विदेशमा हराएका श्रीमान् खोज्दै बुलवादेवी

27 Feb, 2025

मनिका झा

रौतहट (भलोहिया) : बुलवादेवी सहनी पछिल्लो चार महिनादेखि आफ्नो श्रीमान् खोज्दैछिन्। उनका श्रीमान् ४२ वर्षीय असर्फी सहनी स्वदेशमा हराएको भए भेट्ने सम्भावना बढी हुन्थ्यो तर, उनी विदेशमा हराएका छन्। रौतहटको दुर्गाभगवती नगरपालिका–२ भलोहियाका असर्फी गत वर्ष असोज महिनामा वैदेशिक रोजगारका लागि मलेसिया गएका थिए। गाउँमै माछाको व्यापार गर्दै आएका असर्फीको ६ जना बालबच्चा र परिवार पाल्न स्वदेशको आम्दानीले नपुग भएपछि उनी राम्रो कमाइ गर्ने आसमा कर्जा लिएर विदेश गए।

‘उनी पहिला पनि दुई पटक विदेश गएका थिए। सबैभन्दा पहिलोपटक मलेसिया नै गएका थिए तर, त्यहाँ राम्रो कम्पनी नभएपछि ६ महिनामै फर्किए। गाउँमै व्यापार सुरु गरे। त्यसपछि दोस्रो पटक कुबेत गए त्यहाँ जाँदा पनि दुई लाख रुपैयाँ गाउँकै साहुबाट कर्जा लिएर गएका थिए। त्यहाँ राम्रै कमाइ भयो र हामीले घर पनि बनायौं,’ श्रीमान्को खोजीमा थकित भएकी बुलवा भन्छिन्, ‘एक वर्षअगाडि गाउँकै देवर पर्ने एकजनाले मलेसिया आउ यहाँ राम्रो काम पाइन्छ भनेपछि कर्जा काटेर उनी विदेश गए तर, त्यहाँबाट न त फर्केर आएका छन् न त उनको कुनै सन्देश नै आएको छ।’

असर्फी विदेश जाने बेलामा चार लाख रुपैयाँ गाउँकै साहु नरेन्द्र पाण्डेबाट लिएर गएका थिए। कर्जा लिँदा उनले धितोमा पाँच धुर घडेरी साहुकहाँ राखेका छन्। बुलवा र उनको बालबच्चा बस्ने माटोको झोपडी सोही पाँच धुरमा छ। अहिले उनी बेपत्ता भएपछि न त साहुको कर्जा चुकाउने कुनै माध्यम बुलवासँग छ न त बालबच्चालाई पाल्ने कुनै आधार नै। ‘पछिल्लो पटक छठको खरनाको दिन उनीसँग मेरो फोनमा कुरा भएको थियो। उनले भनेका थिए यहाँ एजेन्टले हामीलाई ठग्यो न त राम्रो आम्दानी छ न त राम्रो काम नै पाएको छु तर, अहिले चार महिनादेखि उनीसँग कुनै सम्पर्क छैन। फोन पनि लाग्दैन उनका साथीहरू जो हाम्रै गाउँका छन् तिनलाई सोध्दा उनीहरू भन्छन् त्यसलाई मलेसियाको मनक्का भन्ने ठाउँको जेलमा समातेर राखेको छ तर, उनको बारेमा कसैलाई पनि ठोस केही थाहा छैन।’

बुलवा बिलौना गर्दै भन्छिन्, म अब यहाँ यत्रो बालबच्चा र परिवारलाई कसरी एक्लै पाल्नु। घरघरमा काम गरेर थोरबहुत पैसा हुन्छ त्यसबाटै गुजारा गर्नु परिरहेको छ। श्रीमान्को चिन्ताले मर्नु न बाँच्नु भएको छ। खै कसरी उनलाई खोज्ने केही थाहा छैन।

अशिक्षित बुलवालाई गाउँकै केही व्यक्तिहरूले यसबारे जिल्ला प्रशासन कार्यालय रौतहटमा गएर गुनासो गर्ने सुझाव दिए। उनले त्यो पनि गरेर हेरिन् तर, त्यहाँबाट पनि कुनै ठोस आश्वासन आएन्। ‘डेढ वर्ष मलेसिया बस्दा उनले करिब एक लाख रुपैयाँ घर पठाएका थिए त्यसबाट ५० हजार साहुकारलाई ब्याज तिरे। अरू खानपिन र रोगव्याधमै सक्यो। अब कसरी दिन बिताउने केही पत्तो छैन।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024