वर्षभरिमा ७२ हजार नेपाली युवाले मात्रै पाए विदेशमा नयाँ काम

30 Jul, 2021

५ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा ठूलो गिरावट आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या ७२ हजार ८१ मा खुम्चिएको हो । यो अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा करिब २ं६४ प्रतिशत अर्थात् झण्डै तीन भागले कम हो ।

सो आर्थिक वर्षमा विदेशिने युवाको संख्या एक लाख ९० हजार ४५३  थियो । यसमा श्रम इजाजत नवीकरण गरेर जाने श्रमिक गणना गरिएको छैन ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा ६४ हजार ९०३ जना पुरुष र ७ हजार १७८ जना महिला नयाँ श्रम स्वीकृति लिएर विदेश जान पाएका थिए । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरै श्रमिक साउदी र कतारमा गए । साउदीमा २३ हजार ३२४ र कतारमा २२ हजार १३१ जना मात्र श्रमिक जान पाए । 

यूएईमा ११ हजार ६११ श्रमिक जाँदा बहराइनमा ३ हजार १४६ जना श्रमिकले जाने अवसर पाए । ओमानमा १ हजार ५५६ र अफगानिस्तानमा १ हजार ७३ जना श्रमिकले काम पाए ।

महामारीले श्रम गन्तब्य मुलुकहरु पनि आक्रान्त भएकाले माग घट्न पुगेको वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजितकुमार श्रेष्ठ बताउँछन् । उनले ठूलो युवा समूह विदेश जान चाहेपनि भनेजस्तो अवसर नपाएपछि त्यतिकै बस्न बाध्य भएका बताए ।

३ वर्षअघिसम्म सबैभन्दा बढी श्रमिक जाने मलेसियामा वर्ष भरिमा १०७ जना मात्रै श्रमिकले काम गर्न जाने अवसर पाए । कुवेतमा वर्षभरिमा २ जना र इजरायलमा १ जना मात्रै श्रमिक जान पाए । यही तथ्यांकले नै वैदेशिक रोजगारीमा देखा परेको संकटलाई स्पष्ट गर्छ । 

‘विदेशबाट मागअनुसार श्रमिक पठाउन पनि महामारी नियन्त्रणका लागि बनाइएका स्वास्थ्य प्रोटोकल पीसीआर, क्वारेन्टिन, खोप नीतिसहित हवाई भाडा बाधक बनिरहेको छ,’ उनी भन्छन्, ‘सरकारले विदेश जान श्रमिकले खोप पाउने अवस्था बनेपछि महंगो हवाई भाडाले अहिले पनि श्रमिकलाई विदेश जान निरुत्सहित गरिरहेको छ ।’

ठूलो समूह बिलखबन्दमा

श्रमिकको चाप अनुसार विदेशबाट माग नआएपछि ठूलो युवा समूह नेपालमै बेरोजगार भएर बसेको वैदेशिक रोजगार मामिलाका जानकार मधुविलास पण्डित बताउँछन् ।

‘युवाहरु यहाँ काम नपाएर छटपटाएका छन् तर अवसर छैन, विदेश जान पनि उनीहरुले म्यानपावरमा पुग्दा डिमान्ड नभएको जवाफ पाइरहेका छन्,’ उनी भन्छन्, ‘यसको असर अहिलेलाई तत्काल नदेखिए पनि दीर्घकालीन रुपमा रेमिट्यान्सदेखि देशको अर्थ तथा सामाजिक व्यवस्थासम्म पर्छ ।’

ठूलो युवा समूह विदेश जान हतारिए पनि परिस्थिति अनुकूल नहुँदा उनीहरुमा नैराश्यता छाउने अवस्था रहेको उनले बताए । आर्थिक वर्ष ०७०/७१मा नयाँ श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ५ लाख १२ हजारसम्म पुगेको थियो । त्यसपछि भने संख्या खुम्चिँदै गएर श्रमिक १ लाखभन्दा तल आइपुगेको छ । 

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ मा ५ लाख १२ हजार, २०७२/७३मा ४ लाख १८ हजार, ०७३/७४मा ३ लाख ९८ हजार, ०७४/७५मा ३ लाख ५४ हजार र २०७५/७६मा २ लाख ३६ हजार श्रमिक विदेश गएका थिए । २०७६/७७ मा १ लाख ९० हजारमा झरेको विदेशिने श्रमिकको संख्या गत वर्ष ७२ हजारमा सीमित भएको हो ।

यसलाई सरकारले गम्भीर रुपले लिनुपर्ने पण्डित बताउँछन् । ‘एकै वर्षमा नयाँ श्रम स्वीकृति लिएर ५ लाख २७ हजार श्रमिक गएका थिए, रोजगारीको अवसर प्राप्त गर्ने मामिला महामारीले थप बिथोलेको अवस्थामा विदेश जान चाहँदा पनि नपाउने श्रमिकको संख्या उच्च  छ,’ उनी भन्छन्, ‘अब सरकारले उनीहरुलाई देशभित्र अवसर सिर्जना गर्ने कुरालाई सबैभन्दा बढी प्राथमिकतामा राख्नुपर्छ ।’

गत आर्थिक वर्षमा श्रम इजाजत नवीकरण गरेर जाने श्रमिकको संख्या जोड्दा वर्षभरिमा १ लाख ६६ हजार ६९८ जना मात्रै श्रमिक विदेशिएका थिए । त्यसमध्ये ८० हजार जना अदक्ष कामदार थिए । ७० हजार सामान्य सिप जानेका र १५ हजार ५ सय जना सिपयुक्त जनशक्ति थिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024