विदेशबाट फर्किएर साझेदारीमा बाख्रापालन

6 Aug, 2021

ठाकुरप्रसाद आचार्य

 बेनी, साउन २१ गते । वैदेशिक रोजगारीका लागि विदेश पुगेका यहाँका दुई युवा गाउँफर्किएर व्यवसायिक रुपमा बाख्रापालन थालेका छन् । पर्वतको जलजला गाउँपालिका ४ मल्लाजका रामकृष्ण पौडेल र मनोज जिसीले साझेदारीमा आधुनिक तवरले खोर निर्माण गरी व्यवसायिक बाख्रापालन सुरु गरेका हुन ।

रोजगारीका क्रममा तीनवर्ष मलेशिया बसेका पौडेल र पाँचवर्ष कोरियामा विताएका जिसी दुवैजना दुईवर्ष अगाडि गाउँफर्किने निधो गरे । विदेशमा धेरै परिश्रम गरेपनि सोचेजस्तो आम्दानी नभएपछि दुवै जना युवा गाउँ फर्किएर कृषि पेशा गर्ने योजना बुने । विदेशमा कमाएको पुँजीलाई गाउँमा लगानी गर्ने सोच उनीहरुले बनाए । गाउँमा रहेका आफन्त र साथीभाईबाट कृषि पेशामा लाग्न प्रेरणा मिलेको उनीहरुको भनाई छ ।

गाउँ फर्किएका युवा विभिन्न जिल्लाहरुमा पुगेर बाख्रापालन व्यवसायको अवलोकन गरेपछि उनीहरुमा हौसला मिल्यो । दुईवर्ष अगाडि गाउँ फर्किएका यी युवाले बाख्रापालन व्यवसाय थाल्नु अघि म्याग्दी,धादिङक,चितवन लगायतका बाख्रा फार्महरुको अवलोकन गरे ।

त्यसपछि उनीहरुले गाउँमा बाख्रापालनको राम्रो संभावना देखे । बोयर बाख्रापालन फर्ममा पुगेर तालिम लिएका उनीहरुले जन्म गाउँ मल्लाजको भवानीपानीमा आधुनिक तवरले बाख्रापालन व्यवसाय गर्न संयुक्त रुपमा आरम्भ पशुपंक्षी तथा कृषि फर्म दर्ता गरे । बाख्राका साथै कुखुरा,भैसी र तरकारी खेती गर्ने वृहत कृषि योजना उनीहरुको सपना छ ।

उनीहरुले बाख्रा पाल्नका लागि काठको आधुनिक खोर निर्माण गरेका छन् । खोर निर्माण र बाख्रा खरिद गर्न सुरुमा करिब ४० लाख लगानी भएको मनोज जिसीले बताउनुभयो । तीनरोपनी क्षेत्रफलमा फर्म र करिब ३० रोपनी जमिनमा घाँस लगाएको उनीहरुको भनाई छ । घाँस लगाउनका लागि १५ रोपनी जति जमिन वार्षिक ४० हजार तिर्ने गरी उनीहरुले भाडामा लिएका छन् ।

फर्ममा यतिखेर बोयर,खरी र जमुनापारी गरी २५ वटा माउ सहित ५० वटा बाख्रा छन् । दुईमहिना अघि दुईलाख रुपियाँमा तीनवटा बोयर बोका विक्री गरेको पौडेलले बताउनुभयो । फर्ममा बोयरका ५० वटा माउ सम्म पु¥याउने लक्ष्य रहेको पौडेलले सुनाउनुभयो ।

‘सानै देखिका साथीभाई हामी निरन्तर सम्पर्कमा थियौं । विदेशमा गर्ने दुःख र परिश्रम गाउँमै गर्न सके राम्रो आम्दानी गर्नसकिने सोचेर दुवै जना एकैसाथ गाउँफर्किएका हौंउ, रामकृष्णले भन्नुभयो, ‘साथीभाईको लहलहैमा लागेर विदेश गएपनि त्यहाँ बस्न मन लागेन, बाख्रापालन मेरो सानै देखिको रहर पनि हो । त्यसैले छिट्ै गाउँफर्के ।’

धेरै पैसा खर्च गरेर विदेश पुगेका यी युवाले सोचेजस्तो काम पाउन सकेनन् । मलेशियामा हुँदा धेरै दुःख र हण्डर खाइयौं रामकृष्णले भन्नुभया,े ‘साथीभाईको लहलहैमा लागेर विदेश पुगियो तर सोचेजस्तो आम्दानी नभएपछि गाउँ फर्किएर बाख्रापालन गर्ने सोच आयौं ।’ बाख्रापालनबाट आत्मसम्मान मिलेको उहाँको अनुभव छ । बाख्रा ब्याउँदा खुसी लाग्छ । साना साना पाठापाठी खेलाउँदा आनन्नद मिल्ने रहेछ मनोजले भन्नुभयो, ‘कोरिया हँुदा कम्पनि मालिकको हप्कीदप्की खाएँ, यहाँ त अहिले फर्मको मालिक आफै पो छु ।’ सानै भएपनि फर्मको मालिक हुनपाउँदा गर्बले छाती ठूलो हुने मनोजले बताउनुभयो ।

‘विदेश पुगेको युवा गाउँफर्किएर कृषि पेशा गर्ने भन्दा छरछिमेकीले राम्रो ठानेन्,अहिले फर्ममा आएर बधाई तथा शुभकामना दिएर फर्किन्छन् ।’ पौडेलले भन्नुभयो । आफ्नै माटोमा परिश्रम गरेर सफल कृषक बन्ने सोच भएको उहाँले सुनाउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024