विदेशमा समस्यामा परेका श्रमिकको तथ्याङ्क खोजिँदै

28 Mar, 2024

काठमाडौँ, चैत १४ गते । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकको यथार्थ तथ्याङ्क उपलब्ध गराउन राजदूतावासलाई पत्राचार गरेको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशमा समस्यामा परेका नेपाली श्रमिकको यथार्थ तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएसँगै बोर्डले ३१ देशमा रहेका दूतावासलाई पत्राचार गरेको हो ।

बोर्डका सूचना अधिकारी टीकाराम ढकालले भन्नुभयो, “श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको निर्देशनपछि बोर्डले नेपाली राजदूतावास रहेका ३१ देशमा पत्राचार गरेर ती देशमा समस्यामा परेका श्रमिकको अवस्था माग गरेका छौँ ।” उहाँले भन्नुभयो, “नेपालका श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा बढी समस्या छन् तर हामीले तथ्याङ्क माग गर्दा नेपाली दूतावास भएका देशसँग माग गरेका छौँ ।” केही देशबाट माग गरेको तथ्याङ्क आउन थालेको छ सबै देशबाट आएपछि एकीकृत गरेर तथ्याङ्क मन्त्रालयमा बुझाइने सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

श्रममन्त्री अर्यालले चैत ५ गते बोर्डका पदाधिकारीसँगको छलफलमा वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले कारागारमा पुगेका, कोमामा रहेका, विविध समस्यामा परेर उद्धारको अवस्थामा रहेकाको सङ्ख्या देशगत रूपमा उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।

यस्तै गन्तव्य देशमा रोकिएका श्रमिकको शवको पनि तथ्याङ्क उपलब्ध गराउन मन्त्री अर्यालले बोर्डलाई निर्देशन दिनुभएको थियो । वैदेशिक रोजगारीमा गएका आफ्ना श्रमिकको अवस्थाका बारेमा सरकार जानकार हुनुपर्ने भन्दै उहाँले श्रम गन्तव्य देशमा श्रमिक कारागारमा पर्नुको कारण र समस्या समाधानका विषयमा समेत जानकारी गराउन निर्देशन दिनुभयो ।

सबै गन्तव्य देशबाट तथ्याङ्क सङ्कलन उद्धार तथा समस्या समाधानको योजना बनाएर अगाडि बढ्ने गरी अगाडि बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विदेशी अस्पतालमा रहेका श्रमिकको स्थानीय अस्पतालसँग सहकार्य गरी नेपालमा नै उपचार गरिने व्यवस्था मिलाइने छ । विदेशमा कारागारमा रहेका श्रमिकलाई कानुनी उपचारका लागि आवश्यक सहयोग गरिने पनि मन्त्रालयले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024