विदेश पठाइदिन्छु भन्दै, ठग्दै

31 Aug, 2021

लीला श्रेष्ठ

भक्तपुर — सर्लाही लालबन्दी–७ रानीगन्जकी ३० वर्षीया उनले दुबईमा ५ वर्ष दु:ख गरिन् । सेल्स कम्पनीमा सँगै काम गर्ने साथीमार्फत एक जनासँग सम्पर्क भयो । उनले ‘क्यानडा जाने व्यवस्था मिलाएर राम्रो कम्पनीमा काम लगाइदिन्छु भने । ‘दुबईमा काम गर्दै थिएँ, अझै राम्रो देश जान पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो,’ उनले भनिन्, ‘साथीमार्फत काठमाडौंमै बसेर क्यानडा पठाइदिने भन्ने मान्छेसँग सामाजिक सञ्जालमा भेट भयो ।’ दुबईबाट सिधै क्यानडा जान सकिन्छ भन्ने ज्ञान भएकी उनले काठमाडौं बानेश्वर बस्ने काभ्रेपलाञ्चोकको पाँचखाल–४ तामाघाटका २१ वर्षीय प्रजिन अधिकारीलाई विश्वास गरिन् । 

वर्किङ भिसामा क्यानडा पठाइदिने प्रक्रियाका लागि अधिकारीलाई १७ लाख रुपैयाँ बैंक खातामा पठाइदिइन् । ‘एकपल्ट ३ लाख र अर्कोपल्ट १४ लाख रुपैयाँ प्रजिनको खातामा पठाएँ,’ उनले भनिन्, ‘दुबईबाट नेपाल आएर इन्डियाबाट क्यानडा जानुभन्दा उतैबाट जान्छु सोचेकी थिएँ, साथीभाइसँग ऋण लिएर पैसा बुझाएँ ।’ पैसा बुझाएको केही महिनामै प्रजिन सम्पर्कविहीन भए । कमलासँगै एउटै कम्पनीमा काम गर्ने साथीसमेत बेपत्ता भए ।

दुबईमा राम्रो काम गर्दै गरेकी उनलाई त्यही १७ लाख रुपैयाँले नेपाल तान्यो । ‘आफूले ५ वर्षसम्म दु:ख गरेको पसिना त डुब्यो नै उल्टै ऋण लाग्यो,’ उनले भनिन्, ‘वैशाखमा प्रहरीमा जाहेरी दिएँ ।’ उनकै जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाले ठगीका आरोपी अधिकारीलाई असार १७ मा काभ्रेको बनेपा–२ दाहालगाउँबाट पक्राउ गर्‍यो । त्यसपछि मात्र उनलाई थाहा भयो कि वैदेशिक रोजगारीको प्रलोभनमा परेर पीडित हुनेमा उनी एक्ली थिइनन् । महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिसामा क्यानडालगायत मुलुकमा पठाइदिन्छु भनी झुक्याई करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुलेको छ ।

ठगी आरोपमा पक्राउ परेका अधिकारी कानुनी कारबाही भोगिरहेका छन् । तर, दुबईबाट आएकी पीडित भने १७ लाख रुपैयाँ फिर्ता आउने हो कि होइन भन्ने छटपटीमा छिन् । ‘प्रजिनको परिवारलाई सम्पर्क गर्दा हामी पैसा दिन सक्दैनौं, बरु जेलमा सडोस् भन्छन्, अन्योलमा छु,’ उनले भनिन् ।

सोचेजस्तो काम र अवसर नपाएर भौंतारिएका पाँचथर तुम्बेवा–५ हाङ्गुमका ३० वर्षीय ध्रुवकुमार राईलाई चिनजानकै मान्छेले भिजिट भिसामा दुबई हुँदै अमेरिका छिर्न सुझाए । उनले पनि एकपल्ट प्रयास गरौं न त भन्ने सोचे । त्यही क्रममा भेटिए काठमाडौं तीनकुने बस्ने ताप्लेजुङको फुङलिङ–९ का ५९ वर्षीय लालबहादुर कार्की । उनले राईलाई ४० लाख रुपैयाँमा अमेरिका पुर्‍याइदिने र कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाइदिने विश्वास दिलाए । राई मक्ख परे । उनले कार्कीलाई ११ लाख ५० हजार रुपैयाँ पनि बुझाए । उक्त रकम पाएपछि कार्की सम्पर्कविहीन भएपछि भने राई आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभाग पुगे । विभागले कार्कीलाई पक्राउ गरी उपस्थित गराइदिनु भन्दै प्रहरीको महानगरीय अपराध महाशाखालाई पत्राचार गर्‍यो । महाशाखाले जिल्ला प्रशासन कार्यालय झापाको सहयोगमा कार्कीलाई साउन ३२ मा अर्जुनधारा–५ शान्तिचोकबाट पक्राउ गर्‍यो । ठगी आरोपमा पक्राउ परेका कार्कीलाई महाशाखाले मंगलबार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको जनाएको छ ।

त्यस्तै, कोभिडका कारण आक्रान्त युवाहरूको एउटा समूह वैदेशिक रोजगारीको खोजीमा थिए । उनीहरूले खोजेको जस्तै मान्छे पत्ता लगाए । ती व्यक्तिले पनि भिजिट भिसामा कम्बोडिया पठाइदिने र पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’ मा काम लगाइदिने प्रलोभन दिए । काभ्रेको पाँचखाल–८ चिसापानीका प्रेमबहादुर तामाङलगायत ६ जना युवाहरू कम्बोडिया जान तयार भए । प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँका दरले काठमाडौंको तारकेश्वर नगर फुटुङ बस्ने काभ्रेकै महाभारत–१ गोकुलेका मीनध्वज भनिने विचारमान मोक्तानलाई बुझाए । ३९ लाख रुपैयाँ पाएपछि मोक्तान सम्पर्कविहीन भए । ६ जना आत्तिए । वैदेशिक रोजगारको नाममा ठगिएको भन्दै न्यायका लागि वैदेशिक रोजगार विभाग पुगे । प्रहरीले साउन ३२ मा मोक्तानलाई नयाँबानेश्वरबाट पक्राउ गरेर कारबाहीका लागि विभागमा बुझाएको छ ।

थुप्रैमध्येका यी केही प्रतिनिधि घटना हुन् । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा मात्रै वैदेशिक रोजगार विभागले पक्राउ गरिदिन अनुरोध गर्दै प्रहरीको महानगरीय अपराध महाशाखामा १७ वटा पुर्जी पठाएको छ । गत आर्थिक वर्ष विभागबाट पक्राउ पुर्जी आएको ७४ मध्ये ७ जना मात्र पक्राउ परेको महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता एसपी कोइरालाका अनुसार महाशाखामै पनि वैदेशिक रोजगार ठगीअन्तर्गत साउनमा ८ वटा छुट्टै उजुरी परेका छन् । जसमध्ये २ वटा मिलापत्र भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा महाशाखामा ५४ वटा उजुरी परेका थिए । त्यसमा १५ वटा मुद्दा दर्ता भएको छ । ७ वटामा मिलापत्र भएको भने ३२ वटाको फछ्र्यौट हुनै बाँकी छ ।

‘युरोप, अमेरिका छिर्ने भनेपछि मोटो रकम तिरेरै भिजिट भिसामा जान खोज्दा धेरै युवा ठगिएका छन्,’ एसपी कोइराला भन्छन्, ‘कुनै सीप छैन, भाषाको ज्ञान छैन, तैपनि युरोप–अमेरिका जान तम्सिएर मोटो रकम खर्च गरेका छन् । जसलाई जसरी हुन्छ जानै परेको छ, त्यस्तै व्यक्ति ठगिएका छन् ।’ प्रक्रिया पुर्‍याएर वैधानिक रूपमा जाने प्रक्रिया मिलाएमात्रै ठगीबाट जोगिन सकिने उनले बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024