काठमाडौँ — श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरणसभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको भन्दै यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक रहेको बताएका हुन् ।
सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी,सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने मन्त्री अर्यालले बताए । बाध्यतात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद् तस्बिरमा बदल्न प्रयास गर्ने उनले बताए ।
मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको बताए । सीपबिना वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने उनको भनाइ छ ।
‘विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएपनि यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक छ । सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी,सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्दै बाध्यतात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद तस्बिरमा बदल्न प्रयास गर्ने विषयमा मेरो कार्यकाल समर्पित हुने विश्वास दिलाउँछु, उनले भने ।