वैदेशिक रोजगारीः सबै भन्दा बढी धनुषाबाट

7 Nov, 2022

सविता खड्का

वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी धनुषा जिल्लाबाट जाने गरेका छन्। आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको भदौसम्ममा धनुषा जिल्लाबाट ४२ हजार ४ सय ४४ जना गएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ। उनीहरू म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन्। अघिल्लो वर्ष पनि धनुषा एक नम्बरमै थियो। वैदेशिक रोजगारीमा जानेहरूको संख्या हरेक वर्ष बढे पनि अन्य जिल्लाले धनुषालाई उछिन्न सकेको छैनन्।

धनुषापछि क्रमशः सिराहा, महोत्तरी, झापा, मोरङ, सप्तरी, नवलपरासी, सुनसरी, सर्लाही र रूपन्देही जिल्लाबाट रोजगारीका लागि विदेशिएका छन्।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमा मलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र कतार रहेका छन्। करिब ६० प्रतिशत कामदार मलेसिया पुग्ने गरेको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी आशिष भण्डारीले बताए।

भण्डारीका अनुसार महिला कामदारको प्रमुख गन्तव्यमा मलेसिया पहिलो स्थानमा रहेको छ। यसअघि खाडी राष्ट्र साउदी अरबमा ठूलो संख्यामा कामदार जाने गरेको विश्वास गरिन्थ्यो भण्डारीले भने। वैदेशिक रोजगारीमा जाने महिलामध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकबाट जाने गरेको पाइएको छ।

वैदेशिक रोजगारी बोर्ड र विभागका अनुसार सिन्धुपाल्चोक, झापा, मोरङ, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, नुवाकोट, सुनसरी, इलाम र दोलखा जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या उच्च रहेको वैदेशिक रोजगार बोर्डको निर्देशक दिपक ढकालले बताए।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार बैशाखदेखि भदौसम्मका प्रत्येक महिना धेरैमात्रामा धनुषा जिल्लाबाटै विभिन्न मुलुकमा रोजगारको खोजी गर्दै विदेशिएका छन्।

पाँच महिनाको अन्तरालमा महिला र पुरुष गरेर धनुषा जिल्लाबाट मात्रै ९ हजार ४ सय १४ जना वैदेशिक रोजगारीमा गएका छन्। त्यस्तै धनुषाबाट वैशाखमा ९ सय ८३ जना, जेठमा १ हजार ५ सय ६३, असारमा १ हजार ९ सय ३९, साउनमा १ हजार ९ सय ९७ र भदौमा २ हजार ९ सय ३२ जना गन्तव्य मुलुकमा गएको तथ्याङ्कले बताएको छ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीका लागि गएका मध्ये १४ सय ९२ जना कामदारको मृत्यु भएको बोर्डका निर्देशक ढकालले बताए। आर्थिक वर्ष २०७६–०७७ मा विदेश गएका नेपाली कामदारको मृत्यु संख्या ६ सय ६२ थियो भने ०७७÷०७८ मा त्यो संख्या बढेर दोब्बर अर्थात् १२ सय ४३ भएको थियो। गत आर्थिक वर्षमा अंगभंग भएर नेपाल ल्याइएका कामदारको संख्या २ सय ७४ थियो भने शव ढुवानी संख्या ७ सय ९५ रहेको छ। साथै बिरामी भइ उद्धार गरिएकाको संख्या २ सय १९ रहेको जानकारी पनि निर्देशक ढकालले दिए।

वैदेशिक रोजगारको पहिलो गन्तव्य मलेसिया नेपाली कामदारका लागि जोखिमपूर्ण भूमि बनेको छ। विगत चार वर्षदेखि मलेसियामा मृत्यु हुने कामदारको संख्या उच्च रहेको छ।

वि.सं. २०६७ सम्म दोस्रो स्थानमा रहेको धनुषा जिल्लाले ०७०÷०७१ देखि पहिलो स्थान ओगटेको छ। आर्थिक वर्ष २०७६÷७७ मा धनुषाबाट मात्रै ९ हजार ७ सय ७४ जना वैदेशिक रोजगारीमा गएका थिए। विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा ५ हजार २ सय ४९ जना विदेश गएका छन्। वैदेशिक रोजगारीका लागि स्थानीय एजेन्टमार्फत जानेको संख्या अधिक रहेको र अधिकांश ऋण लिएर विदेश जाने गरेका छन्। अधिकांश व्यक्तिगत सम्पर्कका आधारमा वैदेशिक रोजगारमा गएका कारण ठगीको सिकार हुनुपरेको छ। सही जानकारी र सूचनाको अभाव, सीप नहुनु र सीप लिन नचाहनु, सामाजिक लागत बढ्दै जानु, एजेन्ट तथा म्यान पावर कम्पनीको चलखेलजस्ता चुनौतीले गर्दा वैदेशिक रोजगार असुरक्षित बन्दै गएको वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालको भनाइ छ । वैदेशिक रोजगारीमा ठगिने क्रम वृद्धि भए पनि धनुषा जिल्लाबाट राहदानी लिनेहरूको संख्यामा कमी आएको छैन।

वैदेशिक रोजगारीमा जाने नेपाली र त्यहाँ मृत्यु हुने नेपालीको औषत संख्या विगत लामो समयदेखि घट्न सकेको छैन। मेडिकल परीक्षणका विभिन्न चरण पार गरेर विदेश जाने स्वस्थ नेपालीहरू किन मरिरहेका छन् भन्नेबारेमा खासै अध्ययन भएको छैन।

औद्योगिक दुर्घटना, आत्महत्या, सडक दुर्घटना आदिका कारण विदेशमा धेरै नेपालीको मृत्यु हुने गरेको विवरण आउने गरे पनि यो के कारणले हुन्छ भन्ने अध्ययन अझै गरिएको छैन। रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या बढेसँगै गन्तव्य मुलुकमा मृत्यु, अंगभंग हुनेको संख्या पनि बढेको देखिन्छ।

यसैगरी बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको नियम अनुसार रोजगारदाता कम्पनी मार्पmत शव झिकाइ निःशुल्क मृतकको परिवारसम्म पु¥याउने काम गर्दै आएको छ। रोजगारीमा गएर मृत्यु भएका तर कुनै रोजगारदातासँग आबद्ध नभएका मृतकको शव सम्बन्धित नियोगको समन्वयमा स्वदेश झिकाउने गरिँदै आएको छ।

सरकारले वैदेशिक रोजगारीमा गएका युवाको बढ्दो मृत्युदर किन वृद्धि भइरहेको छ भन्ने बारेमा अध्ययन नगरेकाले मृत्युदर घटाउन सकिएको छैन।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024