विदेसिएका युवासँग जोडिन ‘स्मार्ट चौतारी’

31 May, 2023

रामेछाप — खाँडादेवी गाउँपालिका–३ भिरपानीको छापगाउँका बासिन्दा अलिकति फुर्सद भयो कि गाउँमा सञ्चार उपकरण सुविधा भएको स्मार्ट चौतारीमा भेला हुन्छन् । जहाँ गाउँलेहरू विदेसिएकाहरूसँग सुखदुःखका कुरा साटछन् । यसले गाउँ र विदेसिएका युवालाई जोडिदिएको छ ।

गाउँपालिकाले स्मार्ट चौतारी नाम दिएको प्रतिक्षालयमा निःशुल्क इन्टरनेट जोडिएको छ । इन्टरनेट आफ्नो डिभाइसमा जोडेपछि डेढ घण्टासम्म भिडियो गफ गर्न मिल्छ । त्यसपछि आफै काटिन्छ । अहिले विदेशमा भएका आफन्तसँग कुरा गर्ने थलो बनेको छ स्मार्ट चौतारी । ग्रिलको प्रतिक्षालयजस्तो बनाइएको ठाउँमा ल्यान्डलाइन फोन पनि राखिएको छ । उक्त फोनबाट देशभर निःशुल्क फोन गर्न पाइन्छ । यसले गाउँका ५०–६० घर लाभान्वित भएका छन् ।

स्थानीय बुद्धिलाल श्रेष्ठ स्मार्ट चौतारीको सुविधा लिएर जापान र कुवेतमा भएका छोरासँग दिनहुँजसो भिडियोमा गफिन्छन् । जापानमा हुने योगेन्द्र र कुवेतमा हुने राजुले घरमा रहेका बाबुआमाको खबर पहिले एकोहोरो, त्यो पनि काठमाडौंका आफन्तबाट मात्र पाउँथे ।

‘मैले त मोबाइल चलाउन पनि जानेको थिइनँ, ५ दिन भयो सिकेको,’ श्रेष्ठ भन्छन्, ‘विदेशमा रहेका आफन्तले स्मार्ट चौतारीको व्यवस्थाले निकै खुसी छन्, हामीलाई पनि असाध्यै राम्रो भएको छ ।’पाका पुस्तालाई विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न मात्र होइन, युवायुवती र किशोरकिशोरी पनि सामाजिक सञ्जालमा जोडिन पाएका छन् ।

गाउँघरमा इन्टरनेटको सुविधा छैन । महँगो मोबाइल डेटा सबैले प्रयोग गर्न सक्दैनन् । ‘स्मार्ट चौतारी’नजिकै पसल गरेका बुद्धिलाल श्रेष्ठ भन्छन्, ‘स्मार्ट चौतारी सबैको साझा थलो बनेको छ । बाटो हिँड्नेदेखि, गाईबाख्रा चराउने अनि मेलापात आउनेले पनि एकैछिन चौतारीमा बसेर आफन्तसँग कुराकारी गर्ने गरेका छन् ।’ पहिलेपहिले वरपिपलका चौतारीमा भेला हुने गरेका गाउँले अहिले स्मार्ट चौतारीमा भेला भएर राजनीतिदेखि सामाजिक–सांस्कृतिक विषयमा चर्चा गर्ने गरेका छन् ।

स्मार्ट चौतारीमा रहेको इन्टरनेट सेवा बिजुली नभएको बेला चल्दैन । स्थानीय रामबहादुर श्रेष्ठ भन्छन्, ‘यसलाई बिजुली गएको बेलामा पनि चल्ने बनाउनका लागि पालिकासँग कुरा गरेका छौं । इन्टरनेटको तार केही टाढाको स्वास्थ्यचौकीसम्म पुगेको छ । ‘त्यस ठाउँबाट चौतारीसम्म तार ल्याउन पायो भने अझ छिटो चल्थ्यो होला,’ श्रेष्ठले भने । स्मार्ट चौतारी निर्माणका लागि सडकछेउको जग्गा उनैले दिएका हुन् । उनी आफैंलाई पनि कतारमा रहेका छोरासँग दिनहुँ कुरा गर्न सजिलो भएको छ ।

गाउँमा प्रविधि जोड्ने योजना गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको हो । उनले विदेशमा रहेका युवासँग घरगाउँमा रहेका बाआमा सँग सन्चोबिसन्चोको कुरा गर्न मात्र हैन, विदेशमा कामको प्रकृति र योजनाका बारेमा पनि कुरा गर्नका लागि स्मार्ट चौतारीको अवधारणा ल्याएका हुन् ।

‘हाम्रै गाउँको जस्तो जग्गा जमिनलाई विदेशमा कसरी खेतीपातीमा लगाएका छन् ?, कसरी योजनाबद्ध व्यवसाय सञ्चालन गर्न सकिने रहेछ भन्नेजस्ता कुरा युवाहरूले आफन्तसँगको कुराकानीबाट थाहा पाउन सक्छन् भनेर स्मार्ट चौतारीको अवधारणा सुरु गरिएको हो,’ उनी भन्छन् ।

गाउँपालिकाले भिरपानीका बासिन्दाले रुचाएको स्मार्ट चौतारी पालिकाका अन्य स्थानमा पनि फैलाउने योजना अघि सारेको छ । सामाजिक भेटघाट हुने थलोमा फोन, शौचालय, शुद्ध पिउनेपानी र इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि पालिकाले विभिन्न २२ स्थान छनोट गरेको छ । एउटा स्मार्ट चौतारी बनाउन करिब ८० हजार खर्च भएको अध्यक्ष श्रेष्ठले बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024