वैदेशिक रोजगारीका पीडा : सानो त्रुटि, ठूला समस्या

16 Jun, 2023

बर्दिबास, असार १ गते । बर्दिबास–९, पशुपतिनगरका सात जनाले वैदेशिक रोजगारीमा खाडी मुलुक जानका लागि रौतहटका एक एजेन्टलाई राहदानीसहित ३० लाख रुपियाँ जिम्मा लगाए। सुरुमा अनेकन प्रलोभन देखाएका एजेन्टले पैसा हात पारेपछि खाडी मुलुक पठाइदिन आजभोलि गर्दागर्दै समय टार्दै गए। अहिले एजेन्ट नै सम्पर्कविहीन भएका छन्।

पैसा दिएको दुई वर्ष बित्न लाग्यो। रोजगारीमा जाने आस त मरिसक्यो। पैसासमेत फिर्ता नहुँदा पीडितहरू मर्माहत छन्। न्यायका लागि गुहार लगाउन जाँदा सम्बद्ध निकायले सहयोग त के उजुरीसमेत लिन मान्दैनन्। कारण हो उहाँहरूसँग एजेन्टविरुद्ध कानुनी उपचारमा जाने कुनै ठोस् आधार छैन। सातै जनाले एजेन्टसँग पैसा र राहदानी दिएको न कुनै भर्पाई गराएका छन् न कुनै ठोस प्रमाण पाएका छन्।

बर्दिबासबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानेमध्ये चालु आर्थिक वर्ष (२०७९/८०)मा १० जनाको दुःखद मृत्यु भयो। मृतक श्रमिक १० मध्ये नौ परिवारले वैदेशिक रोजगार बोर्ड र बिमासमेत गरी २१ लाख रुपियाँ सहयोग पाउनुभयो तर मलेसियामा मृत्यु भएका बर्दिबास–८, हात्तीलेटका रामचन्द्र महतोका परिवारले भने किरिया खर्चबापत २५ हजार रुपियाँ मात्र पाउनुभयो। कारण थियो मृत्यु हुनपूर्व नै महतोको श्रम सम्झौताको अवधि समाप्त भइसकेको थियो। एउटा मात्र कागजातका कारणले मृतक परिवारले २१ लाख रुपियाँ पाउन सक्नुभएन।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन अन्तर्राष्ट्रिय विकास साझेदार स्विट्जरल्यान्डको सहयोगमा सञ्चालित ‘वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजना (सामी)’ का बर्दिबास प्रमुख लवकुमार यादवका अनुसार आवश्यक प्रमाण र कागजातका अभावले गर्दा वैदेशिक रोजगारीमा विकृति र समस्या बढ्दै गएको छ। हातमा आएको सुविधाबाट पनि वञ्चित हुनु परेको छ।

वैदेशिक रोजगारीमा जानेले राहदानी, भिसा, श्रम स्वीकृति, सम्झौता पत्र, नागरिकता, मेडिकलजस्ता १० प्रकारका कागजात सुरक्षित हुनु पर्छ। यसका साथै म्यानपावर कम्पनी वा एजेन्टसँग बैङ्कमार्फत कारोबार गर्नु पर्छ। नभए पैसा दिएको ठोस प्रमाण बनाउनुपर्छ तर यसबारे जानकारी नहुँदा र जानकारी हुनेले पनि लापरबाही र एजेन्टको कुरामा भर पर्दा दुःखद घटना बढ्दै गएको उहाँले बताउनुभयो।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन सामीले बर्दिबास नगर क्षेत्रमा सरोकारवालालाई सचेतना गर्न सूचना, सिप र न्यायमा पहुँच तथा मनोसामाजिक परामर्श र वित्तीय साक्षरता जस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। सामीले वैदेशिक रोजगारीमा गएका परिवार तथा जाने तयारीमा रहेका श्रमिक युवाको समस्या र आवश्यकता पहिचान गरी हरेक महिना ७५ जनाको दरले यस वर्ष करिब तीन हजार जनालाई रोजगारसम्बन्धी सूचना, परामर्श र मार्गदर्शन सेवा उपलब्ध गराएको दाबी गरेको छ।

सामीले बिही बर्दिबास नगर कार्यालयमा आयोजना गरेको सरोकारवालासँग अन्तव्र्रिmया तथा अभिमुखीकरण कार्यक्रममा उपप्रमुख तारादेवी महतोले सामी परियोजनाले सञ्चालन गरेको कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन बर्दिबासस्थित इलाका प्रशासन कार्यालयमा ‘आप्रवासी स्रोत उपकेन्द्र’ स्थापनाका लागि सहयोग गर्ने आश्वासन दिनुभयो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024