विदेशको लोभ देखाएर १५ करोडभन्दा बढी ठग्ने गिरोह पक्राउ

12 Jun, 2024

विभिन्न देशमा पठाइदिन्छु भन्दै ठग्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायत देशमा पठाइदिने भन्दै तीन सय जनाभन्दा बढीलाई ठगेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो।

पक्राउ पर्नेमा चितवन भरतपुर घर भई काठमाडौंको टोखा बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्की पोखरा घर भई भरतपुर बस्ने २३ वर्षीय पवन पन्त र पोखरा बस्ने २२ वर्षीय नवीन विक छन्।

उनीहरूले ३०० जनाभन्दा बढीबाट करिब १५ करोड रकम ठगेको आरोप छ।

प्रहरीको अनुसन्धानबाट मुख्य अभियुक्त राजकुमार भट्ट देखिएका छन्। यसमा संलग्न थप व्यक्तिहरूको खोजी प्रहरीले गरिरहेको छ।

उनीहरूले विभिन्न नक्कली फेसबुक आइडी खोलेका थिए। उनीहरूले रविन आलेमगर, मनोजजंग थापा, महेश थापा लगायतको आइडी खोलेका थिए। ती आइडी प्रयोग गरी उनीहरूले विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाउने भनेर विज्ञापन हाल्ने गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

आकर्षक तलब, भत्ता हुने विज्ञापनले गर्दा धेरैले उनीहरूलाई सम्पर्क गर्ने गरेका थिए।

‘फेसबुकमार्फत् नै कुराकानी गर्ने, विश्वासमा पारेर त्यहीँबाट खातामा पैसा हाल्न लगाउने गरेको भेटियो,’ एसएसपी भट्टराईले भने, ‘पैसा जम्मा गरिएका खाताहरू जसका थिए, ती व्यक्तिहरूलाई उनीहरूले आफ्नो कार्यालयका कर्मचारी भनेर राखेको पाइएको छ।’

कर्मचारी भनेर काममा राखेका व्यक्तिहरूलाई झुक्याएर उनीहरूको बैंक खाता दुरूपयोग गरेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए।

कर्मचारी भनिएका ती व्यक्तिहरू पनि कारागारमा छन्।

मुख्य अभियुक्त राजकुमार भट्टसहितको ठग गिरोहले त्यही नक्कली फेसबुक मार्फत् कर्मचारी माग गरेर केही व्यक्तिहरूलाई काम दिएको अनुसन्धानमा खुलेको छ। सुनबहादुर बुढा, राजकुमार बस्नेत, प्रभाकर भट्टराई, हरिबहादुर कामी, शेरबहादुर तामाङ, राजेश श्रेष्ठ लगायतलाई भट्टले लेखापाल पदका लागि भनेर काम दिएका थिए।

उनीहरूको भौतिक कुनै कार्यालय नभए पनि भट्टसहितको समूहले ती व्यक्तिलाई काम दिने भनेका थिए। मासिक ३० देखि ४० हजार रुपैयाँसम्म तलब दिने आश्वासन दिइएको थियो।

उनीहरूको बैंक खाता दुरूपयोग गर्न नै कर्मचारी भनेर राखिएको अनुसन्धानबाट खुलेको छ।

वैदेशिक रोजगार विभागले केही महिनाअघि ती कर्मचारीहरूलाई पक्राउ गरेको थियो। हाल वैदेशिक रोजगार विभागको न्यायाधीकरणको फैसला बमोजिम उनीहरूसँग धरौटी माग गरिएको थियो। धरौटी बुझाउन नसकेपछि उनीहरू कारागारमै छन्।

‘भट्टले सुनबहादुर लगायतलाई कर्मचारी भनेर राखेका थिए। उनीहरूको बैंकमा रकम जम्‍मा गर्न लगाउने र त्यही रकम झिकेर भट्टलाई नगद वा चेकमार्फत् निकालेर दिने गरेको अनुसन्धानबाट देखिन्छ,’ एक प्रहरीले भने, ‘ठगी धन्दामा उनीहरूको संलग्नता खुल्दैन। उनीहरूको बैंक खातामा जम्मा भए पनि त्यसको दुरूपयोग भट्टको समूहले गरेको देखिन्छ।’

विभागले उनीहरूको खातामा रकम जम्मा भएको देखेर अभियुक्त बनाए पनि प्रहरी कार्यालयमा उनीहरू पीडितको रूपमा देखिएका छन्।

उनीहरूले आफूहरू पीडित भएको भन्‍दै जेठ १६ गते कार्यालयमा जाहेरी दिएका छन्।

‘एउटा निकायले उनीहरूलाई अभियुक्त भने पनि हाम्रो नजरमा उनीहरू पीडित हुन्। उनीहरूको बैंक खाता दुरूपयोग भएको देखिन्छ। उनीहरू आफै ठगी धन्दामा संलग्न भएको देखिँदैन,’ अनुसन्धानमा संलग्न ती प्रहरीले भने, ‘फितलो अनुसन्धानले गर्दा उनीहरू फसेको देखिन्छ।’

यता भट्ट समूहले वैदेशिक रोजगारमा पठाइदिन्छु भनेर ठगेका अरू पीडितहरूबाट पनि प्रति व्यक्ति ५ देखि १० लाख रूपैयाँसम्म लिएको प्रहरीको अनुसन्धानबाट देखिन्छ। उनीहरूले नक्‍कली भिसा, वर्क पर्मिट, होटल बुकिङ, प्रहरी रिपोर्ट लगायत कागजातहरू अनलाइनबाट पठाउने र टिकट काट्न र डलर साट्‍न भनेर थप रकम मागेर ठगेको खुलेको छ।

भट्टको गिरोहले करिब तीन–चार वर्षदेखि यस्तो धन्दा चलाउँदै आएका छन्। आफू बच्नका लागि भट्टले अरूको बैंक खाता दुरूपयोग गर्ने गरेका हुन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024