विदेशबाट श्रीमान् फर्काउने उपाय बन्यो कागती खेती

26 Jun, 2024

तनहुँ, असार ११ गते। व्यास नगरपालिका–१३ आशापानीकी सिर्जना कोइराला रेग्मीको उद्यमले विदेश पुगेका श्रीमान् राजु रेग्मी स्वदेश फर्किनुभएको छ। श्रीमानलाई स्वदेश फर्काउन सिर्जनाले कागती खेती गर्नुभएको हो। उहाँको कृषि उद्यमले श्रीमान् कोरिया पुगेका श्रीमान् भिसाको म्याद नथपी स्वदेश फर्कनुभएको हो।

मकै खेती बाँदरले खाएर सखाप पार्न थालेपछि बाँझो भएको पाखो बारीमा कागती खेती गरेर सिर्जनाले विदेशको जस्तै कमाई हुन्छ भन्ने देखाएर बिदेसिएका श्रीमानलाई स्वदेश फर्काउनुभएको हो।

सिर्जनाको योजना अनुसार राजु विदेशबाट फर्किएपछि दम्पती मिलेर बाँझो रहेको २६ रोपनी पाखो बारीमा कागती खेती सुरु भएको हो। आठ सय बिरुवा मध्ये हाल छ सय बिरुवाले उत्पादन दिन थालेको सिर्जनाले जानकारी दिनुभयो।

एक बोटबाट करिब चार हजार रुपियाँको कागती फलिरहेको उहाँले बताउनुभयो। गतवर्ष कागती बिक्री गरेर १५ लाख आम्दानी गरेको र यस वर्ष बोट हुर्कँदै गएकोले २२ लाखदेखि २४ लाख रुपियाँ आम्दानी हुने देखिएको सिर्जनाले बताउनुभयो।

दुई वर्ष सबै बिरुवा हुर्कने हुँदा मासिक तीन लाख रुपियाँ आम्दानी गरेर कोरियाको कमाई स्वदेशमै गर्ने योजना रहेको उहाँहरूको छ। रेग्मीले भन्नुभयो, ‘जुनसुकै विकसित राष्ट्रले पनि देशको अर्थतन्त्रको विकास गर्नको लागि स्वयम् आफ्नै देशमा उत्पादन गर्नुपर्छ, आयातित वस्तुलाई घटाएर निर्यातमा जोड दियो भने देशको समृद्धि हुन्छ।’ गाउँमै कोरियाको आम्दानी गर्ने योजना बनाएर नौ वर्ष काम गरेर बिचमै छोडेको रेग्मीले बताउनुभयो।

आफ्नो कृषि फमको लागि कृषि ज्ञान केन्द्र तनहुँ र व्यास नगरपालिकाले प्राविधिक सहयोग गरिरहेकोले काम गर्न सहज भएको रेग्मीले बताउनुभयो। उत्पादित कागती अधिकांश तनहुँको सदरमुकाम दमौली र गण्डकी प्रदेशको राजधानी पोखरामा बिक्री हुन्छ।

प्रतिकिलो एक सय रुपियाँमा थोकमा बिक्री गरिहरेको रेग्मीले बताउनुभयो। भारतमा प्रविधिको प्रयोग हुने, सहुलियतमा किसानले ऋण पाउने जस्ता कारणले त्यहाँका उत्पादन सस्तो पर्ने हुँदा बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने गरेको रेग्मीले बताउनुभयो।

नेपाली उत्पादनले २० प्रतिशत र भारतीय उत्पादनले ८० प्रतिशत बजार ओगटेको छ।

बाँदरले दुःख नदिने र फल्दै फुल खेल्दै गरेर १२ महिना फल दिने भएकोले कागती खेती गर्नु उपयुक्त हुने रेग्मी बताउनुहुन्छ। घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँको अध्यक्ष कल्पना गौली सिर्जना सफल कृषक बन्दै दाम सँगै नाम कमाएको बताउनुहुन्छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024