विदेश गएको ४६ दिनमै मृत्यु

9 Jul, 2012

घनश्याम गौतम

ट्राफिक नियमबारे ज्ञान नहुँदा रोजगारका लागि विदेश पुगेका यहाँका एक युवाको गएको ४६ दिनमै दुर्घटनामा परेर मृत्यु भएको छ ।

थानपति २ थोर्गाका ३१ वर्षीय निलु विकको दुवईमा सडक पार गर्ने क्रममा सवारीको ठक्कर लागेर मृत्यु भएको हो । अत्यन्तै विपन्न परिवारका विक १ लाख ५० हजार रुपैयाँ ऋण गरेर आफन्तमार्फत वैशाख ८ गते दुवई पुगेका थिए ।

श्रीमती कविताका अनुसार दुवईमा पानीको पाइप तान्ने काम सुरु गरेका विक काम सकेर डेरा र्फकने क्रममा बाटो काट्दा जेठ २४ गते दुर्घटनामा परेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । विकको शव आफन्त र त्यहाँका नेपालीको सहयोगमा असार १ गते नेपाल ल्याइएको कविताले बताइन् ।

भएको जग्गामा खेती गरेर एक महिना पनि खान नपुग्ने अवस्थाका विकको मृत्यु भएपछि परिवार बिचल्लीमा परेको छ । घरमा श्रीमती, ३ वर्षीया छोरी आयुष्मासहित ६ जनाको परिवार छ । ‘सबै उहाँकै भरोसामा हो,’ कविताले भनिन्, ‘ऋण खोजेर कमाउन जानुभएको थियो, तिर्ने पैसा आउने बेलामा लास आइपुग्यो ।’

सामान्य लेखपढमात्र गर्ने विक भारतमा चौकीदारीको काम गर्दागर्दै कमाइ भएन भन्दै दुवई पुगेको कविताले बताइन् । ‘आफन्तले नै भिसा पठाएर लैजान थालेपछि राम्रो काम होला, कुनै अप्ठ्यारो नपर्ला भनेर केही सोचेनौं,’ कविताले भनिन्, ‘अहिले कागजपत्र भए पनि कहाँबाट क्षतिपूर्ति पाइन्छ र कसरी पाइन्छ भन्नेसम्म जानकारी नभएकाले समस्या परेको छ ।’ अहिलेसम्म कतैबाट पनि क्षतिपूर्तिका लागि पहल नगरेको उनले बताइन् ।

पूर्वसांसद एवं स्थानीय कमलराज श्रेष्ठले विदेश गएको दुई महिना नपुग्दै भएको मृत्युले परिवार ठूलो आर्थिक समस्यामा परेको बताए । ‘सधैँ ज्याला मजदुरीमा गुजारा गर्ने परिवार हो,’ श्रेष्ठले भने, ‘कतैबाट क्षतिपूर्ति आउँछ भने जुटाइदिन सहयोग गर्नुपर्‍यो ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024