वीरगन्जमा निस्सासिएर दुई भारतीय कामदारको मृत्यु

12 Jan, 2023

मिथिलेश यादव

पर्साको वीरगन्ज महानगरपालिका –२२ जगरनाथपुर स्थित त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस(कोइला डिपो)मा निस्सासिएर दुई जना भारतीय कामदारको मृत्यु भएको छ। मृतक भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नम्बर ७ का २९ वर्षीय पवित्र गिरी र ३० वर्षीय मिथलेश यादव छन्।

कोइला डिपोको रेखदेख काम गर्ने गिरी र यादव सोही डिपोको एकतले पक्की भवनमा बस्दै आएका थिए। उनीहरु बस्ने कोठामा आल्मुनियमको झ्याल ढोका छ। मंगलबार राती झ्याल ढोका बन्दगरी सुतेका दुबै जना बुधबार बिहान १० बजे सम्म कोठा बाहिर नआएपछि प्रहरी समेतको टोलीले ढोका फोडेर भित्र प्रवेश गर्दा गिरी र यादवको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले बताए।

कोठाभित्रको अवस्था हेर्दा तगारीमा(फलामको भाँडो) पत्थर कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेको देखिएको डिएसपी गिरीले बताए। उनले भने,‘ झ्याल ढोका बन्द गरीएको कोठामा आगो बालेर राती सुत्दा अक्सिजनको कमीले उनीहरुको मृत्यु भएको प्रारम्भिक कारण देखिन्छ।’ घटनाको थप अनुसन्धान भैरहेको उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024