वैदेशिक रोजगारीको कुरूप पाटो, देशभित्रै ठगिन्छन् युवा

3 Jul, 2023

काठमाडौँ, असार १८ गते । वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये झन्डै ५४ प्रतिशत मुद्दा नेपालमा हुने ठगीमा परेका पीडितको रहेको जनाएको हो ।

फोरमले चालु आर्थिक वर्षमा निःशुल्क कानुनी परामर्शका लागि दर्ता भएका दुई हजार ८८२ उजुरीमध्ये ५४ प्रतिशत स्वदेशमा ठगीमा परेको र ४६ प्रतिशत विदेशमा अलपत्र परेको, तलब नपाएको, सम्झौता अनुसार फरक काममा लगाएको तथा वैदेशिक रोजगारीका नाममा हुने ठगीका विषयमा हुने गरेको बताएको छ ।

पिपुल्स फोरमका अधिवक्ता सुदीप देवकोटाले रोजगारदाताले राहदानी जफत गरेको, कम तलबका नाममा उजुरी र मुद्दा पर्ने गरेको जानकारी दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा नाममा हुने पीडितमध्ये आधा स्वदेशमा नै ठगीमा पर्ने र अन्य विदेशमा पुगेपछि अलपत्र पर्ने, तलब नपाउने धेरै देखिएको जानकारी दिनुभयो । उजुरी उत्पतिका आधारमा नेपालमा ठगीएको ६१ प्रतिशत, संयुक्त अरब इमिरेट्स (युएई) मा १३ प्रतिशत, साउदी अरबमा १२ प्रतिशत, मलेसियामा छ प्रतिशत र बाँकी कुवेत, कतार, कम्बोडिया तथा अन्य श्रम गन्तव्य रहेका छन् ।

उजुरी दिनेमध्ये व्यक्तिगत ठगी एक हजार ४८२ र संस्थागत ठगी एक हजार चार सय रहेका छन् । फोरमले हालसम्म विभिन्न परियोजनामार्फत नेपालका ७७ जिल्लाका २८ हजार ३०२ वैदेशिक रोजगार पीडितलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ । निःशुल्क कानुनी सेवामार्फत विभिन्न अदालतबाट पीडितले आव २०७९/७९ सम्म एक अर्ब ३५ करोड ९१ लाख ७९ हजार रुपियाँ क्षतिपूर्ति पाउने निर्णय भएको छ ।

पिपुल फोरमले कानुनी सहायता दिएको प्रतिवेदन हेर्दा वैदेशिक रोजगारीका सिलसिलामा दलाल (एजेन्ट) मार्फत धेरै युवा ठगिएको पाइएको छ । कानुनी सहायता लिएकामध्ये एक हजार ४८२ जना एजेन्टमार्फत ठगिएका छन् भने एक हजार चार सय म्यानपावर कम्पनीमार्फत ठगिएका छन् । यो तथ्याङ्क हेर्दा व्यक्तिगत ठगीमा पर्ने ५४.४२ प्रतिशत छन् । संस्थागत वा म्यानपावरबाट भएको ठगी ४८.५८ प्रतिशत छ ।

चालु आव (हालसम्म) मा वैदेशिक रोजगारका क्रममा विभिन्न समस्यामा परेका दुई हजार ८८२ जनाले उक्त संस्थाबाट निःशुल्क कानुनी सहायता लिएका थिए । यस्तो सहायता लिने दुई हजार ५२१ पुरुष र ३६१ महिला छन् ।

त्यस्तै रोजगारीको प्रलोभन देखाएर विदेश पु-याएर अलपत्र पार्ने, राहदानी जफत, काम तथा पारिश्रमिक नदिएका, वैदेशिक रोजगारीमा पु-याउने बहानामा ठगी गरेका घटना धेरै भएको अधिवक्ता सुदीप देवकोटाले जानकारी दिनुुभयो । पछिल्लो समय गन्तव्य मुलुकमा पुगेर मेडिकल अनफिट भएर फर्कने पनि धेरै देखिएको पनि उहाँले जानकारी दिनुभयो । फोरमको अघिल्लो वर्षको तथ्याङ्कले भने म्यानपावर कम्पनीमार्फत ठगिने धेरै रहेको देखाएको थियो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024