विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्दै गुल्मीका व्यवसायी

9 Apr, 2024

गुल्मी : पछिल्लो समय स्वदेशमा रोजगारीको राम्रो सम्भावना नहुँदा बिदेसिनेको संख्या दैनिक बढ्दो छ। तर, गुल्मीका केही युवाले परदेशबाट स्वदेश फर्किएर दुग्ध व्यवसाय सञ्चालन गरी मनग्ये आम्दानी गरिरहेका छन्।

गुल्मीका जुद्धबहादुर बस्नेतले १९ वर्ष भारतीय सेनामा बिताए। बस्नेतले सेनाको जागिरबाट अवकाश लिएर विगत केही वर्षदेखि सदरमुकाम तम्घासमा दुग्ध व्यवसाय सञ्चालन गरिरहेका छन्। जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यसहित डेरी सञ्चालन गरेका बस्नेतले व्यवसायलाई वृद्धि गरेर उद्योगमा पुर्‍याएका छन्। कुनै बेला दुग्ध डेरीबाट सञ्चालन भएको व्यवसाय यतिबेला गुल्मी डेरी उद्योग प्रालि नामक उद्योगमा परिणत भएको छ।

दुग्ध व्यवसायबाट ४० लिटर दूध बेचेका बस्नेतले उद्योगमार्फत १२ सय लिटर दूध खपत हुने गरेको उनले बताए। ‘गुल्मीलाई दूधमा आत्मनिर्भर बनाउने हेतुले दुई करोड लगानीमा सदरमुकाममा दुग्ध उद्योग सञ्चालन गरिएको छ’ उनले भने, ‘कोरनापछि देशमा देखिएको आर्थिक मन्दीका कारण चाहेको उत्पादन र बजारीकरण गर्न सकिएको छैन ।’

उद्योगमा परिवारका सदस्यबाहेक ३ जनाले उद्योगमा रोजगारी पाएका छन्। जिल्लाका सिमीचौर, खज्र्याङ, चौरासी र अर्घाखाँचीको छत्रगन्ज, दुर्गाफाँटलगायतका स्थानबाट दैनिक १ हजार २ सय लिटर दूध संकलन हुन्छ। यहाँ संकलित दूधबाट उद्योगले दूध, दही, पनिर, कुराउनी, घिउ, आइसक्रिम र छुर्पी उत्पादन गर्ने गरिन्छ। अहिले उद्योगमा घिउ मात्रै २१ क्विन्टल बिक्रीका राखिएको छ। बजारमा सस्तो र न्यून गुणस्तरीय घिउका कारण अर्गानिक गाउँको घिउलाई बजारीकरणमा समस्या देखिएको बस्नेतले गुनासो गरे।

घिउ प्रतिकेजी एक हजार तीन सयमा बिक्री हुन्छ । उद्योगमा दैनिक ५० किलो छुर्पी उत्पादन भइरहेको छ। उत्पादित छुर्पीको बजार मूल्य प्रतिकिलो ९ सय ५० मा बिक्री हुन्छ । यहाँका उत्पादन दुग्धका परिकार बुटवल, अर्घाखाँची र बागलुङका काठमाडौंंसहित स्थानीय बजारमा खपत हुने गरेको उनले बताए।

उनी जस्तै अर्को दुग्ध व्यवसायी हुन् छत्रकोटका रविलाल पन्थ। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया पुगेका पन्थले झन्डै पाँचवर्ष उतै बिताए। उनले विगत केही समयदेखि स्वदेश फर्किएर दुग्ध व्यवसायमा सुरु गरेका छन्। कोरियाबाट फर्केर गुल्मीका रविलाल पन्थले जिल्लाको रुरुक्षेत्र गाउँपालिका १ रिडीमा दुग्ध व्यवसाय सञ्चालन गरिरहेका छन्।

कोरियामा सिकेको सीप उनले रिडीमा सञ्चालित आफ्नै गौरव डेरीमा प्रयोग गरिरहेका छन्। दुग्ध व्यवसायमार्फत उनी स्वदेशमै आत्मनिर्भर बन्ने लक्ष्यमा छन्। डेरीमा दूध, दही, पनिर, केक, आइसक्रिम, कुल्फी, कप, घिउ, छुर्पी उत्पादन तथा बिक्री वितरण गरिरहेका छन्। पहिलेको तुलनमा व्यवसाय फस्टाइरहेको उनी बताउँछन्। कृषकको दूधलाई आफ्नो व्यवसायमा संकलन गरेर बिक्री गर्दा वास्तविक कृषकलाई ठूलो राहत भएको छ। उनले १५ जनाभन्दा बढीलाई व्यवसायबाट रोजगारी दिएका छन्। करिब एकसय जनाभन्दा बढी किसानहरू व्यवसायमा जोडिएर काम गरिरहेका छन्।

व्यवसायमा करिब एक करोड लगानी भएको छ। वार्षिक रूपमा करोड बढीको कारोबारसमेत हुने उनको भनाइ छ। दुग्ध व्यावसायमा रमाएका गुल्मीका युवाले समाजमा उदाहरणसमेत पेस गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024