वैदेशिक रोजगारीका नाममा बढ्दो ठगी

12 Sep, 2023

दाङ — वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एजेन्टले १ लाख ३० हजार रुपैयाँ ठगेपछि तुलसीपुर उपमहानगरपालिका–१ भमकेका २१ वर्षीय थामप्रसाद भण्डारी भदौ ४ मा काम खोज्न भारतको केरला पुगे । खोजखन्तर गरेर बुझाएको रकम सबै एजेन्टले खाइदिएपछि सोही साँवाब्याज उठाउन उनी बाध्यताले केरला हान्निएका हुन् ।

चिनजानका दाजु नीमप्रसाद धितालले मलेसिया पठाउने आश्वासन दिएका थिए । उनले दुई पटक गरेर रकम बुझाए । तर भोलि भोलि भन्दाभन्दै महिनौं झुलाएका नीमप्रसादले रकम ठगेर सम्पर्कविहीन भए ।

गाउँमा श्रीमती रञ्जिता कुमाललाई कहिले भारतबाट पैसा आउला र ब्याज तिरुला भन्ने छ । ‘साहुले पैसा मागिरहेका छन्, पैसा आउने बेला अझै भएको छैन,’ उनले भनिन्, ‘विदेश पठाउँछु भनेका मान्छेले पैसा फिर्ता दिन्छु भनेको पनि धेरै समय बितिसक्यो । पैसा कतैबाट आउने अवस्था छैन ।’ केही समयअघि उनीहरू ठगविरुद्ध कारबाही चाल्न सकिन्छ कि भन्ने आसमा इलाका प्रशासन कार्यालय तुलसीपुर पनि पुगेका थिए । कुमालले भनिन्, ‘हामी ठगियौं भनेर इलाका प्रशासन पुग्दा पनि केही गर्न सकिँदैन भन्नुभयो ।’

बबई गाउँपालिका–५ बुद्धनगर टोलका रामकृष्ण गाहाले १३ महिनाअघि मलेसिया जानकै लागि धिताललाई नै ५० हजार रुपैयाँ बुझाएका थिए । उनी पनि मलेसिया जान पाएनन् । लामो प्रयासपछि २५ हजार रुपैयाँ फिर्ता पाए । लामो समय ताकेता गरे पनि बाँकी रकम भने नपाएको गाहाले सुनाए । धितालले बुद्धनगर टोलकै जीवन पुन, घनश्याम मगर, भीमसेन घर्ती र बेलबहादुर वीरकट्टा मगरको २ लाख ४० हजार रुपैयाँ ठगेको बेलबहादुरका बुवा गोविन्दबहादुर वीरकट्टा मगरले बताए । अन्य ठाउँका पनि ६ जनाको २५ हजार ठगिएको छ । ऋण तिर्न नसकेपछि थप ऋण लिएर छोरालाई फागुन ९ गते मलेसिया पठाएको उनले बताए । भीमसेन पनि थप ऋण लिएर मलेसिया गएका छन् ।

धितालबाट ठगिएको भनेर जिल्ला प्रशासन कार्यालयमा आठ वटा उजुरी आएको निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् । जसमा २० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म ठगिएको भनी उजुरी परेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘सम्पर्कमा आएपछि छलफल गराएर पीडितलाई रकम दिलाउन पहल गर्छौं । नआए कारबाही अघि बढ्छ ।’

विश्वज्योति एचआर सोलुसन म्यानपावर कम्पनीमार्फत पठाउन खोजेकोमा कम्पनी सञ्चालकहरू नै भागेपछि आफू समस्यामा परेको धिताले बताए । ‘बसुन्धरास्थित कम्पनीको कार्यालयमा ताला लागेको छ । ममार्फत ५० लाख बढी रकम ठगिएको छ । कम्पनीले २१ लाख र १८ लाखका चेक दिएको छ तर पैसा पाएको छैन,’ उनले भने, ‘धेरैको फिर्ता गरिसकेको छु । ६ लाख बाँकी छ । घडेरी बेचेर भए पनि तिर्नेछु ।’

जिल्लामा चार वर्षमा यसरी ठगिएको भन्दै ४ सय ३२ पुरुष र २१ महिला सम्पर्कमा आएको सामी कार्यक्रमकी जिल्ला संयोजक बसन्ता पुनले बताइन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024