विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ४१ वटा संस्थाहरु कारबाहीमा

26 Jan, 2024

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अधिकार पाएका ४१ वटा स्वास्थ्य संस्थाहरुलाई कारबाही गरेको छ । यी संस्थाहरुले मलेसिया र साउदीबाहेक देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए ।

श्रम मन्त्रालयले कामदारको स्वास्थ्य परीक्षण गर्न अपनाउनुपर्ने मापदण्ड पूरा नगरेको अनुगमनमा भेटिएको भन्दै ती संस्थाहरुलाई कारबाही गरेको हो । श्रमले ती स्वास्थ्य संस्थाहरुको कारोबारलाई अर्को व्यवस्था नभएसम्म वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (डोफे अनलाइन)बाट हटाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । अब ती स्वास्थ्य संस्थाहरुले कामदारको स्वास्थ्य परीक्षण गरे पनि विभागले बैधता दिने छैन ।

वैदेशिक रोजगार ऐनअनुसार सूचीकृत स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य रिपोर्टलाई अनलाइनमार्फत विभागको सूचना प्रणालीमा पठाएपपछि मात्रै श्रमस्वीकृति दिने व्यवस्था छ । श्रम मन्त्रालयका अनुसार कारबाही भएका स्वास्थ्य परीक्षण संस्थाहरुमा झापाका मंगलदीप मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टर र ओम मेडिकल डाइग्नोष्टिक रहेका छन् । काठमाडौंका अरुण मेडिकल सेन्टर, बुद्ध इन्टरनेशनल मेडिकल सेन्टर, ईवन मेडिकल सेन्टर, वल्ड वाईड मेडिकल सेन्टर, हिमाल इन्टरनेशनल मेडिकल सेन्टर, युनिकन मेडिकल सेन्टर, युनिकन हेल्थ कियर सेन्टर, ओष्कार मेडिकल सेन्टर, ट्यालेन्ट मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टर रहेको छ ।

त्यस्तै काठमाडौंमै खोलिएको सान हेल्थ केयर सेन्टर, सुनगाभा पोलिक्लिनीक, एसियन प्लस मेडिकल सेन्टर, भानु मेमोरियल पोलिक्लिनीक एण्ड डाइग्नोष्टिक सेन्टर, जलविनायक मेडिकल सेन्टर, फ्रेण्डसीप हेल्थकियर सेन्टर, युनाइटेट डाइग्नोष्टिक सेन्टर, श्रीकुन्ता पोलिक्लिनीक एण्ड हेल्थकियर सेन्टर, पिके डाइग्नोष्टिक सेन्टर, अकवर मेडिकल, पुजा मेडिकल डाइग्नोष्टिक सेन्टर, फ्युजन स्वास्थ्य क्लिनीक, सिटीटप मेडिकल सेन्टर, मेरापिक मेडिकल सेन्टर, आर्शिवाद स्वास्थ्य सेवा क्लिनीक, सिद्धकाली मेडिकल सेन्टर, छाब्दी बाराही मेडिकल सेन्टरलाई कारवाही गरेको हो ।

त्यस्तै श्रम मन्त्रालयले ललितपुरस्थित प्याराडाइज इन्टरनेसल मेडिकल सेन्टर (ललितपुर), धनुषाको जीवनदीप मेडिकल एण्ड पोलिक्लिनीक सेन्टर, रिलिफ मेडिकेयर सेन्टर र माँ जानकी इन्टरनेशनल मेडिकल सेन्टरलाई कारबाही गरेको हो ।

त्यस्तै, सुनसरीस्थित पाथीभरा मेडिकल सेन्टर, बुद्ध साई डाइग्नोष्टिक सेन्टर, समाज कल्याण पोलिक्लिनीक एण्ड डाइग्नोष्टिक सेन्टर, सनसाइन मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टर, आविदा इन्टरनेसल मेडिकल सेन्टर, र कान्तिपुर डाइग्नोष्टिक एण्ड मेडिकल सेन्टरलाई कारबाही गरेको हो ।

त्यस्तै पोखराको सनसाइन हेल्थ केयर सेन्टर, बाँकेको नेपालगञ्ज पोलिक्लिनीक एण्ड डाइग्नोष्टिक सेन्टर र एभरेष्ट इन्टरनेसनल पोलिक्लिनीक एण्ड डाइग्नोष्टिक सेन्टरलाई पनि कारबाही गरेको हो । यी स्वास्थ्य संस्थाहरुले मलेसिया र साउदी अरब बाहेकका गन्तव्य देशमा जाने कामदारलाई स्वास्थ्य परीक्षण गर्दै आएका थिए । श्रम मन्त्रालयले हरेक वर्ष वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य परीक्षणको अनुगमन गर्दै आइरहेको छ ।

नेपालमा मेडिकल फिट भई श्रम स्वीकृति लिई गएका कामदारको गन्तव्य देशमा पुगेपछि पनि स्वास्थ्य परीक्षण हुन्छ । गन्तव्य देशमा स्वास्थ्य परीक्षण फेल भई फर्कनु परेमा लागत खर्च ब्यहार्ने जिम्मेवारी स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुको भएको वैदेशिक रोजगार ऐनमा उल्लेख छ । तर, सरकारले खाडी देशमा कामदारको लागत शुल्क १० हजारमात्रै तोकेको हुनाले स्वास्थ्य परीक्षणबाट कामदारले तिर्नुपरेको वास्तविक लागत शुल्क पाउनबाट वञ्चित हुँदै आएका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024