विदेश जाने ७६ प्रतिशत घट्दा रेमिटेन्स ११ प्रतिशतले बढ्यो

22 Dec, 2020

रुद्र खड्का

 

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहँदा रेमिटेन्स भने वृद्धि भइरहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) सम्मको विवरण अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा ७५.८ प्रतिशतले घटेको छ। 

तर यहीबीचमा रेमिटेन्स आप्रवाह ११.२ प्रतिशतले बढेको छ। कोरोना भाइरसको महामारी सुरु भएयता चैतदेखि वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दै गएको छ। तर पछिल्लो चार महिनामा विदेश जानेको संख्या सर्वाधिक घटेको हो। पछिल्लो चार महिनामा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा रेमिटेन्स ११.२ प्रतिशतले वृद्धि भई तीन खर्ब ३७ अर्ब रूपैयाँ भित्रिएको छ।  

कोरोना महामारीले समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बेला रेमिटेन्स वृद्धि भइरहँदा सरकारलाई सहज भइरहेको छ। बढेको रेमिटेन्सले अर्थतन्त्रका अन्य सूचक सकारात्मक रहन सघाएको छ। चार महिनामा ७५.८ प्रतिशतले वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। यस अवधिमा १९ हजार दुई सय ५१ नेपाली श्रम स्वीकृति लिएर विदेश गएका छन्। 

त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६७.९ प्रतिशतले घटेको छ। साउनदेखि कात्तिकसम्म २५ हजार नौ सय ३१ जना पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। 

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार रेमिटेन्स वृद्धि हुनुका मुख्य कारणमा महामारीको बेला विदेशमा रहेका नेपालीले अतिरिक्त काम गर्नु, यतिखेर विदेशी विनियम दर राम्रो हुनु तथा हुन्डीको कारोबार शून्यमा झर्नु हुन्। ‘विगतमा राष्ट्र बैंक लगायतका निकायले गरेका कैयन अध्ययनमा अनौपचारिक ढंगबाट रकम आउने गरेको पाइएको थियो,’ उनले भने, ‘तर यतिखेर यस्तो कारोबार शून्यमा नै झरिसकेको छ।’

त्यस्तै राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा कोरोना महामारीयता नेपाली विदेश जान नपाएपनि अझै गन्तव्य मुलुकमा ठूलो संख्यामा रहेकाले रेमिटेन्समा गिरावट नआएको बताउँछन्। ‘यही बेला विदेशमा रहेका नेपालीले एकातिर थप मेहनतका साथ काम गरे भने अर्कोतर्फ कमाएको रकम पनि खर्च गर्न पाएनन्,’ उनले भने, ‘त्यसैले रेमिटेन्स आप्रवाहमा वृद्धि भइरहेको हो।

विगतमा पनि आपतविपद्को अवस्थामा रेमिटेन्स वृद्धि हुने गरेको उदाहरण रहेको उल्लेख गर्दै थापाले कोरोनापछि हुन्डी कारोबार पनि रोकिएको बताए। कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीमा रहेका ठूलो संख्याका नेपाली घर फर्कने अनुमान गरिए पनि अहिलेसम्म करिब साढे एक लाख मात्र फर्किएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब ५० लाख युवा विदेश (भारतबाहेक) गएका छन्। तीमध्ये २५–३० लाख गन्तव्य मुलुकमै रहेको अनुमान छ। विभागले विदेश जानेको रेकर्ड राख्ने तर फर्कनेको नराख्दा विदेशमा रहेका नेपालीको संख्या अनुमान मात्र गर्ने गरिन्छ। 

आयात १० प्रतिशतले घट्यो

राष्ट्र बैंकका अनुसार चार महिनाको अवधिमा आयात १०.६० प्रतिशतले घटेको छ। यसबीचमा निर्यात भने १०.८ प्रतिशतले बढेको छ। त्यस्तै समीक्षा अवधिमा धनान्तर स्थिति एक खर्ब १० अर्ब ६५ करोड रूपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २७ अर्ब २९ करोड रूपैयाँले बचतमा थियो।  

साथै समीक्षा अवधिमा चालु खाता २० अर्ब ४६ करोड रूपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३४ अर्ब १२ करोड रूपैयाँले बचतमा थियो। यस अवधिमा व्यापार घाटा साढे १२ प्रतिशतले घटेर तीन खर्ब १२ अर्ब २९ करोड रूपैयाँ कायम भएको छ। त्यस्तै असार मसान्तसम्म १४०१ अर्ब ८४ करोड रूपैयाँ बराबर रहेको विदेशी विनियम सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तसम्म १५०६ अर्ब ६ करोड रूपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५ प्रतिशतले बढेको छ। 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024