विदेशमै रोकिए १ सय ३७ नेपालीको शव

17 May, 2020

लकडाउनको कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको शव गन्तब्य मुलुकमै रोकिएको छ।

लकडाउनको कारणले ११ ओटा मुलुकबाट १ सय ३७ जनाको शव स्वदेश ल्याउन नसकिएको बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए।

विदेशमा ज्यान गुमाएका ७ जनाको भने गन्तब्य मुलुकमै अन्त्यष्टी गरिएको छ। 

‘लकडाउन कहिले खुल्ला भन्न सक्ने स्थिती छैन। त्यसैले मृतकको गन्तब्य मुलुकमै दाहसंस्कार गर्न परिवासगँ अनुमति मागिरहेका छौँ’, उनले भने, ‘यी ७ बाहेक अरु १२ ओटा परिवारले पनि अनुमति दिनुभएको छ।’

गन्तब्य मुलुकमै अन्त्यष्टी गर्न अनुमति दिने परिवारलाई बोर्डले थप ५० हजार राहत दिने श्रेष्ठले जानकारी दिए।

‘आफ्नो परिवारको सदस्यको शव हेर्न नपाउने भएकोले अनुमति दिने परिवारलाई राहत स्वरुप ५० हजार दिन लागेका हौं, लकडाउन खुलेपछि नेपाल ल्याइने शवको हकमा भने यो लागू हुने छैन,’उनले भने।

शवलाई प्लेन चाटर्ड गरेर ल्याउ सक्ने सम्भावना नभएको उनी बताउँछन्। 

‘हामीले एउटा देशबाट मात्र ल्याएर हुँदैन। केही देशले प्लेन लैजान सहमती दिएन भने पिडित परिवारले त हामीलाई नै प्रश्न गर्छ,’ उनले भने, ‘त्यसैले परिवारसगँ २ ओटा विकल्प छ। कि गन्तब्य मुलुकमै अन्त्यष्टी गर्नु पर्यो कि पर्खनुपर्यो।’

बोर्डकाअनुसार यो अवधीमा कतारमा सर्वाधिक ३५ जनाले ज्यान गुमाएका छन्। त्यस्तै साउदी अरवमा ३३, युएईमा ३०, मलेसियामा २९, कुवेतमा ४, बहराइनमा २, कोरियामा २, सेसेल्समा १, टर्कीमा १ र ओमानमा १ जनाले ज्यान गुमाएका छन्।

ज्यान गुमाउने मध्ये ३ जनामा कोरोना देखिएको बोर्डले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024