काठमाडौँ — दोलखा कालिञ्चोक गाउँपालिका–८ सुनखानीका कुमार खड्का कोटेश्वरस्थित जुत्ता/चप्पल पसल सञ्चालन गर्थे । उनको तीन जनाको परिवार पसलबाटै धानेको थियो । दुई वर्षअघि चिनजानकै दाइमार्फत खड्काको पवन राणासँग परिचय भयो ।
चेक रिपब्लिकमा ४ वर्ष होटलमा काम गरी फर्किएर कोटेश्वरमा पसल खोलेका खड्कालाई राणा, उज्ज्वल खड्का र सीताराम बाँस्तोलालगायतले जर्मनीस्थित पिज्जा हाउसका लागि नेपाली कामदारको लागि खोजी भएको जानकारी दिए ।
पछिल्लो समय आर्थिक संकट झेल्दै आएको पसलबाट खासै सन्तुष्ट हुन नसकेका खड्का जुत्ता/चप्पल पसल बेचेरै जर्मनी जान राजी भए । ‘उनीहरूले जर्मन भाषा सिक्न लगाए, ओरेन्टेसन क्लास गर्यो,’ उनले भने, ‘जर्मनी जानका लागि मेडिकल गराए, भिसा लगाएर टिकटसमेत काटिदिए । तैपनि उनीहरूले जर्मनी उडाउन सकेनन्, पछि बुझ्दा भिसा नै नक्कली रैछ, टिकट रद्द भएपछि उनीहरू फरार भए ।’
जर्मनी जानकै लागि खड्काले जुत्ता/चप्पल पसल र स्कुटर बेचे । उनले ८ लाख ६८ हजार रुपैयाँ राणालाई बुझाएका थिए । उनले आफ्ना भाइ सुजन खड्का, आफन्तहरू तीर्थबहादुर सेढाईं, अर्जुन थापा, पर्शुराम विष्ट, पवन राणा, उज्ज्वल खड्का, सीताराम बाँस्तोलासँग चिनजान गराए । त्यतिमात्र होइन खड्काले उनीहरूलाई वैदेशिक रोजगारका लागि अमेरिका, जापान, जर्मनी, बेलायत जान पैसा बुझाउन प्रेरित गरे । उनीहरूले पनि ४ लाख रुपैयाँदेखि १७ लाख ५० हजार रुपैयाँसम्म प्रतिव्यक्ति पैसा बुझाए ।
रकम बुझिसकेपछि पवन राणा, उज्ज्वल थापा र सीताराम बाँस्तोला सम्पर्कविहीन भए । ‘उनीहरूले सरकारी कोटाबाटै अमेरिका, जर्मनी, बेलायत, जापानलगायत मुलुकमा कामदार लगिने भन्दै युवाहरूसँग रकम असुली रहेका थिए,’ खड्काले भने, ‘सरकारी कोटाबाटै भनेपछि विश्वास लाग्यो र आफ्नो व्यवसाय नै छाडेर विदेश जान तयार भयौं, अन्त्यमा ठगियौं ।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले काठमाडौं महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई गत चैत २८ गते पक्राउ गर्यो । भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका ४४ वर्षीय उज्ज्वल खड्कालाई वैशाख ५ गते र भक्तपुर चाँगुनारायण नगरपालिका–६ तेलकोटका ६८ वर्षीय सीताराम बाँस्तोला वैशाख २४ गते पक्राउ परे । उनीहरूलाई थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभाग पठाएको जानकारी दिएको छ ।
राणा, खड्का र बाँस्तोलाको समूहले अमेरिका, जर्मनी, बेलायत, जापानलगायत मुलुक पुर्याएर राम्रो कमाइको प्रलोभनमा पारेर १ सयभन्दा बढी युवामार्फत ३ करोड ५६ लाख रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले वैदेशिक रोजगारका लागि अमेरिका, जर्मनी, बेलायत, जापान जान प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने भनेका थिए । उनीहरूले ती युवाहरूलाई सम्बन्धित मुलुकमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम गरेबापत मासिक ४ लाख रुपैयाँ कमाइ हुने प्रलोभनमा पारेका थिए । उनीहरू विरुद्ध वैदेशिक रोजगार विभागमा गोरखाकी सुनिला गुरुङले जाहेरी दिएकी थिइन् । गुरुङले उनीहरूलाई १७ लाख ५० हजार रुपैयाँ बुझाएको बताएकी छन् । उनीहरूलाई पक्राउ गरी विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जनाए ।
अपराध अनुसन्धान कार्यालयले पछिल्लो समय दैनिक २ देखि ४ व्यक्तिलाई वैदेशिक रोजगार ठगी प्रकरणमा पक्राउ गर्दै कारबाहीका लागि विभागलाई बुझाउँदै आएको छ । राजनीतिक अस्थिरता, व्यवसायप्रतिको निराशा, बढ्दो बेरोजगारीका कारण बाध्यतामा युवा सामान्य चिनजान तथा व्यक्तिको विश्वासमा परेर वैदेशिक रोजगारको प्रक्रियामा होमिँदा ठगिने गरेको पाइएको प्रहरी अनुसन्धान अधिकृत बताउँछन् ।
चालु आर्थिक वर्ष २०७९/०८० मा मात्रै वैदेशिक रोजगारअन्तर्गत ठगीमा वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १६६ वटा पक्राउ पुर्जी पठाएको छ । जसमध्ये, ६६ जना पक्राउ परेका छन् । गत आर्थिक वर्ष ०७८/७९ मा विभागबाट पक्राउ पुर्जी आएको १ सय ४८ मध्ये ११ जना मात्र पक्राउ परेको कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता रेग्मीका अनुसार कार्यालयमै पनि वैदेशिक रोजगार ठगीअन्तर्गत उजुरी आउने क्रम बढ्दो छ । कोभिड–१९ पछि वैदेशिक रोजगारको आवरणमा ठगीका घटना बढेको प्रहरीको भनाइ छ ।
युरोप, अमेरिका छिर्ने भनेपछि मोटो रकम तिरेरै भिजिट भिसामा जान खोज्दा धेरै युवा ठगिएको एसपी रेग्मी बताउँछन् । ‘कुनै सीप छैन, भाषाको ज्ञान छैन, तैपनि युरोप, अमेरिका जान तम्सिएर मोटो रकम खर्च गरेका छन्,’ एसपी रेग्मीले भने, ‘जसरी हुन्छ जानै खोजेका व्यक्ति ठगिएका छन् ।’ प्रक्रियागत रूपमा कानुनी बाटोबाट जाने व्यक्ति ठगीमा परेको घटना न्यून रहेकोसमेत उनी बताउँछन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी मनोजकुमार केसीले व्यक्तिगत चिनजानको मात्र आधारमा विश्वासमा परेर वैदेशिक रोजगारमा जान खोज्ने धेरै युवा जानै नपाई ठगीमा परेको जनाएका छन् । अवैध बाटो अपनाएर विदेश पुगेकाहरू पनि गन्तव्यमै नपुगी फर्किने गरेको उनी बताउँछन् । ‘आफैं सचेत नभई, मौखिक आधारमा अपरिचित व्यक्तिलाई विश्वास गर्नु पनि ठगीमा सहयोग पुर्याउनु हो,’ अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी केसीले भने, ‘व्यक्तिले शिक्षा लिनु जरुरी छ, कानुनी प्रक्रिया बुझेर संस्थागत रूपमा विदेश जानु उपयुक्त हुन्छ ।’