वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै ठगी गर्ने तीन जना बुधबार पक्राउ परेका छन्।
सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ पर्नेहरू सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी तथा इलाम सूर्योदय नगरपालिका–१४ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने ३० वर्षीय छविलाल अधिकारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकाले विनोद श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति छ लाख ५० हजार रूपैयाँ लाग्ने भनेका थिए। सर्बिया पुगेपछि कृषि फार्म काम लगाइदिने र मासिक ५० हजार रूपैयाँभन्दा धेरै तलब हुने भनी प्रलोभनमा पारेका थिए।
पीडितबाट पटकपटक गरी उनीहरूले जम्मा एक लाख ५० हजार रूपैयाँ लिएका थिए। पैसा लिएपछि सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा बुधबार उनीहरूलाई सामाखुसीबाट पक्राउ गरिएको हो ।
यसैगरी वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भन्दै रकम ठगी गर्ने कालीकोट तिलागुफा नगरपालिका–३ घर भई हाल जिल्ला काठमाडौं कीर्तिपुर नगरपालिका–५ बस्ने ५२ वर्षीय विष्णुऋषि पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनले तीर्थबहादुर थापालाई वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने र त्यसका लागि आठ लाख रूिैयाँ लाग्ने भनेका थिए। इटाली पुगेपछि पेट्रोलपम्पमा काम लगाइदिने भन्दै विश्वास दिलाएर पीडितबाट पटकपटक गरी जम्मा चार लाख २५ हजार रूपैयाँ लिएका थिए।
पैसा लिएर सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको हो।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।