‘विदेश जाँदै मधेस’

5 Feb, 2024

जनकपुरधाम जारी जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा ‘विदेश जाँदै मधेस’ विषयमाथि विमर्श गरिएको छ।

बिहीवारदेखि सुरु भएको महोत्सवको चौथो दिन आइतवार भएको विमर्श गर्दै वक्ताहरूले मधेसजस्तो उर्वर तथा समथर भूमिमा रोजगारीका अवसर सृजना गर्न नसक्दा युवाहरू दिन प्रतिदिन विदेश पलायन हुन थालेकोमा गम्भीर चिन्ता व्यक्त गरे।

कार्यक्रममा राजनीतिज्ञ बृखेशचन्द्र लालले भोको पटले देश विकासमा योगदान गर्न नसक्ने भन्दै त्यसैकारण आम युवाहरू सस्तोमा श्रम बेच्न विदेश पलायन हुन बाध्य भएको बताए। देश बनाउने बेला युवा जनशक्ति विदेशीनुलाई नयाँ संस्करणको पराधिनताको संज्ञा दिँदै उनले त्यसरी विदेशीने युवामध्ये २८ दशमलव ६८ प्रतिशत युवा मधेशको हुनुले भयावह स्थितिलाई देखाइरहेको टिप्पणी गरे।

यसैगरी, डा सूर्यनाथ मिश्रले देशमा रहेका सम्भावनाका क्षेत्रमा राज्यको योजनाबद्ध लगानी नहुँदा रोजगारी सिर्जना हुननसकेको र त्यसको मारमा सबैभन्दा बढी आर्थिकरूपमा विपन्न वर्ग परेको बताए। उनले सस्तो श्रमका लागि विदेशीने बहुसङ्ख्यक विपन्न जनतालाई लक्षित गरी राज्यले समयमै रोजगारीको अवसर सिर्जनामा लाग्नुपर्नेमा जोड दिए।

त्यसैगरी २७ वर्ष कतारमा काम गरेर फर्किएका मोहरम नद्दाफ नेपालको राजनीतिक नेतृत्वमा देश बनाउने सोच र योजना नहुँदा युवाहरू विदेश जान बाध्य भएको बताए। उनले तालिम र सीपको अभावमा विदेश जाने युवाहरूले जोखिमपूर्ण अवस्थामा काम गरिरहेका विषयमा बारम्बार कुरा उठ्दा पनि राज्यले लगानी गर्न नसक्नु झनै दुःखद भएको उल्लेख गरे।

कार्यक्रमका वक्ताहरू डा.सोहन साह, कौशल्य कुसवाहा, संजोग देव, देवेन्द्र भट्टराई, परमेश मण्डलले देशको अर्थतन्त्रको ठूलो हिस्सा विप्रेषणबाट चलिरहेका पनि त्यसबाट वैदेशिक रोजगारमा गएका परिवारले लाभ पाउने गरी योजना बनाउन जरुरी रहेको धारणा राखे। रासस

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024