विदेशमा रहेका नेपालीलाई निराश नहुन मन्त्री दाहालको आग्रह

20 Mar, 2025

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रवाश तथा विदेशमा रहेका नेपालीहरूलाई निराश नहुन आग्रह गरेका छन्।

अमेरिकाको टेक्सासमा रहेका नेपालीहरूको संस्था नेपाली समाज टेक्सासले गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई संवोधनका क्रममा मन्त्री दाहालले नेपालमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यस्तो गलत प्रचारबाट निराश नहुन आग्रह गरेका हुन्।

पछिल्लो समय पूर्वराजावादीहरूले लोकतान्त्रिक व्यवस्थालाई जिस्क्याउने दुष्प्रयास गरिरहेको भन्दै गणतन्त्र र लोकतन्त्रलेनै नेपालमा सामाजिक तथा भौतिक विकासको गति दिएको उल्लेख गरे। गणतन्त्रले नै नेपालका सबै क्षेत्र, भुगोल, वर्ग, जातजातिका नागरिकको अधिकारको प्रत्याभूत गरेको, राज्य व्यवस्थामा पहुँच स्थापित गरि रहेको, स्वास्थ्य–शिक्षा जस्ता आधारभूत क्षेत्रमा सेवा विस्तार भई रहेको र भौतिक पूर्वाधारको विकासले समेत तीव्रता पाइरहेको अवस्थामा देशमा केही भएन भनेर भ्रम छर्नु कुनै पनि नेपाली र विश्वजगतले नपत्याउने कुरा भएको उनको भनाइ थियो।

अमेरिकाको टेक्सास राज्यमा नेपालीहरूको संख्या सबैभन्दा बढी भएकाले नेपाल सरकारले कन्सुलेट कार्यालय राख्ने निर्णय गरेको र यतिबेला अमेरिका सरकार समक्ष सो निर्णय जानकारी गराइएको भन्दै मन्त्री दाहालले अमेरिकाले एग्रीमो दिने बित्तिकै कार्यालय राख्ने लगायतका काम हुने जनाए।

यस्तै गैर आवासीय नेपालीहरूलाई १० वर्षको भिसा दिने निर्णय पनि वर्तमानमा ठीकै रहेको र भविष्यमा नागरिकताको सम्वन्धमा कानुन निर्माण गर्दा उचित निर्णय गरिने उनको भनाइ थियो। कार्यक्रममा एनआरएनए टेक्सास, प्रवासी नेपाली मञ्च, नेपाली जन सम्पर्क मञ्च, पानस अमेरिका लगायतले मन्त्री दाहाल मार्फत नेपाल सरकारलाई आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए।

मन्त्री दाहाल अमेरिका भ्रमणकै क्रममा अमेरिकास्थित नेपालको राजदूतावासमा भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम समेत सहभागी भए। सो कार्यक्रममा अमेरिकामा बस्ने नेपालीहरूका समस्या, नेपाल र अमेरिकाबीचको सम्बन्ध, नेपालको लागि अमेरिकासँगका व्यापारिक सम्भावनाहरू र दूतावासका आन्तरिक समस्याहरू लगायतका बारेमा छलफल भएको थियो।

यातायात सम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका गएका मन्त्री दाहाल आज (बिहीबार) स्वदेश फर्कँदै छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024