विदेशी विद्यार्थी आकर्षित गर्ने शिक्षा प्रणाली लागू गर्नैपर्छ : प्रधानमन्त्री

21 Nov, 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक रहेको बताएका छन्।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिले आयोजना गरेको ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी– २०२३’को उद्घाटन गर्दै उनले शैक्षिक गुणस्तर अभिवृद्धिका लािग सरकारले विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गरेको बताएका हुन्।

युवा विद्यार्थीको विदेश पलायन शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा डरलाग्दो स्थिति रहेको उल्लेख गर्दै उनले विद्यार्थी देशबाहिर पढ्न जाने, देशका विद्यालय तथा विश्वविद्यालय खाली हुने अवस्थालाई छिट्टै सम्बोधन गरी युवा विद्यार्थी पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती भएको बताए।

‘विद्यार्थी पलायनबाट देशको युवा जनशक्ति मात्र बाहिरिरहेको छैन, देशको ढुकुटी पनि उनीहरूसँगै बाहिरिँदै गएको छ,’ प्रधानमन्त्रीले भने, ‘विद्यार्थी पलायन रोक्न शिक्षानीतिलाई सकेसम्म युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन र विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने शिक्षा प्रणाली लागू गर्नैपर्छ।’

यसो हुन सकेको खण्डमा अहिलेजस्तो देशको पैसा बाहिरिने नभई विदेशी मुद्रा नेपाल भित्रिने अवस्थाको सिर्जना हुने उनको विश्वास छ।

निजी व्यावसायिक क्षेत्र सरकारको सहयोगीका रूपमा रहेको जनाउँदै उनले सरकारको नीति, नियम र संविधान तथा कानुनको दायरामा रही निजी व्यवसाय गर्ने व्यवसायीलाई आर्थिक विकासको हिस्सेदार पक्ष मानेर अघि बढ्न सरकार तयार रहेको बताए।

कोभिड महामारी, विश्वव्यापी ध्रुवीकरण र द्वन्द्व, आफ्नै संरचनागत प्रणाली, क्षमता र कार्यसम्पादनलगायत कारणबाट राष्ट्रिय अर्थतन्त्रले दबाबको महसुस गरिरहेको उल्लेख गर्दै उनले अर्थतन्त्रको दबाबलाई अन्त्य गर्न गम्भीर गृहकार्य थालिएको जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024