विदेश पलायन रोक्न उद्यम अभियान

30 Jan, 2023

गोकर्ण पौडेल

तुलसीपुर, माघ १६ गते । तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको मेट्रो कलेजले वैदेशिक रोजगारका नाममा बढ्दै गएको पलायन अवस्थाबाट युवालाई रोक्न विद्यालय तहमै उद्यम शिक्षा अभियान सुरु गरेको छ।

कलेजले ‘पढ्दै कमाउँदै’ अभियानलाई विद्यालय तहमै पुगेर विद्यार्थीमाझ उद्यम अभियानका रूपमा अघि बढाएको छ। कक्षा १२ उत्तीर्णपछि अधिकांश विद्यार्थीको रोजाइमा अध्ययन र रोजगारीका लागि विदेश पलायन हुने गरेको पाइएको छ। सो समस्या तथा सङ्ख्या बढ्न थालेपछि स्वदेशमै केही गरौँ भन्ने उत्प्रेरणा दिनका लागि विद्यालय तहमै यस्तो अभियान सुरु गर्न थालेको जनाइएको छ। कलेजका प्रमुख वसन्त आचार्यले पढ्दै कमाउँदै अभियानमा संलग्न विद्यार्थीले विद्यालयमा पुगेर अनुभवसँगै अभियानमा जोडिनका लागि प्रेरित गर्ने बताउनुभयो।

पहिलो चरणमा पालिकाभित्र रहेका छवटा माध्यमिक तहका विद्यालयमा अभियानकै रूपमा सुरु गर्न थालिएको छ। तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थी सन्दीप मल्लले माध्यमिक विद्यालय तुलसीपुर सेन्टरका विद्यार्थीलाई उद्यमशीलता शिक्षा सिकाइएको बताउनुभयो।

उहाँले पुष्प व्यवसायबाट पाँच लाख आम्दानी गरेको र अब तरकारीका बेर्ना बिक्रीका लागि तयारीमा रहेको बताउनुभयो। उहाँले पढ्ने क्रममा बचेको समयबाट उद्यमशीलतामा जोडिँदा लागूपदार्थ दुव्र्यसनी, नकारात्मक सोचको अन्त्य भएको तथ्यपरक कथा सुनाउनुभयो।

तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले विद्यार्थीमा माटो छुने र त्यसलाई माया गर्ने भावनाको विकास गर्नका लागि अभियानलाई पालिकाले अपनत्व लिएर कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024