विमानस्थलमै श्रमिक सताउँदै निगमका कर्मचारी

20 Oct, 2021

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वायु सेवा निगमका कर्मचारीले कमिसनको लोभमा विदेश जाने श्रमिकलाई विमानस्थलमै सताउन थालेका छन् । विमानस्थलमा पीसीआर गर्ने अनुमतिसमेत नपाएका प्रयोगशालालाई फाइदा पुर्‍याउन यात्रुलाई दुःख दिने गरिएको छ । 

फाइल तस्बिर

अहिले यूएई सरकारले त्यहाँ जानुअघि सम्बन्धित देशको विमानस्थलमा नै पीसीआर गरेको रिपोर्ट अनिवार्य गरेको छ । तर, निगमका कर्मचारीले हङकङ जाने यात्रुलाई पनि विमानस्थलमा पीसीआर परीक्षण गर्न बाध्य बनाउँदै आएका छन् । ‘विदेश जाने यात्रुले पहिले नै पीसीआर टेस्ट गरिसकेका हुन्छन्, तर विमास्थलमा खडा गरिएका प्रयोगशालाको कारोबार बढाउन निगमका कर्मचारीले हङकङका यात्रुलाई पनि अर्को पीसीआर परीक्षण गराएका छन्,’ आफन्त छाड्न गएका ललितपुर निवासी हरिकुमार राईले भने ।

आठ सय रुपैयाँ कमिसनका लागि निगमका कर्मचारीले यात्रुलाई यसरी दुःख दिने गरेको गुनासो विमानस्थलमै सुनेको पनि राईले बताए । प्रयोगशालाले हरेक यात्रुबाट दुई हजार लिन्छन् ।

उता यूएई सरकारले भने विमानस्थलकै रिपोर्ट अनिवार्य गरेको छ । स्वास्थ्य परीक्षणलाई विश्वसनीय बनाउन भन्दै सरकारले मापदण्ड पुगेका प्रयोगशालालाई मात्र अनुमति दिने गरेको छ । तर, फ्लाई दुबई र हिमालय एयरलाइन्सले सरकारी मान्यता नपाएको प्रयोगशालाको रिपोर्टका आधारमा यात्रु उडाउने गरेका छन् ।

विमानस्थल पुगेर पर्यटनमन्त्री आलेले मागे यात्रुसँग माफी

अझ निगमका कर्मचारीले त नेपाल सरकारबाट अनुमति नपाएका प्रयोगशालाको रिपोर्टलाई मात्र मान्यता दिने गरेका छन् । तर निगमका कर्मचारीले सरकारी मान्यता नपाएका प्रयोगशालाको रिपोर्ट भएका यात्रुलाई विमानमा चढाउने गरेका छन् । सरकारी मान्यता प्राप्त प्रयोगशालाको रिपोर्ट भएका श्रमिकलाई भने निगमले फिर्ता गरेपछि मंगलबार साँझ विमानस्थल परिसरमा तनाव भएको थियो । 

‘विमानस्थल परिसरमा मान्यता पाएका दुई र नपाएका दुई प्रयोगशाला छन् । तर आठ सय रुपैयाँ कमिसनका लागि हाम्रै कर्मचारीले सरकारबाट अनुमति नपाएका प्रयोगशालाको रिपोर्ट लिन यात्रुलाई बाध्य बनाएका छन्, यो विषयमा निगमभित्र पनि छलफल भएको छ । तर भ्रष्टहरूलाई अहिलेसम्म कारबाही भएको छैन,’ निगमकै एक अधिकारीले भने ।

राष्ट्रिय ध्वजावाहकले नै विदेश जाने श्रमिकलाई ठगेको विषयमा नेपाल सरकार अहिलेसम्म मौन छ । ‘जनस्वास्थ्य प्रयोगशालाबाट मान्यता पाएको प्रयोगशालामा परीक्षण गरेर भित्र गएका थियौं, तर भित्र हामीलाई बोर्डिङ पास नै दिएनन् । अर्को कम्पनीको लिएर आऊ भनेर निगमकै कर्मचारीले थर्काए, तर उनीहरूले पठाएको प्रयोगशालाले सरकारबाटै अनुमति लिएको छैन भन्ने सुनियो, विमानस्थलमै यस्तो लुटपाट हुँदा पनि कहाँ छ सरकार ? देश छाडेर जान्छु भन्दा पनि सुख पाइएन,’ सप्तरीका श्याम नारायणले भने ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024