विदेश पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको प्रशिक्षण केन्द्रमा श्रम कार्यालयको छापा

4 Dec, 2023

गैरकानुनी ढंगले विदेश पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको एक प्रशिक्षण केन्द्रमा श्रम कार्यालय बुटवलले छापा मारेको छ।

आइतबार तिलोत्तमा नगरपालिका-४ नयाँ मिलस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसाल नेतृत्वको टोलीले तिलोत्तमा ट्रेनिङ एण्ड टेष्ट सेन्टरमा छापा मारेको हो।

अनुगमनमा जाँदा अनुमति लिइएको भन्दा फरक काम गरेको पाइएकाले उक्त सेन्टरलाई कारबाही गरिएको उपसचिव भुसालले बताए।

‘घर बनाउने, इलेक्ट्रिक वेल्डिङ गर्न सिकाउने भनी दर्ता गरेको फर्ममा गैरकानुनी ढंगले खाडी मुलुकमा जनशक्ति सप्लाई गरेको भेटियो,’ उनले भने, ‘त्यसैले कारबाही अगाडि बढाएका छौं।’

२०७६ सालमा प्रकाश गैरेले कम्पनी रजिष्ट्रार कार्यालय सेन्टर दर्ता गरेका छन्। उक्त सेन्टरले दैनिक १० देखि २५ जनासम्म साउदी अरब, दुबई, कतार लगायत मुलुक पठाइदिने भन्दै अन्तर्वार्ता लिने गरेको पाएको भुसालले बताए।

यस्तै, अनुगमन टोलीका अनुसार उनीहरूले वैदेशिक रोजगारीमा पठाउने कम्पनी भन्दै रकम असुली गरेको पाइएको हो।

‘तालिम दिने उद्देश्यले दर्ता गरेको कम्पनीले सर्वसाधारणलाई झुक्याएर लोडिङ, अनलोडिङ, क्लिनर जस्ता काममा विदेश पठाउने गरेको पाइयो,’ भुसालले भने।

श्रम कार्यालयले जफत गरिएका कागजातमाथि अनुसन्धान गरी वैदेशिक रोजगार ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024