२१ असोज, बार्सिलोना । तनहुँमा जन्मिएर चितवनमा हुर्किएका पंचम अधिकारी उच्च शिक्षाका लागि काठमाडौं छिरे । जहाँ उनी पत्रकारितामा ज्यादा भिजे । उनले नेपालका केही छापा माध्यम र पछि नेपाल टेलिभिजनमा काम गरे ।
अधिकारीले काठमाडौं, नयाँ दिल्ली र ब्रसेल्समा भाषा, संचार र पत्रकारितासम्बन्धी अध्ययन समेत गरेका छन् । करिब दुई दशकदेखि बेल्जियममा रहेका अधिकारी ब्रसेल्समा एक ग्लोबल आईटी कम्पनीमा काम गर्छन् । दुई छोराछोरी र श्रीमतीसँग यतै बस्छन् ।
‘पथिक प्रवासन’ उपन्यासका लेखक अधिकारीको ‘प्रवासीको देश हुन्न’ दोस्रो कृति हो । यस संग्रहमा रहेका १४ कथाहरू ज्यादातर प्रवासी जीवनको बारेमा लेखिएका छन् । आख्यानकार अधिकारी अन्तरसंवाद कार्यक्रमका लागि सेप्टेम्बरको अन्तिम साता बार्सिलोना आएको बेला अनलाइनखबरकर्मी बसन्त रानाभाटले कुराकानी गरेका छन् । प्रस्तुत छ: ‘प्रवासीको देश हुन्न’ को सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश :
कतै संस्मरण जस्तो लाग्ने त कतै यथार्थ लाग्ने तपाईंले लेखेका कथाहरु मातृदेशको यादले ओतप्रोत छन् भन्दा म सही हुन्छु ?
सारमा भन्दा तपाईंले संक्षेपीकरण गरेका कुरा सही हुन् । तर मेरा कथाहरूमा मातृदेशको याद र विछोडको विरह एक पाटो मात्र हो । यी कथाहरूमा बहुसंस्कृतिवाद (मल्टिकल्चरालिज्म) एवं विश्वबन्धुत्त्ववाद (कज्मोपोलिटनिज्म) को परिष्कृत प्राणीदेखि प्रवासमा सप्तरङ्गी जीवन बाँच्नेहरूको कहानीहरू समेटिएका छन् ।
आजको पुस्ता विज्ञान र प्रविधिमा अघि छन् । विश्व समाजसँग परिचित हुन चाहन्छन् । मैले प्रवासी साहित्यको जगमा विश्व समाजलाई चिनाउने प्रयत्न गरेको छु ।
प्रवासमा सप्तरङ्गी जीवन बाँच्नेहरूको कहानीहरू समेटिएको त भन्नुभयो तर घरदेशको परिवेश छुने कथाहरु तपाईंको पुस्तकमा छन् नि ?
यस संग्रहका आधा कथाहरू घरदेशको परिवेश र अरू कथाहरू परदेशका परिवेश वरिपरि घुमेका छन् । यसैले घरदेश र परदेशमा बस्ने सबैका निम्ति यी कथाहरू सामिप्यका लाग्छन् । तैपनि, यथार्थ के हो भने घरदेशको परिवेशमा अनेक कथा लेखिएका छन् । थोरै लेखिएका परदेशका कथाहरू पनि सप्तरङ्गी जीवनको ऐना भन्दा रूवाइधुवाई ज्यादा छन् ।
‘प्रवासीको देश हुन्न’ का कथाहरूले नेपाली समाजको पछिल्लो प्रवृत्तिलाई उजागर गर्ने जमर्को गरेको छ । स्वदेशको समेत र अझ धेरै प्रवासका विसङ्गति र जटिलताहरूलाई उजागर गर्ने र कतिपय पात्रहरू मार्फत मनोवैज्ञानिक पक्षको चिरफार गरिएको छ ।
त्यसो भए तपाईले लेख्नुभएको कथाहरूमा विविधता छन् कि उस्तै किसिमका छन् ?
एकदम विविधता छ । अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदाको अवस्थितिमा लेखिएको ‘सानो सेक्रेट’ मा बच्चाको कोणबाट पस्किएको छ । न्यूयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहरमा लेखिएको आख्यान स्वदेश फर्कने एक महिला प्रोटगनिस्टको सशक्त कथा हो । एक सुधो कम्प्युटर इन्जिनियरको जीवन सादा हुन्छ र ऊ जीवनमा रंग भर्न चाहन्छ, अनि पुर्ख्यौली गाउँ फर्कन्छ हाइस्कुले आइकनखोज्दै ‘लोकल हिरो’ मा ।
राजधानीका दिग्गज नेताकी छोरी र सहरको कुख्यात गुन्डा नाइकेको प्रेम-प्रसंग छ- ‘घातक आकर्षण’ मा । ‘प्रवासीको देश हुन्न’ कथामा काठमाण्डु एयरपोर्टमा एक प्रवासीको झमेला हुन्छ–आफ्नै देशमा नेपाली पासपोर्टको अबगाल ।
अर्को तर्फ, विदेश जाने नेपालीको प्रवासी कथा होइन, नेपाल आएकी पर्यटकसँग उठबसको आख्यान हो- ‘फिरन्ते अनुराग’। प्रवासमा महिलाको यौन शोषणबारे लेखिएको ‘तिम्रो लोग्ने खै ?’ ले प्रवासी विकृतिलाई छताछुल्ल पारेको छ।
राजा महाराजाको कथा भन्ने रखौटी ‘पिकासो केटी’ अर्कै खालको विचित्र चरित्रको कथा हो । महाभूकम्पकालमा एकलकाँटे र सुधो पात्रको दुनियाँमा सांसारिक विवरण, यथार्थवाद, रहस्य, हाँस्य र हल्का कामुकताको विशिष्ट मिश्रणले बुनिएको छ- ‘इपिसेन्टर पालुङटार’ ।
ढोँगी जीवनको मनोब्लग हो- ‘इडियट’। फरक प्रकृतिको यो कथामा मानवीय जीवनमा आइरहने दैनिक संकट र मोहभंगको वर्णनका साथै आत्म-सचेतना र अस्तित्वगत मूल्यको विवेचन पाइन्छ ।
द्धितीय पुरूष अर्थात् तिमी सम्बोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’ अर्कै स्वादको छ । यसरी हेर्दा कथाहरू अनेक स्वादका र विविध प्रकृतिका छन् ।
भारतमा जन्मिएको, अमेरिकाको ग्रिनकार्ड लिएको र क्यानाडामा काम गर्ने तर नेपाली पासपोर्ट बोक्ने प्रवासीलाई आफ्नो घर फर्कंदा अध्यागमनका अधिकारीले काठमाडौंमा दिएको दुखलाई तपाईले कथामा उतार्नु भएको मैले पाए। त्यही अनुभूतिसँगै ‘फकिरको घर हुन्न, प्रवासीको देश हुन्न’ भन्नुभएको छ। अलिकति प्रष्ट पारिदिनुहोस् न ।
‘प्रवासीको देश हुन्न’ टाइटल कथामा प्रमुख रूपमा दुई किसिमका बिडम्बनाहरूलाई उजागर गर्ने प्रयास गरिएको छ। एक, पश्चिमा देशमा जाने फकिरकुमार जस्ता पात्रहरूको ‘पहिचानको संकट’ को प्रसंग ।
न ऊ नेपालको हुन्छ, न कर्मभूमिको जस्तो बन्छ, ऊ तेस्रो संस्कृतिमा बाँचेको हुन्छ ।
मेरा मित्र डा. विनय श्रेष्ठ, जो यसै कार्यक्रममा हुनुहुन्छ,दुई दशकदेखि स्विट्जरल्याण्डमा बस्नुहुन्छ र चिकित्सक विशेषज्ञ जस्तो प्रतिष्ठित रोजगारी छ।
म स्वयं दुई दशकभन्दा लामो समयदेखि बेल्जियममा बस्छु । हामी मिश्रित संस्कृतिमा बाँचीरहेका छौं । फकिरकुमार जस्तै । अर्को बिडम्बना झन् भावुक खालको हुन्छ । जसको पटाक्षेप बुढी आमैको प्रसंगसँग जोडिएको छ ।
बुढी आमैको प्रसंगसँग जोडेर तपाईंले बाकसमा फर्कनपर्नेहरू र विदेशको जेलमा सड्नेहरूका निम्ति के हो राष्ट्रिय पहिचान ? भनेर प्रश्न गर्नुभएको छ नि।
हो, यो अजीवको प्रश्न छ।
यदि देश भनेको माटो वा भूभाग हो भने विदेशमा ज्यान गुमाउनु पर्नेहरूका निम्ति एउटा बाकस (जसमा उनीहरूको लास फर्केको हुन्छ) नै भूभाग हो, र बाकसको बिल्ला नै झण्डा हो ।
‘पहिचानको संकट’ हुनेहरू र ‘बाकसमा फर्कनपर्नेहरू’ को जीवनको सार यस्तैयस्तै हुँदो रहेछ- आखिर के रैछ र जिन्दगी ? फकिरको घर हुन्न, प्रवासीको देश हुन्न ।
आखिरमा राष्ट्रियता के हो त ?
त्यही त, नेपालमा राष्ट्रवादको ठुलो नारा लाग्ने गर्छ । बाकसमा फर्कनपर्नेहरू र विदेशको जेलमा सड्नेहरूका निम्ति ! हाम्रा युवामा ब्यापक रूपमा युरोपेली सपना छन्, अमेरिकी सपना छन्, अस्ट्रेलियन सपना छन्, अनि अरबका सपना छन् ।
तर कतिपय यी सपनाहरू विदेशका चिहानघाटमा विसर्जन हुन्छन् ।कतिपय यी सपनाहरू बाकसमा चिसो लास बनेर फर्कन्छन् । कति पीडालाग्दो स्थिति छ !
तपाईंले विदेशबाट नेपाल फर्किएर स्वदेशमा संघर्ष गरेका नेपालीको कथा पनि लेख्नुभएको छ । तपाईंले कथाको पात्र ‘नेहा’ मार्फत दिन खोज्नुभएको सन्देश के हो ?
नेहाको जीवन दर्शनमा जवानीमा बिहे गर्ने, लोग्ने हुनुपर्ने र बच्चा पाउने कुरा समाजको माकुरी जालो थियो । अनि हलिउड स्टारसँगको उसको भेटलाई कथामा विनोदपूर्ण रूपमा प्रस्तुत गरिएको छ ।
तर जीवनमा धेरै थोक पाएकी नेहाको अन्तिम खुशी सोचेजस्तो हुन्न । मान्छेको जीवन भनेको एकपछि अर्को उद्देश्यका निम्ति भौंतारिरहेको हुन्छ ।
‘आफ्नो छोरी नर्सिङ पढोस् र पीआरवाला केटासँग बिहे गरोस् ।’ भन्ने समाजमा देखिदै आएको यथार्थलाई तपाईंले कथामा जोड्नुभएको छ। अर्कोतर्फ छोरीको पनि त आफ्नै सपना हुन्छ र आफ्नै सपना पूरा गर्न राजधानीमा संघर्षरत महिला पात्रलाई पनि कथामा जोड्नु भएको छ नि।
प्रस्तुतिका हिसाबले यसमा फरकपन छ । नेपालमा पीआरवाला केटाको आकर्षण र नर्सिङ पढेकी केटीको मागका बीच अनौठो सम्बन्ध छ। यो कथा यही सन्दर्भबाट उठान हुन्छ। तर यसको बैठान युवा महिलाका चुनौती र उनीहरूमाथि हुने अपराध प्रति केन्द्रित छ ।
साथै मैले महिलाका चुनौतीका सवाललाई नाराबद्ध गर्नेभन्दा खुलस्त पार्ने जमर्को गरेको छु ।
वैदेशिक रोजगारीका क्रममा प्रवासमा रहेका नेपाली महिलाहरुको कथालाई पनि समेट्नुभएको छ ।
नेपाली समाजले हेर्ने दृष्टिकोण कस्तो छ ? र कथाको सन्देश के हो ?
रोजगारीमा सबैलाई चुनौती छ, तर महिलालाई अझै बढी छ। यो नेपालमा मात्र होइन, नेपाली जगत्कै कुरा हो ।
वैदेशिक रोजगारीमा विदेश नआउ भनेर हामी कसैलाई भन्न सक्दैनौं । तर चुनौतीहरूलाई खुलस्त र छर्लङ्ग पार्न सके जोखिम कम हुन सक्छ । मेरा आख्यानमा विडम्बनाका धेरै रूपहरू प्रयोग भएका छन् ।
र, व्यक्तिहरूको निष्कपट र आत्म सचेत अनुभव अभिव्यक्त गर्ने कुरामा मेरो लेखन केन्द्रित छ । पप-संस्कृति र मिडियाको ब्यापक प्रभावले निथ्रुक्क भिजेको समाजमा समसामयिक मानवीय संवेदनाहरूलाई केलाएर कतिपय कथामा महिलाका मुद्दाहरूमा फोकस गर्ने प्रयत्न मैले गरेको छु ।
तपाईंको लेखनको अन्तर्य के हुन्छ ?
नेपालतिर चलिरहेको धारभन्दा अलिक फरक धारमा पछिल्ला प्रवृत्तिहरूलाई पछ्याएर लेख्छु कि जस्तो लाग्छ मलाई । उसो त पाठक नै न्यायाधीश हुन् । मेरो लेखनमा पात्रहरूले जीउनुको अर्थ खोजिरहेका हुन्छन् सायद ।
जुन हराएको छ, लटपटिएको छ,पहिचानको संकटमा छ वा बेअर्थी जस्तो गुमनाम छ, र ती उजागर गर्न पात्रहरू उद्दत छन् । कथाको उठानदेखि बैठानसम्म एक खालको सन्तुलन राखेर त्यसलाई काव्यिक रूपमा प्रस्तुत गर्न म सचेत हुन्छु ।