विदेशमा जेल परेका नेपालीको उद्धारका लागि सरकारको ध्यानाकर्षण

19 Apr, 2023

काठमाडौं, वैशाख ५ गते । विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्धारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र उनीहरूको सुरक्षाका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभएको हो ।

“हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूको महत्त्वपूर्ण योगदान छ । गत वर्ष नेपालले करिब रु १० खर्ब सात अर्ब रेमिट्यान्स भित्र्याएको छ । तर वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढी नेपाली अहिले विभिन्न देशका जेलमा छन्,” सांसद कार्कीले भन्नुभयो, “उनीहरूको रिहाइ, उद्धार, सुरक्षा र सहज रूपमा स्वदेश फर्किन वातावरणका निमित्त सरकारको ध्यान गम्भीर रूपले आकृष्ट गर्न चाहन्छु ।”

विदेश गएका नेपाली कामदारलाई सहज वातावरणमा काम गर्ने अवस्था सिर्जनाका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद बिजुला रायमाझीले नेपालका युवालाई बिदेसिनबाट रोक्न सरकारले बनाएको योजनाबारे प्रश्न गर्नुभएको थियो । “हाम्रा युवा नेपालमा बस्ने वातावरण कहिलेदेखि बन्छ ? विदेशबाट केही गरौँ भनेर नेपाल फर्किएका व्यक्तिले सञ्चालन गरेका व्यवसाय धराशायी भइरहँदा उनीहरूलाई नेपालमै टिक्नसक्ने अवस्था बनाउन सरकारले के योजना बनाएको छ”, उहाँले संसदमार्फत् सरकारलाई प्रश्न गर्नुभयो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024