विकास पुगेका गाउँमा पनि छैनन् युवा

25 Mar, 2024

चिटिक्क परेका ढुंगेघर। फराकिलाे आँगन। गाउँको बीचैमा सुविधा सम्पन्न मोटरबाटो। गाउँकै मुनि पायक परेको धानखेत। माध्यमिक तहसम्म अध्ययन गर्न गाउँमै विद्यालय। स्वास्थ्य चौकी र घरघरमा पुगेको छ इन्टरनेट। झट्ट हेर्दा लोभलाग्दो देखिने धौलागिरि गाउँपालिकाको मुना गाउँ यी पूर्वाधारले थप सम्पन्न छ।

डेढ दशकअघिसम्म सदरमुकाम बेनी बजार आवजावत गर्न गाउँदेखि दुई/तीन दिन पैदलयात्रा गर्नुपर्थ्यो। एक गाग्री पानी लिन डेढ घण्टा लाममा बस्नुपर्थ्यो।अहिले त्यस्तो छैन। विकासका पूर्वाधार गाउँमा पुगेका छन्। तर, गाउँमा युवा छैनन्। अध्ययन, व्यापार, रोजगारी र बसाइँसराइका कारण गाउँका अधिकांश घरमा ज्येष्ठ नागरिक र महिला मात्र छन्।

‘डेढ दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पना नै गरेका थिएनौँ,’ धौलागिरि गाउँपालिका–३ मुदीका ६९ वर्षीय टेकबहादुर भण्डारीले भने, ‘हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौँ। अहिले विकास त आयो तर यो मर्ने वेलामा हरियो काँक्रो जस्तो मात्र भयो।’

गाउँमा खरले छाएका घर देख्नै मुस्किल छ। गाउँगाउँमा पक्की घर निर्माण गर्ने होड चलेको छ। अक्करे भिर फोडेर खनेका सडकमा मोटर गुडेका छन्। तर, गाउँबाट बसाइँ जाने क्रम रोकिएको छैन।

गएको दुई वर्षमा मुना गाउँका ३१ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका वडा सदस्य नरकुमारी बुढाले बताए। गाउँमा भौतिक विकाससँगै ग्रामीण जनताको जीवनशैली र चेतना परिवर्तन भएको तर, युवा नहुँदा गाउँ शून्य भएको उहाँको अनुभव छ।

यस्तो अवस्था मुना गाउँको मात्रै होइन। जिल्लाका ६ वटै स्थानीय तहमा उस्तै छ। एक लाख १४ हजार जनसंख्या रहेको म्याग्दीमा साबिकका ४१ गाउँ विकास समितिमध्ये गुर्जाबाहेक सबै ठाउँलाई मोटरबाटोले छोएको छ।

विकासका पूर्वाधारसँगै सर्वसाधारणको आयमा वृद्धि भएको र जीवनशैलीमा परिवर्तन देखिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। विशेष गरी पश्चिम म्याग्दीमा धेरै युवा पलायन भएका छन्। मालिका गाउँपालिका–१ निस्कोटबाट मात्रै एक सय ७२ जना युवाहरू अवैध बाटो भएर अमेरिका पुगेका छन्।

सहरमा झैँ गाउँमा विकास पुगे पनि गाउँमै रोजगारीको अभावले गर्दा युवाविहीन भएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024