विदेशमा समस्यामा परेकालाई राजदूतावासमार्फत राहत

21 May, 2020

सीता शर्मा 

काठमाडौँ, जेठ ८ गते । सरकारले कोभिड–१९ का कारण विदेशमा समस्या परेका नेपाली श्रमिकलाई दूतावासमार्फत पैसा पठाएर खानेबस्ने व्यवस्था गर्दै आएको जनाएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम दूतावासमा पठाएर कोभिड १९ का कारण समस्यामा परेका श्रमिकलाई खानेबस्ने व्यवस्था गरेको हो । बोर्डको सचिवालयका अनुसार विदेशमा कोभिड १९ ले गर्दा रोजगारी गुमेर खानबस्न समस्यामा परेका श्रमिकका लागि श्रमिकले नै कल्याणकारी कोषमा जम्मा गरेको रकममध्येबाट तत्काल राहतस्वरूप ७० लाख रुपियाँ दूतावासमा पठाइएको छ ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार कोषमा जम्मा भएको रकममध्येबाट समस्यामा परेका श्रमिकलाई खानेबस्ने व्यवस्था गर्न दूतावासमा पठाइएको छ । उहाँले भन्नुभयो, “दूतावासको माग र परराष्ट्र र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा अहिलेसम्म मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र बहराइनका दूतावासमा पैसा पठाएका छौँ । ” नेपाली श्रमिक रहेका अन्य श्रम गन्तव्य मुलुकका दूतावासबाट पनि समस्या परेका श्रमिकलाई खानबस्न व्यवस्था गर्नुपर्ने भन्दै रकमको माग गरिरहेकाले सबै प्रक्रिया पूरा गरेर बोर्डको सचिवालयबाट निर्णय भएपछि दूतावासलाई रकम पठाइने उहाँले जानकारी दिनुभयो ।

बोर्डका अनुसार दुईदेखि तीन वर्षसम्मको श्रम स्वीकृति लिएर विदेश जानेले प्रतिव्यक्ति एक हजार ५०० रुपियाँ कोषमा जम्मा गर्नुपर्छ भने तीन वर्षभन्दा माथि पाँच वर्षसम्मको श्रम स्वीकृति लिएर जानेले प्रतिव्यक्ति दुई हजार ५०० रुपियाँ कोषमा जम्मा गरेर जाने गरेका छन् । तिनै श्रमिकबाट कोषमा हालसम्म लगभग पाँच अर्ब रुपियाँ जम्मा भएको छ । 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024