विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्ने आठ जना युवा श्रम मन्त्रालयबाट पुरस्कृत

1 Jul, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरी रहेका आठ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको छ।

मन्त्रालयले आइतबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट उद्यमीलाई नगदसहित सम्मान गरेको हो।

वैदेशिक रोजगारीबाट फर्केका युवालाई मुलुकमै स्वरोजगार हुन र रोजगारीका अवसरहरू सृजना गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले मन्त्रालयले उनीहरूलाई सम्मान गरेको जनाएको छ।

मन्त्रालयले हरेक वर्ष वैदेशिक रोजगारीबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ।

राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि उद्यमीलाई सार्वजनिक रूपमा नै आवेदनको माग गरिएको थियो।

इमेलमार्फत् ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको र निरीक्षणबाट प्राप्त प्रतिवेदनहरूको आधारमा सातवटै प्रदेशको प्रतिनिधित्व कायम गर्ने गरी ८ जना उद्यमीलाई ‘उद्यमी राष्ट्रिय पुरस्कार’ वितरण गरिएको मन्त्रालयको भनाइ छ।

पुरस्कृत आठमध्ये झापाका चन्द्रप्रसाद बस्नेतले उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्।

उनले एक लाख ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। गुल्मीका रविलाल पन्थ, झापाका मोहन प्रसाद संग्रौला, जुम्लाका टक्क बहादुर नेपाली, कन्चनपुरका चन्द्र सिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापाले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका हुन्।

उनीहरूले प्रतिव्यक्ति ७५ हजार रूपैयाँ नगद प्राप्त गरे।

उद्यमीलाई सम्मान गर्दै श्रममन्त्री अर्यालले एक पटक वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुकभित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए।

‘एक पटक विदेश गएर सिकेका ज्ञान र सीपलाई मुलुकभित्रै प्रयोग गरी उद्यमी बनाउनका लागि आवश्यक वातावरण तयार पार्नुपर्छ। यसका लागि सहुलियत कर्जालाई सहज र व्यवस्थित बनाउनु पर्नेछ,’ उनले भने।

त्यस्तै, मन्त्री अर्यालले मिटर ब्याजमा कर्जा लिएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन्।

चर्को ब्याजमा कर्जा लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई हटाउन मन्त्रालयले तयारी गरेको समेत उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024