विदेश पलायन हुने दक्ष जनशक्ति रोक्नुपर्छ : नेता महर

24 Aug, 2022

काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलायन हुनु दु:खद भएको बताउनु भएको छ ।

नेता महरले भन्नुभयो, ‘‘एक तथ्यांकले हाम्रो देशका ४० प्रतिशत इन्जिनियर, ५० प्रतिशत डाक्टर, ५७ प्रतिशत पाइलट र ६० प्रतिशत नर्सले देश छाडिसकेका रहेछन्, जुन निकै डर लाग्दो तथ्यांक हो, यसरी देशको दक्ष जनशक्ति विदेश पलायन हुने हो भने हामीले कसरी देश बनाउन सकौँला ?’’

नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता महरले नेपालमा शिक्षालाई उत्पादनमुखी बजारसँग जोड्न नसक्दा दक्ष जनशक्ति विदेश पलायन हुन बाध्य भइरहेका छन् उहाँले भन्नुभयो ।

नेपालजस्तो गरिब मुलुकले लगानी गर्ने र फाइदा धनी मुलुकले लिने अवस्था रहेको उहाँको विश्लेषण छ । त्यसैले अब हामी शिक्षालाई उत्पादनमुखी बजारसँग जोड्ने सवालमा गम्भीर हुनुपर्छ, राज्यको पहिलो दायित्व भनेको पनि त्यही नै हो, उहाँले भन्नुभयो ।

हामीले दक्ष जनशक्तिलाई देशमै रोक्न सक्यौँ भने मात्रै देशले अपेक्षित विकास गर्न सक्छ, भन्दै नेता महरले शिक्षा र स्वास्थ्यलाई राज्यले गुणस्तरीय तथा निःशुल्क बनाउनुपर्ने एजेण्डालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् भन्नुभयो । नेता महर नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024