गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्न माग गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्षहरूले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यस्तो आग्रह गरेका हुन्।
विदेशमा कामका सिलसिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्न सघाउनुपर्ने, परिवारलाई आर्थिक सहायतासहित पुनर्एकीकरण लगायतका विषयमा सरकारले पहलकदमी लिनुपर्ने माग राखेका हुन्। एनआरएनएका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएका काम, आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा सुझाव दिएकी थिइन्। संघका अर्का अध्यक्ष बद्री केसीले सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाइ सुल्झाउन आग्रह गरेका थिए। त्यसैगरी, संघका अर्का अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गरे। ‘एक पटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगोमा लैजानुपर्ने बताए।
प्रधानमन्त्री दाहालले विदेशमा रहेका लाखौं नेपालीहरूको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई हटाउने बताए।