विद्यार्थी विदेश पलायन कतिञ्जेल ?

5 Mar, 2025

भनिन्छ, ‘पराइको छहारीभन्दा आफ्नै छानो राम्रो।’ तर विडम्बना भोको पेट र निर्वस्त्र शरीरले आफ्नो र अर्को भन्दैन। विश्व हल्लाउने मेरो देशको इतिहास आज धरापमा छ। खै, कहाँ बाटो बिरायौं हामीले ? संसारलाई खानेपानी नपुगे मेरो देशसँग माग्नु, विश्वमा शान्तिको अभाव भए मेरो देशलाई सम्झनु। संसारको ठूलो छाती भएको मेरो देश, कञ्चन खोला नालाले सिञ्चिएको मेरो पवित्र भूमि, आखिर के कमी छ र ? र पनि, मातृभूमिमै सुन फलाउन नसक्ने हामीप्रति खेद छ।

नेपाल राष्ट्र बैंकको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार, २०२४/२५ आर्थिक वर्षको प्रारम्भिक पाँच महिनामा (साउनदेखि कात्तिक) नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि ४७ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेका छन्। यस रकमको तुलना गर्दा २०२३/०२४ आर्थिक वर्षको समान अवधिमा खर्च गरिएको रकम ३८ अर्ब ९२ करोड रुपैयाँ थियो, जसको आधारमा २२ प्रतिशत वृद्धि देखिन्छ। यसको मुख्य कारण नेपालमा गुणस्तरीय शिक्षाको अभाव, रोजगारीको सीमित अवसर र विदेशमा पढेर राम्रो भविष्य बनाउने इच्छा हो। विदेशी शिक्षण संस्थाहरूले प्रदान गर्ने अत्याधुनिक पढाइको बन्दोबस्त, अनुसन्धान सुविधा र वैश्विक नेटवर्कले पनि विद्यार्थीलाई आकर्षित गरेको पाइन्छ।

नेपालका युवाको विदेश पलायन अहिले गहिरो चिन्ताको विषय बनेको छ। यो केवल एउटा आर्थिक समस्यामात्र होइन, यो हाम्रो भविष्यको अस्तित्वसँग जोडिएको एक गम्भीर संकट हो। हामी युवा अर्थात् देशको रचनात्मक शक्ति र सम्भावनाका प्रतीक हुन्, विदेश पठाएर केवल शैक्षिक अवसर मात्र उपलब्ध गराउँछौं, तर उनीहरूको सुरक्षा, मानसिक स्वास्थ्य र भविष्यका अवसरहरूको कुनै ग्यारेन्टी गर्न सक्दैनौं। युवा देशका भविष्यको मानव पुँजी हुन्। अर्थतन्त्र चलायमान बनाउने विकासको प्रमुख चालक पनि। नेपालले पछिल्ला केही वर्षमा देशका खम्बा मानिने युवा गुमाउँदैछ। जोस, जाँगर र सीप भएका युवा धमाधम देश छाड्दैछन्।

विदेश जानु अब सपनामात्र रहेन, नेपालका युवाको मजबुरी बनिसकेको छ। हामीलाई थाहा छ, हाम्रो देशमा गुणस्तरीय शिक्षा र रोजगारको अवसर सीमित छन्। तर के हामी यत्ति जान्दैनौं कि युवाको विदेश यात्रा केवल अवसरको खोजी मात्र हो, यो त एक गहिरो पीडा, संघर्ष र आत्मनिर्भरता को सर्त पनि हो। विदेशमा पढाइ गरेका युवाले अन्तर्राष्ट्रिय स्तरको शिक्षा, अनुसन्धानका अवसर र व्यावसायिक कौशल हासिल गरेर आफ्नो करियरमा एक नयाँ उचाइ प्राप्त गर्छन्। यद्यपि, यी सबै अवसरको बीचमा प्रकृति लम्सालका जस्ता डरलाग्दा घटनाहरू पनि बाहिरिए, जसले समाजमा चिन्ताका थप
कारण जन्माएका छन्।

भारतमा केआईआईटी अध्ययन गर्दै गरेकी नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको घटनाले नेपाली समाज र सरकारलाई ठूलो झट्का दिएको छ। यो केवल एक भयानक कथामात्र होइन, यो लाखौं नेपाली युवाको अव्यक्त पीडा हो। उनीहरूको आस्थामा आधारित सपना र अपेक्षालाई हामी न त सम्मान गरेका छौं, न त तिनीहरूको सुरक्षा नै सुनिश्चित गरेका छौं। यस घटनाले नेपालको अवस्थालाई पनि प्रकट गरेको छ। नेपालमा गुणस्तरीय शिक्षा र रोजगारीको अभावले युवालाई विदेश पढाइतिर धकेलिरहेको छ । तर, विदेशमा पनि उनीहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्ने प्रणाली कमजोर छ। यसले नेपालको शिक्षा, रोजगारी र युवा पुस्ताको भविष्यबारे गम्भीर प्रश्न सोध्न बाध्य बनाउँछ– के हामीले हाम्रा युवाहरूको सुरक्षा र अधिकारलाई पर्याप्त महत्व दिएका छौं ?

आफ्नै छिमेकी देशमा न्यायका लागि आवाज उठाउँदा उल्टै गाली र अपमान सहनुपर्ने अवस्था छ। लम्सालको अस्वाभाविक मृत्युको घटनाले यो कठोर वास्तविकतालाई पुनः उजागर गरेको छ। पढाइ गर्न गएको छोरीलाई न्याय माग्दा उल्टै पीडा खेप्नुपर्ने ? यो कस्तो प्रणाली हो ? यस विषयमा सरकारको उदासीनता चिन्ताजनक छ। प्रकृतिको घटनाले नेपाल र भारतका संसद्मा ठूलो हलचल मच्चाएको छ तर नेपाल सरकारले यस विषयमा ठोस कदम चाल्न सकेको छैन।

सरकारले यस्ता घटनाहरूमा तुरुन्त कदम चाल्नुपर्छ। नेपाली नागरिकहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्नु सरकारको कर्तव्य हो। यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न दूतावासहरूलाई अधिक सक्रिय बनाउन आवश्यक छ। नेपालबाट विदेश पढाइका लागि जाने विद्यार्थीले ऋण र सामाजिक प्रतिष्ठाको दबाबबाट गुज्रिरहेका छन् विदेशमा पढाइ गर्न जाँदा धेरै विद्यार्थी ठूलो रकम ऋण लिन बाध्य हुन्छन्। यसले गर्दा उनीहरूले आफ्नो भविष्यमा ठूलो आर्थिक बोझ उठाउनुपर्छ। साथै, नेपाली समाजमा विदेश पढाइलाई सामाजिक प्रतिष्ठाको प्रतीक मानिन्छ।

धेरै परिवारले सन्तानलाई विदेश पढन पठाएर समाजमा इज्जत कमाउने चाहना राख्छन्। उनीहरूले आफ्नो परिवार र समाजको अपेक्षा पूरा गर्न विदेशमा पढाइ गर्न बाध्य हुन्छन्, तर यसले उनीहरूको मानसिक स्वास्थ्य र आर्थिक स्थितिमा नकारात्मक असर पार्छ। यस्ता समस्या दोहोरिन नदिन नेपालले आफ्नो शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ। युवालाई देशभित्रै राम्रो अवसर सिर्जना हुने कार्यमा लगानी बढाउनुपर्छ।

अर्को महत्वपूर्ण समस्या भनेको साथीको प्रभाव हो। धेरै विद्यार्थीले साथीहरूले विदेश पढाइ गरेको देखेर पनि विदेश पढाइ गर्ने निर्णय गर्छन्, तर यसको पछाडि रहेको आर्थिक र मानसिक दबाबलाई बुझ्दैनन्। अझ सामाजिक सञ्जालका फोटाले वास्तविकतालाई ढाकेर विद्यार्थीलाई गलत दिशामा दोहोर्याएको देखिन्छ।

कहिल्यै नझुक्ने र पछि नहट्ने हाम्रो इतिहास आज धराशायी बन्दैछ। पूर्वजले दिएको नासो जोगाउनको साटो हामी छिमेकीको अगाडि लम्पसार परेका छौं। यसले नेपाली जनताको मनोबललाई ध्वस्त पारेको छ। हामीले स्वदेशकै गौरव र स्वाभिमानलाई बचाउनुपर्ने हो, तर आफ्नै हितलाई प्राथमिकता देऔं। यसले कतै बाटो बिराऔं कि ? नेपाली राजनीतिक परिदृश्यमा कुर्सीको लडाइँले देशको विकासलाई ठप्प पारेको छ । नेताहरूले आफ्नो सत्ता र पदका लागि लडिरहेका छन्, तर जनताको समस्या र आवश्यकतालाई अनदेखा गरिरहेका छन्।

जनताले आफ्नो मतदानको शक्ति प्रयोग गरेर नेताहरूलाई चुन्छन्, तर नेताहरूले जनताको आशा र विश्वासलाई धोका दिँदै आफ्नो स्वार्थलाई प्राथमिकता दिँदैछन्। जनताको हितलाई प्राथमिकता दिएर काम गरेका भए, नेपाल आज विश्वभरि गौरवका साथ उभिएको हुन्थ्यो। सरकारले विदेशमा अध्ययन गर्ने विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने नीति बनाउन आवश्यक छ।

अर्को महत्वपूर्ण बिन्दु भनेको मानसिक स्वास्थ्य र उत्पीडनको मुद्दा हो। यस घटनाले विद्यार्थीलाई मानसिक स्वास्थ्य सेवाको पहुँच बढाउन र उत्पीडनविरुद्ध कानूनी सुरक्षा सुनिश्चित गर्न सरकारलाई पनि प्रेरित गर्छ। हामीले शैक्षिक सुधार गरेर मात्रै हुँदैन। युवाको भविष्यलाई अझ सुरक्षित र उज्जवल बनाउन सरकारले विदेशमा पढ्न जानुका बाध्यताहरूलाई कम गर्दै, देशभित्रै राम्रो शिक्षा प्रणाली र रोजगारीका अवसर बढाउन आवश्यक पहल गर्नुपर्छ। यसले हामीलाई मात्र होइन, हाम्रो समाजलाई पनि दीर्घकालीन रूपमा फाइदा पुर्याउनेछ।

हामीले विदेशमा शिक्षा हासिल गर्ने सपना पूरा गर्दै गर्दा, हाम्रा युवालाई घरेलु र अन्तर्राष्ट्रिय स्तरमा थप सजगता र सुरक्षा दिई, मानसिक स्वास्थ्यका लागि उचित मार्गदर्शन र सहारा सुनिश्चित गर्नुपर्छ। नेपालको शिक्षा प्रणालीको सुधार, रोजगारीका अवसरहरूको सिर्जना र युवाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकारको गम्भीर कदम उठाउनु अनिवार्य छ। सरकारले र समाजले नेपाली नागरिकको सुरक्षा र अधिकार सुनिश्चित गर्नुपर्छ। भविष्यका यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न प्रतिबद्ध हुनुपर्छ। केवल शब्दमा सीमित नराखी, ठोस कदम चलाए नेपाल फेरि विश्वसामु जितको झण्डा फर्फराउनेछ,
यसमा कुनै शंका छैन।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024