विदेशमा अप्ठ्यारो परे दूतावासको वेबसाइटमार्फत् सोझै गुनासो राख्न सकिने

5 Apr, 2024

वैदेशिक रोजगारी वा विभिन्न कारणले विदेशमा गएका नेपालीहरू समस्या परे अब सोझै विभागको वेभसाइटबाट गुनासो दर्ता गराउन सक्ने भएका छन्।

यसअघि विदेशमा समस्या परेका नेपालीले सोझै दूतावासको वेबसाइटमार्फत् गुनासो राख्न पाउने व्यवस्था थिएन।

वैदेशिक रोजगारीमा गएका नेपालीहरू समस्या परेको अवस्थामा उनीहरूका परिवार वा आफन्तले वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्ने व्यवस्था थियो।

घुमफिर, व्यावसायिक लगायत प्रयोजनका लागि पुगेका नेपालीहरू समस्या पर्दा फोन वा इमेलमार्फत् गुनासो राख्नुपर्थ्यो।

नेपाल फिर्ता हुनुपर्ने अवस्था आएमा वा कार्य देशमा नै समस्या समाधानका लागि पहल गर्नुपर्ने भएमा दूतावासबाटै सहजीकरण हुने मिलाइएको कन्सुलर सेवा विभागका सूचना प्रविधि अधिकृत नवीनकुमार झाले जानकारी दिए।

कन्सुलर सेवा विभागले सुरू गरेको नयाँ मोड्युलको उक्त व्यवस्था परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन्।

अब विदेशमा रहेका नेपालीले दूतावासको वेबसाइटमा गएर समस्यामा परेका नेपाली नागरिकको निवेदन दर्ता लेखिएको ठाउँबाट दर्ता गराउन सकिन्छ।

निवेदन सिधै दूतावासमै पुग्ने र निवेदनको सम्बोधन के भइरहेको छ भन्ने बारे पनि त्यहिँ गएर जानकारी पाइने विभागका सूचना प्रविधि अधिकृत झाले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024