वार्षिक ४ लाख रोजगारी

28 Dec, 2020

काठमाडौं : निजी क्षेत्रले वार्षिक चार लाख युवालाई रोजगारी दिन सकिने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दैै नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले लाखौँ युवा बेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको बताए। महासंघले भिजन पेपर तयार गर्दै गरेको अध्यक्ष शेखर गोल्छाले बताए। उनले वार्षिक चार लाख युवाका लागि रोजगारी सिर्जना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए।

अध्यक्ष गोल्छाले महासंघले विज्ञसमेतको सहयोगमा आम सरोकारवाला पक्षसँग छलफल गरी भिजन पेपर सार्वजनिक गरिने बताए। सरकारबाट स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको राष्ट्रपति समक्ष जानकारी गराए। अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम हुने प्रक्षेपण भइरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए। 

उनले महासंघले ल्याउने भिजन पेपरमा एसएमइजको पुनरुत्थानका लागि विशेष सुझाव समेटिने जानकारी गराए। 

भेटवार्तामा महासंघका पदाधिकारीले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, ऊर्जालगायतका क्षेत्रसँग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोतसाधनको समुचित विकासमार्फत आर्थिक विकास, रोजगारी सिर्जनामा सरकारको ध्यान जानुपर्ने, बताएका छन्।

राष्ट्रपति भण्डारीले महासंघको वर्तमान युवा नेतृत्वलाई उद्योग व्यवसायको विकासमार्फत रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिइन्। ‘हामीसँग पर्याप्त सम्भाव्यता भएर पनि हामीपछि परेका छौं, प्राकृतिक स्रोत साधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरूकै भर पर्नुपर्ने परिस्थिति छ राष्ट्रपतिले भनिन्, रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ यसमा तपाईंहरू गम्भीर भएर लाग्नुहोस्।’ 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024