विदेश जाने लोभमा करोडौं फस्यो : १०१ जना ठगिएको फेला, एक जना पक्राउ

8 May, 2023

काठमाडौं : अमेरिकालगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ। पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीको सम्पर्कमा आएका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला लगायतको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै यसरी ठगी गरेका भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

ती ठगी गर्ने समूहले मासिक चार लाख बढी तलब हुने भनी विश्वास दिलाई प्रतिव्यक्ति रु ३० लाख खर्च लाग्ने र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने लोभ देखाएर ठगी गरेका भेटिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

गिरोहले पीडितहरुबाट पटकपटक गरी जम्मा रु तीन करोड ५६ लाख आठ हजार लिएर फरार भएका भएकामा वैदेशिक रोजगार विभागको अनुरोधमा यसरी फरार भएकामध्य भक्तपुरका सीताराम बास्तोलालाई आज पक्राउ गरिएको रेग्मीले बताए। उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ। -रासस

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024