विदेशमा मृत्यु भएका श्रमिकको परिवारलाई १० लाख

24 Oct, 2024

होम कार्की

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका आश्रित परिवारलाई दिइने राहत रकम १० लाख रुपैयाँ पुर्‍याएको छ । यसअघि ७ लाख रुपैयाँ दिइँदै आएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । ‘वैदेशिक रोजगारीमा मृत्यु भएकाहरुको परिवारलाई यसअघि दिने गरिएको क्षतिपूर्ति रकम ७ लाखबाट १० लाख रुपैयाँ पुर्‍याइएको छ,’ ओलीले भने ।

बिरामी उपचार खर्च पाएर मृत्यु भएकालाई पनि सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए । यसअघि बिरामी उपचार पाइसकेपछि मृत्यु भएका श्रमिकलाई क्षतिपूर्तिबापत राहत रकम दिने व्यवस्था थिएन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मृतकका आश्रित परिवारलाई १० लाख रुपैयाँ भुक्तानी दिन वैदेशिक रोजगार नियमवालीलाई मन्त्रिपरिषद्को बैठकबाट संशोधन भइसकेको बताए । ‘परिवारलाई भरणपोषण गर्ने मुख्य ब्यक्ति नै गुमेपछि परिवारलाई ठूलो धक्का पर्छ । कतिपय परिवार त सडकमै आउने अवस्था छ । अहिले प्राप्त हुँदै आएको ७ लाख रुपैयाँ कम रहेको विषय मैले मन्त्रालय सम्हालेदेखि नै अनुभव गरेको थिएँ । त्यसपछि श्रमसचिवको संयोजकत्वमा अध्ययन टोली बनाएँ । त्यो टोलीले वैदेशिक रोजगार कल्याणकारी कोषको क्षमता हेरेर हाललाई १० लाख रुपैयाँ दिन उपयुक्त छ भनेर सिफारिस गरेको हो । त्यसको आधारमा सरकारले राहत रकम बढाउने निर्णय गरेको हो,’ श्रममन्त्री भण्डारीले कान्तिपुरलाई भने,‘यो रकम कोषको क्षमताअनुसार आगामी दिन बढ्दै जानेछ ।’

वैदेशिक रोजगार कल्याणकारी कोषले २०७३ देखि ७ लाख रुपैयाँ दिन थालिएको हो । त्यसअघि तीन लाख रुपैयाँ दिँदै आएको थियो । श्रममन्त्री भण्डारीले संशोधन गरिएको नियमावली राजपत्रमा प्रकाशित हुनेवित्तिकै कार्यान्वयनमा आउने बताए । ‘वैदेशिक रोजगार नियमावलीको दफा २८ को उपनियम २ र ५ संशोधन गरिएको छ । यो राजपत्रमा प्रकाशित गर्नका लागि कानुन मन्त्रालय पठाइएको छ । यो प्रकाशन गर्ने तयारीमा छ,’ उनले भने ।

सरकारले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई राहत रकम दिन २०६५ मा वैदेशिक रोजगार कल्याणकारी कोष खडा गरेको थियो । त्यो कोषमा श्रमिकले दुई वर्षे श्रम स्वीकृति लिनुअघि १५ सय रुपैयाँ जम्मा गर्नुपर्छ । ५ वर्षको श्रम स्वीकृतिका लागि भने २५ सय रुपैयाँ जम्मा गर्नुपर्छ ।

कोषले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा मृत्यु भएका १३ सय ४६ जना श्रमिकका आश्रित परिवारलाई ६९ करोड ९९ लाख रुपैयाँ राहत रकम दिइएको थियो ।

कोषले यो बाहेक श्रमिकको हितका लागि अन्य कल्याणकारी काम पनि गर्दै आइरहेको छ । जसमा विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गन्तव्य देशबाट पठाएको शवलाई घरसम्म पुर्‍याउन नि:शुल्क शव वाहन उपलब्ध गराउने, बिरामी तथा अंगभंग भएका श्रमिकको स्वास्थ्य उपचार खर्च दिने, श्रमिकका परिवारका सदस्यको उपचार खर्च ब्यहोर्ने, अलपत्र शव ल्याउन खर्च उपलब्ध गराउने, अलपत्र श्रमिकलाई खाना उपलब्ध गराउनुको साथै वैदेशिक रोजगारीमा जाने महिला श्रमिकको अभिमुखीकरण खर्च गराउँदै आइएको छ । बोर्डले गत वर्ष यी कल्याणकारी कार्यको लागि ९७ करोड ९७ लाख रुपैयाँ खर्च गरिएको बोर्डका प्रवक्ता टिकाराम ढकालले बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024