विदेशबाट फर्केर तरकारी खेतीमा

20 May, 2024

अछाम : रामारोशन गाउँपालिका–४ बाटुलासैन भेरगाउँका भरत बिष्ट दुईपटक विदेश गए। उनले ३ महिना दुबईमा घर बनाउने काम गरे। दुबईमा राम्रो कमाइ नभएपछि उनी ३ महिनामै नेपाल फर्किए। नेपाल फर्किएलगत्तै उनी फेरि मलेसिया गए। मलेसियामा भरतले एघार महिना सोफा बनाउने काम गरे। त्यता पनि सोचे अनुसारको कमाइ नभएपछि उनी घर फर्किए। उनी अब कहिल्यै विदेश नजाने निर्णयमा पुगे। गाउँ फर्किएर उनले बाँझो रहेको जमिनमा तरकारी खेती गर्ने सुर गरे। बिष्टले २०६९ सालमा तरकारी खेती सुरु गरका हुन्। सुरुको वर्ष उनले एक रोपनिमा खुर्सानी लगाए। सुकेका खुर्सानी बेचेर १८ हजार कमाए। खुर्सानीबाट त्यति कमाइ भएपछि उनले अन्य तरकारी खेती सुरु गर्न थाले। काठमाडौंं जाँदै गर्दा धादिङमा गरेको तरकारी खेती देखेर उत्साहित हुन्थे उनी। उनले भने, ‘विदेश जाने तयारीका लागि काठमाडौंं जादै गर्दा धादिङमा लगाएको तरकारी खेतीले मन लोभ्याउँथ्यो। आफ्नै गाउँमा यस्तो गर्न पाए हुन्थ्यो जस्तो लाथ्यो। गरेपछि त हुने रैछ। मेहनत गर्नुपर्छ। विदेशका पसिना बगाउनुभन्दा आफ्नै गाउँमा बगेको पसिनाको कमाइको अझै महत्व हुने रैछ। गाउँको शुद्ध माटो,सफा स्वच्छ हावापानी आहा।’

विदेश हुँदा कमाइ भएको पैसाले उनले कैलालीको लम्कीमा घडेरी किनेका थिए। यही तरकारी खेतीबाट उनले लम्कीमा एकतलाको पक्की घर बनाएका छन्। भरतका एक छोरा र २ छोरी उतै पढ्छन्। भरत अहिले वार्षिक १० लाखको कारोबार गर्छन््। उनले गाउँमा एक जनालाई रोजगारीसमेत दिएका छन्। तरकारी खेतीसँगसगै उनले भैंसी, बंगुर, कुखुरापालन गरेका छन्। उनलाई बजारको समस्या छैन। उपभोक्ता र बजारको मागअनुसार अझै उत्पादन पुर्‍याउन नसकेको उनी बताउछन्। उनले भने, ‘बजारको कुनै समस्या छैन मलाई। बारीमै बिक्री हुन्छ नभए गाउँपालिकाकै खालबजार र मुजाबगरसम्म पुग्ने गर्छु। अहिले काँक्राको माग धेरै छ। पूर्ति गर्ने गाह्रो छ। तरकारी खरिद गर्नेहरू घरमै गाडी लिएर पुग्छन्। वर्षायाममा गाडी नआउने भएपछि डोकोसमेत बोकेर खरिद गर्न आउँछन्। कुखुरा बजार पठाउनु पर्दैन यतै गाउँमै खपत हुन्छ।’

भरतले तरकारीलगायत पशुमा २५ लाखको लगानी गरेका छन्। कृषि र पशुका लागि आउने अनुदानमा निर्भर हुँदैनन् उनी। अनुदानले परनिर्भर बनाउछ भन्छन् भरत। उनले भने, ‘आफूले गरेको लगानीको जति माया अरूले दिएकाको हुँदैन। अनुदानका लागि पहल गर्छु मरिहत्ते गर्दिन। उत्पादन कम गर्ने मूल्य बढी खोज्ने कृषकहरू पनि छन्। अनुदान लिने काम गर्नेहरू पनि छन्। वास्तविक किसानहरू अनुदानको मुख ताक्दैनन्।’ उनले तरकारीमा रसायानिक मलको प्रयोग गर्देनन्। युरिया डीएपी मल हाल्नु पर्ने अवस्था छैन। भरतले आफैंं अर्गानिक मल उत्पादन गर्छन्। ‘झोल मल आफैंं बनाउछु, ‘उनले भने तरकारी खेती गरेदेखि रसायनिक मल हाल्नु परेको छैन।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024