्न हुँदैन भन्ने थियो। तर, तिनले गाउँघरमा दुःख गरेकै हुन्छन्। बरु विदेश गएर भए पनि दुःख गरौं भन्ने भावना महिलामा पनि आएको छ। त्यसैकारण पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिला संख्या बढ्दै गएको छ।

यस्तै वैदेशिक रोजगारीबाट आएको आम्दानी युवाले राम्रो घर बनाउन, सहरमा घडेरी किन्न तथा जग्गा जमिनमा लगानी गर्न, छोराछोरीलाई निजी स्कुलमा पढाउनसमेत खर्च गर्ने गरेका छन्।

परम्परागत कृषि पेसा अपनाउनेहरू कम हुँदै गएका छन्। वैदेशिक रोजगारीले कृषि आम्दानीको ठाउँ लिएको छ। कृषि कार्य नगरे पनि अन्य आम्दानीबाट अगाडि बढ्न सकिन्छ भन्ने विश्वास भइसकेको छ।

विदेशबाट ल्याएको रकमबाट सामाजिक र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन पनि आएको छ। वास्तवमा धेरैले आफ्ना सन्तानलाई सहरमा राखेर पढाएका छन्। खानपानमा पनि सुधार आएको छ।

केही समय वैदेशिक रोजगार गरेर स्वदेश नै फर्की व्यापार, होटल व्यवसाय, स्थानीय सहकारीमा रोजगारी तथा सानातिना उद्योगहरू खोली सञ्चालन गरिरहेका थुपै्र उद्यमी भेटिन्छन्। विदेशमा काम गर्ने संस्कृति सिकेर आएकाहरूले स्वाभाविक रूपमा यहाँ पनि काम गरेर पैसा कमाउन थालेका छन्।

श्रम तथा आप्रवासन विज्ञ गणेश गुरुङका अनुसार अवसरको खोजीमा मानिसहरू मातृभूमि छोडी बिदेसिने प्रचलन नयाँ होइन। मानिसले आफ्नो योग्यता, क्षमता र सिप उपयोग गर्न संसार नै कार्यक्षेत्रजस्तो बन्न पुगेको छ। वैदेशिक रोजगारीबाट नेपालले ठुलो धनराशी विप्रेषणका रूपमा देश भित्र्याउने गरेको उनी बताउँछन्।

‘वैदेशिक रोजगारीबाट धेरैको घरबार राम्रो भएको छ,’ उनले भने, ‘सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा धेरै राम्रो र उत्साहजनक प्रगति भइरहेको छ। विगतमा ग्रामीण भेगमा व्यापक गरिबीका कारण भोकमरी, अनिकाल तथा खाद्यान्न संकट भएसँगै बिहान बेलुका हातमुख जोर्न कठिन समस्या थियो तर वैदेशिक रोजगारीको अवसरले ग्रामीण जनताहरूको जीवनस्तरमा सकारात्मक सुधारका संकेत धेरै देखिन्छन्।’

वैदेशिक रोजगारीबाट फर्किएका धेरै युवा आफैं व्यापार–व्यवसायमा लागी उद्यमी भएर धेरै मानिसलाई रोजगारीसमेत दिएको उनले बताए।

उनका अनुसार वैदेशिक रोजगारबाट आएको आम्दानीले समाज मात्रै नभई देशमा नै ठुलो टेवा पुर्‍याएको छ। सम्बन्धित देशको मूल्यमान्यता आधुनिक संस्कृतिलगायत चेतनास्तर तथा ज्ञानको भण्डारमा समेत वृद्धि गर्न मद्दत पुगेको देखिन्छ। जसले अन्धविश्वास, रूढिवादी चिन्तन र पक्षपातको अन्त्य गर्नसमेत मद्दत पुगेको गुरुङ बताउँछन्।

‘विदेशमा सिकेको सिप, प्रविधि र ज्ञानलाई त्यहाँबाट फर्केपछि स्वदेशमै उत्पादनशील क्रियाकलापमा लगाउने गरेका छन्। तिनीहरूको रहनसहन, जीवनशैली मात्रै नभई सोचमा समेत सकारात्मक परिवर्तन देखापरेको छ।

विदेशबाट फर्किएका युवाहरूको चेतनास्तरसमेत उच्च बनेको अवस्था छ,’ उनले भने। पारिवारिक अवस्था सुधार्न बिदेसिने गरेका धेरै युवा ठगीमा पर्नेसमेत गरेका छन्। सके स्वदेशमै कुनै न कुनै रोजगारीमा लाग्ने, नसके वैदेशिक रोजगारमा जाने भए सूचना र तालिम लिएर जानुपर्ने गुरुङले बताए।

वैदेशिक रोजगारीले अर्थतन्त्रमा जतिसुकै सकारात्मक प्रभाव पारे पनि सामाजिक क्षेत्रमा भने उत्तिकै नकारात्मक असर पनि पारेको छ। आर्थिक क्षेत्रमा देखिएको विप्रेषणको उज्यालो पक्ष सँगसँगै सामाजिक क्षेत्रमा देखिएका अँध्यारा पक्षहरूले धेरै नेपालीको घरपरिवारलाई अन्धकारतर्फ धकेलिरहेको छ। तर, विप्रेषणको आकर्षणसामु यो समस्या ओझेल परेको उनी सुनाउँछन्।

वैदेशिक रोजगारीका सिलसिलामा अत्यधिक नेपाली युवायुवतीको विदेश पलायनले परिवारमा सामाजिक मानसिक असुरक्षाको स्थिति पनि बढ्दै गएको उनी सुनाउँछन्।

‘समाजका जल्दाबल्दा सबै युवा बिदेसिँदा परिवार तथा समाजमा महिला, केटाकेटी, वृद्ध तथा अशक्तहरू मात्रै बाँकी हुन्छन्,’ गुरुङले भने, ‘जसले गर्दा भैपरि आउने समस्यामा उनीहरूको सहयोग र सुरक्षा दिने हात परिवारसँग हुँदैन। विप्रेषणले आर्थिक टेवा प्राप्त भए पनि सामाजिक तथा मानसिक सुरक्षाको अभाव निरन्तर बढ्दै गएको छ।’

ससाना केटाकेटीले लामो समयसम्म आफ्ना अभिभावकको माया नपाउने विडम्बना रहेको उनले बताए। साथै परिवारको उज्यालोमा घाइते तथा अपांग भई स्वदेश फर्कने पुरुष तथा शारीरिक यातना तथा यौन शोषणमा परी मानसिक सन्तुलनसमेत गुमाएर फर्कने महिला कामदारहरूका पीडा, व्यथा र वेदना ओझेलमा समेत पर्ने गरेका छन्।

देशलाई समृद्ध बनाउन सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक सबै क्षेत्र बलियो बनाउन युवाशक्तिको संरक्षण र परिचालन गर्नु आवश्यक छ। देशमा भएका स्रोत साधन, जनशक्ति, पुँजीलाई एकीकृत गरी देश विकासका काममा युवालाई परिचालन गर्न सकेमा देश उन्नततर्फ जान सक्छ।

वैदेशिक रोजगारीको विकल्प खोज्ने बेला भइसकेको छ। वैदेशिक रोजगारीमै भर गर्दा त्यसले सधैं सकारात्मक प्रभाव नै पार्छ भन्ने छैन। मानव स्रोत पनि उत्पादनको साधन हो, त्यसलाई विदेश पठाएर मात्र देश धनी हुँदैन। देशलाई बाटो दिन देशभित्रै रोजगारी सिर्जनातिर लाग्नुको विकल्प छैन।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024