विदेशिने युवाको कथा ‘तीन ट्रान्जिट’

5 Apr, 2022

सुकृत नेपाल 

काठमाडौँ, चैत २२ गते । युवाहरू किन विदेशिन्छन् । नेपालमा युवाले काम पाउँदैनन् । सबैलाई किन विदेश जाने भूत चढेको छ । आफ्नै देशमा बसेर केही गरुँ न भन्ने ज्ञान युवामा कहिले आउने ? नाटक ‘तीन ट्रान्जिट’ यिनै कुराबीच घुमेको छ । नेपालको राजनीतिक विकासमा युवाको धेरै नै आवश्यकता रहेको नाटकले दर्शाउँछ । 

हरेक साना ठूला राजनीतिक परिवर्तनका लागि युवा चाहिन्छ तर यसरी युवा नै विदेशिएपछि देशको राजनीतिक र आर्थिक अवस्था कस्तो हुन्छ ? यी प्रश्नको जवाफ नाटकले बताउँछ । लामो समयदेखिको राजनीतिक र लोकतान्त्रिक व्यवस्था सुदृढीकरणका निम्ति युवाले गरेको सङ्घर्षको पृष्ठभूमिमा उनीहरूले खेप्नु परेको नियतिका साथसाथै विगतका अनेकन सिकाइका पाटालाई फर्केर हेर्दा ‘आगामी राजनीतिक नेतृत्व छनोट कस्तो हुनुपर्छ ? भन्ने विचार र प्रश्नहरूको जवाफ पनि नाटकमा देखाइएको छ । 

युवाका केही अपेक्षा, आत्म घोत्ल्याइँ, केही दुःखेसो, केही आशा र केही जागृतिका स्वरहरूको कलात्मक संयोजनको पाटो हो ‘तीन ट्रान्जिट’ । अबुधाबी, न्युयोर्क र काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलका तीन ट्रान्जिटमा नाटकका दृश्यहरू घुमेका छन् ।

ट्रान्जिटमा आउने र जानेहरूका बीच हुने बहस नै यो नाटकको सेरोफेरो हो । विगतका राजनीतिक उपलब्धिलाई जोगाउन तथा विद्यमान समस्याको निराकरण गर्न चुनावमय हुँदै गएको राजनीतिक परिदृश्यमा युवाको उपस्थिति र सिर्जनात्मक जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने जवाफको खोजी नै नाटक ‘तीन ट्रान्जिट’ को सार हो । 

नाटकले मुख्य विषयवस्तु उठाउन खोजेको भनेको किन वैदेशिक रोजगारमा किन युवा आकर्षित भइरहेका छन् भन्ने हो । नाटकमा पत्रकारका भूमिकामा देखिएका रङ्गकर्मी राजन खतिवडाले नाटकको सुरुवातमा नै युवाका बारेमा धेरै कुरा प्रस्ट्याउँछन् । उनले युवा विदेशिनेको मुख्य कारण के हो भन्ने नाटकबाट इङ्गित गर्छन् । यस्तै नेताको भूमिकामा देखिएका कलाकार बुद्धि तामाङ आफूलाई जिताए देशलाई विदेश जस्तै बनाउँछु भन्दै छोटो भूमिकामा प्रस्तुत भएका छन् । यस्तै अर्का कलाकार विजय बरालको छोटै भूमिका भए पनि उनको अभिनयले नाटकमा धेरै कुरा खुलाउन खोजेको छ । नाटकका अन्य कलाकारको अभिनय मध्यम छ । थिएटर ल्याबका नवौँ ब्याचका विद्यार्थीको प्रस्तुति रहेको नाटकलाई सोमनाथ खनालले निर्देशन गरेका हुन् ।

नाटकमा मोहन चाम्लिङ राई, विपिन जयसवाल, प्रशंसा शिवाकोटी, प्रविन पुरी, रवीन्द्र खत्री, भुवन लुहार, न्याथन रायक, दिग्गज खत्री, स्मृति श्रेष्ठ, रेखा लिम्बू, युगल लिम्बू, रेश्मा लिम्बू, कुशल श्रेष्ठ, श्रीशेव श्रेष्ठ, कृष्टिना बस्नेत, मिलन खड्का राजीव चौधरी, पवनबहादुर विक, सस्मिल पुनमगर र अविनाश राईको अभिनय रहेको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024