वैदेशिक रोजगारीको असरः सकारात्मकभन्दा बढी नकारात्मक

23 Jun, 2022

महेश्वर चामलिङ राई

वैदेशिक रोगारीको असर समाजमा सकारात्मक भन्दा बढी नकारात्मक पारेको सरोकारवालाहरुले बताएका छन्। मंगलबार गाईघाटमा आयोजित ‘सुरक्षित आप्रवाशन परियोजना (सामी) सम्बन्धी अन्तरक्रिया कार्यक्रम’का सहभागीले वैदेशिक रोजगारीले राम्रोभन्दा बढी नराम्रो प्रभाव पारेको बताए।

सहभागीहरुको धारणा अनुसार वैदेशिक रोजगारीले समाजका सक्षम, उर्वर र सिर्जनसिल युवा जनशक्ति विदेश पलायन हुँदा नेपाल बालबालिका र बृद्धबृद्धा मात्र बस्ने थलो बन्दै गएको छ। वैदेशिक रोजगारीले देशमा गरिवी न्यूनिकरण र विप्रेषण (रेमिटान्स) भित्र्याउने काम गर्नु सकारात्मक भए पनि त्यो भन्दा बढी नकारात्मक प्रभाव रहेको सहभागीहरुको ठहर छ।

त्रियुगा नगरपालिका सामी परियोजनाद्वारा आयोजित कार्यक्रममा कार्यक्रम अधिकृत विश्वजीत राईले वैदेशिक रोजगारीले बहुआयामिक असर गरेको बताए। कतिपयले आफन्त र नातागोतालाई नै ठग्ने गरेको, श्रीमान्–श्रीमतिबीच झैगडा हुने गरेको, परिवार बिखण्डन गरेको तथा विदेशमोह बढाएर स्वदेश प्रेम घटाएको नगरपालिका सामाजिक शाखा प्रमुखसमेत रहेका अधिकृत राईले बताए। ‘वैदेशिक रोजगारको वर्तमान अवस्था, समस्या तथा चुनौतीहरु साथै वैदेशिक रोजगार व्यवस्थापनका लागि नीतिगत व्यवस्थाहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्दै राईले यसका सकारात्मकभन्दा पनि बढी नकारात्मक प्रभाव भएकाले त्यसलाई न्यूनिकरण गर्न सबैले ध्यान दिनुपर्ने खाँचो औंल्याए।

हाल ५८ लाख हाराहारी नेपाली जनशक्ति श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको तथ्यांक पेश गर्दै राईले वर्षेनी ४ लाख ५० हजार श्रमशक्ति अन्तराष्ट्रिय श्रम बजारमा प्रवेश गर्ने गरेको जाननकारी दिए। उनले श्रम स्वीकृति नलिइ विदेश जानेहरुको संख्या पनि उल्लेख्य रहेको तर, त्यसको तथ्यांक यकिन नभएको बताए। गतवर्ष १ नं. प्रदेशबाट ३६ हजर २ सय ९४ ज नाले विदेश जान श्रम स्वीकृति लिएको बताउँदै अधिकृत राईले देशभरको विदेश जानेको संख्यामध्ये २३ प्रतिशत हिस्सा १ नं. प्रदेशले ओगटेको जानकारी दिए। विदेश जानेमध्ये सबभन्दा बढी मलेसिया र खाडी मुलुकहरु प्रमुख गन्तव्य हुने गरेको उनको तथ्यांकले देखाएको छ।

०७७/७८ मा प्रदेश १ का १४ जिल्लामध्ये सबभन्दा बढी वैदेशिक रोजगारीमा जाने संख्या झापा, मोरङ, सुनसरी र तेरथुम रहेको र कम ताप्लेजुङ रहेको छ भने उदयपुृर मध्येमस्थानमा रहेको तथ्यांकले देखाएको छ। गतवर्ष झापाबाट ७ हजार ४ सय ९० जना विदेश जाँदा मोरङबाट ७ हजार १ सय ९१, सुनसरीबाट ५ हजार ५ सय ४५ तथा सानो जिल्ला भए पनि तेरथुमबाट ४ हजार २ सय ९३ जना विदेशिएका छन्। उदयपुृरबाट गत आव ३ हजार ५ सय ३० जना महिलासहित ५९ हजार ७ सय १७ जनाले श्रम स्वीकृति लिएकोमा २ हजार ११ जना विदेशिएका छन्।

चालु वर्षको वैशाख मसान्तसम्ममा उदयपुरबाट ६ हजार ३ सय ४१ जना विदेशिएको र जसमध्ये महिलाको संख्या ६ सय १६ रहेको राईले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ। तथ्यांकले देखाए अनुसार सदरमुकाम त्रियुगा नगरपालिकामा जम्मा २ हजार ५४ घरधुरीमध्ये ४ हजार १ सय ११ घरधुरीबाट वैदेशिक रोजगारीमा गएको देखाएको छ। विदेश जानेमा मलेसिया सबभन्दा बढी १ हजार २ सय २४, साउदी अरव ९ सय ३३, कतार ९ सय १२ र दुवई जानेको संख्या ५ सय ९५ रहेको छ।

अधिकतर रोजगारीमा जानेहरु सीप नसिकी र सूचना जानकारी नलिई जाँदा विदेशमा पुगेर हरेक खाले दुःख भोग्नु पर्ने, लगानी डुब्ने र परिवार बिल्लीबाट हुने अवस्था सिर्जना भएको राईले पेश गरेको तथ्यांकले देखाएको छ। तथ्यांकका अनुसार सिप सिकेर जानेको हिस्सा १६ प्रतिशत मात्र छ भने ६४ प्रतिशत त्यत्तिकै जाने गरेकाले जनधनको क्षति हुने गरेको छ। सिप र भाषा नसिकी, सूचना र जानकारी नलिई विदेशिने गर्दा त्यहाँ काम पाउन र व्यवस्थित हुन नसकेर परिवार र राष्ट्रलाई ठूलो क्षति पुग्ने गरेको छ। गतवर्ष त्रियुगाबाट विदेश गएकामध्ये सिप सिकेर सूचना जानकारी लिएर जानेको संख्या १ हजार ७ सय २६ हुँदा त्यत्तिकै जानेहरु २ हाजर ३ सय ८५ रहेको अधिकृत राईले बताए।

त्रियुगा नगरपालिका सामी परियोजना संयोजक जयन्तीकला तामाङले वैदेशिक रोजगारीको सकारात्मक र नकारात्मक पाटो दुवै भएको बताउँदै सकेसम्म स्वदेशमै उत्पादन मूलक काममा लाग्न आग्रह गरिन्। तामाङका अनुसार वैदेशिक रोजगारीबाट रेमिटान्स्वापत गतवर्ष मात्र त्रियुगा नगरपालिकामा १ अर्व १५ करोड ७९ लाख ९२ हजार ९६ रुपैंया भित्रिएको थियो। जुन त्रियुगा नगरपालिकाको वार्षिक बजेटभन्दा १६ करोड २१ लाख ७२ हजार ९६ ले बढी हो। नगरपालिकाको गतवर्षको बजेट ९९ करोड ५८ लाख २० हजार थियो।

वैदेशिक रोजगारीले गर्दा ठगी, परिवार विखण्डन, लगानी फस्नेलगायत बिभिन्न सामाजिक, आर्थिक र पारिवारिक अपराधका घट्नाहरु घट्ने गरेको उदाहरण दिदै कतिपय अवस्थमा जनचेतना अभावले पनि यस्तो समस्या आउने गरेको बताईन्। संयोजक तामाङले विदेश जानुअघि वैदेशिक रोजगारीसम्बन्धी पूर्णरुपमा सूचना तथा जानकारी लिन, श्रम स्वीकृति लिन र सिप तथा भाषा सिक्नु अनिवार्य भएको बताईन्।

यति गरेर विदेश जाँदा ठगी वा कुनै समस्यामा परेमा सम्बन्धित देशका राजदुतावासमार्फत कारबाही प्रक्रिया चलाउन सकिने र त्यस कार्यमा सामी परियोजनाले सहयोग गर्दै आएको तामाङले बताईन्। उदयपुृर र त्रियुगा नगरपालिका सामीले पनि बिभिन्न ठगीमा परेकाहरुको उद्धार गरी कारबाही तथा क्षेतिपूर्ति गरिदिएको संयोजक तामाङले बताईन्।

कार्यक्रममा सामी÷हेल्भेटासका कार्यक्रम अधिकृत डिएन चौधरी र वरिष्ट पत्रकार कौशल चेमजोङले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए। चौधरीले ‘वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर’ र चेमजोङले ‘आप्रवासन क्रम र मिडिया रिपोर्टिङको महत्व’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। चौधरीले वैदेशिक रोजगारीले सामाजिक लगानी बढाएको र त्यस अनुसार उत्पादन नभएको निश्कर्ष कार्यपत्रमा प्रस्तुत गरेका छन्। वैदेशिक रोजगारीका कारण अत्याधिक ऋण लाग्नु, ठगीमा पर्नु, जेल सजायसम्म पाउनु, श्रम, आर्थिक, सामाजिक र यौन शोषण भोग्न, अलपत्र पर्न, अंगभंग हुनेदेखि मृत्युसम्मका घट्ना हुने गरकोे चौधरीको कार्यपत्रले देखाएको छ।

त्यस्तै पत्रकार चेमजोङको कार्यपत्रमा वैदेशिक रोजगारीको क्रममा पीडामा परेकाहरुको समाचार बनाउँदा थप पीडा पुग्न नदिन विचार पु¥याउनुपर्ने उल्लेख छ। उनले तथ्यमा आधारित कुरा मात्र उल्लेख गरेर रिपोर्टिङ गर्नुपर्ने, आचारसंहिताभित्र रहेर, पीडितलाई न्याय र अपराधीलाई कारबाही हुने गरी समाचार बनाउन कार्यपत्रमार्फत आग्रह गरेका छन्।

‘स्वदेशमै रोजगारी सिर्जना गरौँ, वैदेशिक रोजगारमा जाने भए सूचना र तालिम लिएर मात्र जाऔँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष भरत खड्का, पूर्व अध्यक्षहरु, प्रदेश महासंघका पूर्व पदाधिकारी र सदस्यहरु तथा स्थानीय सञ्चारकर्मी लगायतको उपस्थिति थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024