विनिताको दुःख : विदेश गएका पति हराए, कहाँ खोज्ने ?

1 Sep, 2021

श्रवण देव 

१५ भदौ, जनकपुरधाम । अब विस्तारै दुःखको दिन जान्छ र सुखको दिन आउँछ । विनिता देवीले आठ बर्षअघि मनमा यही सोचेकी थिइन् । 

ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने, सहज जीवन बिताउने सोचेरै धनुषाको कमला नगरपालिका–७ सिंग्याही मडानकी उनले आफ्ना पति दुखी मण्डललाई साउदी अरबतर्फ विदा गरिन् ।

पतिलाई विदाई गर्दा १३ बर्ष र ७ बर्षका छोराको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता विनितालाई थियो नै । ‘दुबै जना काम गर्दा पनि ऋण लागिरहन्थ्यो, छोराहरुलाई स्कुल पठाउन समस्या थियो’, ३८ बर्षीया विनिता भन्छिन्, ‘त्यसबेला २ लाख ऋण लिएर उहाँ विदेश जानुभएको थियो ।’ 

विदेशमा कमाइ हुन थालेपछि दुःख विस्तारै हट्दै जाने विश्वास उनीहरुलाई थियो । नभन्दै, दुई महिनापछि नै दुखीले साउदी अरबबाट रकम पठाउन थाले । ‘कुनै महिना १० हजार त कहिले २० हजार रुपैयाँ पठाउन थाल्नुभयो’, विनिता भन्छिन्, ‘तर, लगभग दुई बर्षपछि उहाँ नै हराउनुभयो । सम्पर्कविहीन भएको नै पाँचबर्ष लाग्यो ।’ 

दुखी मण्डल

विनिता देवीले थाहा पाएसम्म दुखी उँट र बाख्राको रेखदेख गर्ने कामका निम्ति गएका थिए । दुखीसँग मोवाइल फोन नभएकाले उनलाई मालिक (कपिल) ले परिवारसँग सम्पर्क गराउँथे । अहिले त कपिल पनि सम्पर्कमा नआएको विनिता बताउँछिन् ।

‘पाँच बर्षअघि कपिलकै मोवाइलमा बोल्दा अब घर आउनुस् भनेकी थिएँ’, उनी भन्छिन्, ‘त्यसपछि एक दिन कपिलले फोन गरेर दुखी मण्डल नेपाल गइसकेको बताएका थिए ।’

तर, एक महिनासम्म पनि पति घर नआउँदा कपिलको नम्बरमा पटक–पटक फोन गरेको तर, सम्पर्क नभएको विनिता बताउँछिन् । दुखी अझै परिवारको सम्पर्कमा आएका छैनन् ।

ऋण तिर्न विदेशिएका छोराले पाएनन् काम

दुखी विदेश जाँदा लिएको ऋण चुक्ता भइसकेको थिएन । साँवा–व्याजको लागि साहुले ताकेता बढाएपछि विनितामाथि चर्काे तनाव प¥यो । त्यसपछि थप ऋण लिएर उनले जेठा छोरालाई दुई बर्षअघि दुबई उडाइन् । तर, त्यसको केही दिनमै कोरोना संक्रमण रोक्न दुवई पनि लकडाउन भयो ।

‘लकडाउन भएर खाली बसेको छोराले महिना दिनअघि बल्ल काम पाएको छ’, उनले भनिन्, ‘यता म ऋणले पुरिएर बसेकी छु । पतिको अवस्थाले उस्तै चिन्तामा पारिरहेको छ ।’ 

पतिलाई कहाँ, कसरी खोज्ने होला ?

पतिलाई साउदी अबर पठाएको मात्रै थाहा छ उनलाई । त्यसबाहेक केही जानकारी छैन । कुन कम्पनीमा काम गर्न, कुन म्यानपावर कम्पनीमार्फत् गए केही थाहा छैन, विनितादेवीलाई । 

दुखी मण्डल विदेश गएपछिका भिसासहित वा बिनाका कुनै कागजात घरमा हुने कुरै भएन । ‘मानिसहरु कागज भएको भए धेरै कुरा बुझ्न सकिन्थ्यो भन्छन्, तर केही छैन । के गर्ने होला ?’ विनिता भन्छिन्, ‘मेरो पतिको खोजी गरिदिन म सबैसँग बिन्ती गर्छु ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024