वैदेशिक रोजगारका नाममा म्यानपावरबाटै धेरै ठगी

4 Jul, 2022

वैदेशिक रोजगारमा जानेहरू व्यक्तिगतभन्दा म्यानपावरमार्फत बढी ठगिएको पाइएको छ। आप्रवासी श्रमिकहरूलाई निःशुल्क कानुनी सहायता गर्दै आएको संस्था पिपुल फोरमको तथ्यांकले यस्तो देखाएको हो।

फोरमले सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत असार मसान्तसम्म दुई हजार आठ सय ५४ जना वैदेशिक रोजगारका ठगी पीडितहरूलाई निःशुल्क कानुनी सहायता सहजीकरण सेवा प्रदान गरेको छ। पीडितहरूले विभिन्न मुद्धामा ८० करोड ६९ लाख ३३ हजार ८८० बराबर क्षतिपूर्ति प्राप्त गरेका छन्।

यहाँ कानुनी सहायताका लागि आएका मध्ये एक हजार तीन सय ७६ व्यक्तिमार्फत ठगिएका परियोजनाका संयोजक सुदीप देवकोटाले बताए। तथ्यांक हेर्दा म्यानपावरमार्फत ठगिनेको संख्या धेरै देखिन्छ।

म्यानपावरमार्फत ठगिएका एक हजार चार सय ७८ जना छन्। यो संख्या हेर्दा करिब ५२ प्रतिशत म्यानपावरमार्फत र ४८ प्रतिशत व्यक्तिगतमार्फत ठगिएका हुन्।

सोही अवधिमा कानुनी सहायतामा उद्धारका मुद्धा चार सय ५२ रहेकोमा एक सय ३७ जनाले मात्रै न्याय पाएका छन्। त्यस्तै, पासपोर्ट जफतका १०४ घटना आएकोमा हालसम्म ५१ जनाले फिर्ता पाएका छन्।

ठगीका एक हजार ६ सय ९२ मुद्धा परेकोमा ७० मात्र फर्छ्यौट भएको देखिन्छ। पिपुल फोरमका संस्थापक एवम् सल्लाहकार अधिवक्ता सोमलुइँटेलले पछिल्लो समय फोरमले मानव बेचबिखनका मुद्धामा पनि निःशुल्क कानुनी सहायता प्रदान गर्न थालेको बताउँछन्।

उनका अनुसार हालसम्म फोरमले ६४ जना यस्ता पिडितहरूलाई निःशुल्क सेवा दिएको छ। उनले पछिल्लो समय वैदेशिक रोजगारमा जोखिम बढ्दै गएकाले सरोकारवाला सबैले ध्यान पुर्‍याउनुपर्ने बताए।

सरकारका कतिपय नीतिकै कारण पनि वैदेशिक रोजगारमा जाने युवाहरूले न्याय पाउन कठिन भइरहेको उनले बताए। अधिवक्ता सुदीप देवकोटाले साउदीमा नेपाली श्रमिकहरू समस्या पर्ने क्रम बढेको बताए। त्यस्तै, वैदेशिक रोजगारमा जाने श्रमिकहरूको मृत्युदर पनि बढेको पाइएको उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024